देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दैलेखमा भेटियो ग्यास, नेपालका लागि सुनौलो अवसर

देशान्तर

काठमाडौं । दैलेख जिल्लाको भैरवी गाउँपालिका–१, जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यासको भण्डार रहेको पत्ता लागेको छ । खानी तथा भूगर्भ विभागका अनुसार, चाइना जिओलोजिकल सर्भे र चीनको सीएनपीसी सिबु इन्जिनियरिङ कम्पनीले गरेको भौगर्भिक अध्ययन र ड्रिलिङबाट यो तथ्य पुष्टि भएको हो । प्रारम्भिक प्रतिवेदनले ठूलो परिणाममा मिथेन ग्यासको सम्भावना देखाएको छ, र अन्तिम प्रतिवेदन २०८२ पुससम्म (डिसेम्बर २०२५) प्राप्त हुने अपेक्षा छ । यदि यो खोजले सार्थकता पाउने हो भने नेपालको ऊर्जा क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने सम्भावना छ ।

चिनियाँ विज्ञ टोलीको अध्ययनअनुसार, दैलेखको जलजलेमा रहेको मिथेन ग्यासले नेपालको ऊर्जा आवश्यकता ५० वर्षसम्म धान्न सक्छ । यो ग्यासको व्यावसायिक उत्पादनले नेपाललाई ऊर्जामा आत्मनिर्भर बनाउनुका साथै आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउन सक्ने अपेक्षा गरिएको छ । उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहका अनुसार, ग्यास उत्पादनले विदेशी मुद्रा वचत, राजस्व वृद्धि, र स्थानीय रोजगारी सिर्जना गर्नेछ भने, विदेशी लगानी र प्रविधि हस्तान्तरणको अवसर पनि प्राप्त हुनेछ ।

मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक कमल लम्साल दैलेखको ग्यास उत्पादनले नेपाललाई भारत र चीनसँग रणनीतिक भूराजनीतिक लाभ लिन सक्ने अवसर प्रदान गर्ने बताउँछन् ।

दैलेखमा पेट्रोलियम पदार्थको उत्खननका लागि नेपाल र चीनबीच ०७२ चैतमा द्विपक्षीय समझदारी भएको थियो । त्यसपछि ०७६ असोजदेखि खानी तथा भूगर्भ विभाग र चिनियाँ प्राविधिक टोलीले प्रारम्भिक अध्ययन थाले । ०७६ फागुनमा चाइना जिओलोजिकल सर्भेसँग २ अर्ब ४० करोड रुपैयाँको सम्झौतामा हस्ताक्षर भएको थियो । तर, कोरोना महामारी, सडक समस्या, उपकरण ढुवानीमा ढिलाइ र जग्गा अधिग्रहणको विवादले अन्वेषणमा बाधा पुगेको विभागका सूचना अधिकारी मुकुन्द भट्टराईले बताए ।

०८० वैशाख २८ देखि ०८१ पुससम्म दोस्रो चरणको ड्रिलिङ कार्य सम्पन्न भयो । यस क्रममा चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गरिएको थियो, र प्रत्येक मिटरको नमुना परीक्षणका लागि चीन पठाइएको विभागका उपमहानिर्देशक दिनेशकुमार नापितले बताए । ड्रिलिङका लागि जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो, जहाँ ७० प्राविधिक र १०० स्थानीय मजदुरले १९ महिना काम गरेका छन् ।

मिथेन एक हरितगृह ग्यास हो, जुन हाइड्रोजन र कार्बनको संयोजनबाट बन्छ । यो हाइड्रोकार्बनको रूपमा चिनिन्छ र प्राकृतिक रूपमा जैविक पदार्थहरू सड्दा वा खादिँदा उत्पादन हुन्छ । मिथेन स्वच्छ इन्धन, पेट्रोल र डिजेलको विकल्प मानिन्छ । रसायनशास्त्री विजय शर्माका अनुसार, मिथेन ग्यासले सवारीसाधन सञ्चालन, बिजुली उत्पादन, र घरायसी प्रयोजनका लागि बत्ती बाल्न प्रयोग गर्न सकिन्छ । साथै, मिथेनबाट हाइड्रोजन छुट्याएर अमोनिया ग्यास उत्पादन गरी मल कारखानामा प्रयोग गर्न सम्भव छ ।

मिथेन ग्यासलाई एलपी ग्यासको सिलिन्डरमा भर्न नमिल्ने भएकाले ठूलो आकारको विशेष सिलिन्डर आवश्यक पर्छ । यो ग्यास पानीसँग मिसिएको हुन्छ, जबकि एलपी ग्यास पेट्रोलियम पदार्थमा मिसिएको हुन्छ ।

विभागका अनुसार, दैलेखको शिरस्थान, नाभीस्थान, र पादुका क्षेत्रमा थप अन्वेषण गर्दा ग्यासको भण्डार अझ बढ्न सक्छ । हालसम्मको सम्झौताअनुसार चिनियाँ टोलीले तोकिएको काम सम्पन्न गरिसकेको छ । अब परीक्षण उत्पादनका लागि नेपाल र चीन सरकारबीच नयाँ सम्झौता आवश्यक छ । चिनियाँ पक्षले ०८२ पुससम्म अन्तिम प्रतिवेदन पठाउने प्रतिबद्धता जनाएको छ । त्यसअघि नेपालले आगामी चरणको परियोजना डिजाइन तयार पार्नेछ । हाल जलजलेमा दुई चिनियाँ प्राविधिक कार्यरत छन्, र सशस्त्र प्रहरीले अन्वेषणस्थलको सुरक्षा गरिरहेको छ ।

तर, मिथेन ग्यासको भण्डार फेला परेको खबरले विश्व शक्तिराष्ट्र चीन र उदाउँदो शक्ति भारतको ध्यान खिचेको छ । यो खोजले नेपाललाई ऊर्जा आत्मनिर्भर बनाउने र आर्थिक समृद्धिको बाटोमा लैजाने सम्भावना बोकेको छ । नेपालको संवेदनशील भूराजनीतिक अवस्थितिका कारण यो ग्यास उत्खननले नेपाललाई चीन र भारतबीचको रणनीतिक टकरावको केन्द्रविन्दु बनाउन सक्छ ।

नेपाल उत्तरमा चीन र दक्षिणमा भारतजस्ता शक्तिशाली छिमेकीहरूको बीचमा अवस्थित छ । दैलेखको मिथेन ग्यासको खोजले दुवै देशका मिडियामा प्रमुख स्थान पाएको छ । चीनको चासो स्वाभाविक छ, किनभने चाइना जिओलोजिकल सर्भे र सीएनपीसी सिबु इन्जिनियरिङ कम्पनीले अन्वेषण र ड्रिलिङमा संलग्नता जनाएका छन् । अर्कोतर्फ, भारतले परम्परागत रूपमा नेपालको आन्तरिक गतिविधिमा गहिरो चासो राख्दै आएको छ, विशेषगरी ऊर्जा क्षेत्रमा । हाल नेपालले आफ्नो पेट्रोलियम आवश्यकता भारतबाटै पूरा गर्छ र भारतले निर्माण गरेको पाइपलाइनले यो निर्भरता झनै बढाएको छ ।

चीनको सरकारी अखबार ग्लोबल टाइम्सले लेखेअनुसार, भारतले विगतमा (जस्तै सन् २०१५ को नाकाबन्दी) आर्थिक दबाब प्रयोग गरेर नेपालमा आफ्नो प्रभाव कायम राख्ने प्रयास गरेको छ । मिथेन ग्यासको व्यावसायिक उत्पादनले नेपालको भारतमाथिको ऊर्जा निर्भरता कम गर्न सक्छ, जसले भारतलाई रणनीतिक दबाब सिर्जना गर्न प्रेरित गर्न सक्छ । यस्तो अवस्थामा भारतले ऊर्जा सहयोग रोक्ने, पाइपलाइन अवरुद्ध गर्ने वा उत्खनन अधिकारमा हिस्सेदारी माग्ने सम्भावना छ ।
दैलेखको ग्यास अन्वेषणमा चिनियाँ कम्पनीहरूको संलग्नता र २ अर्ब ४० करोड रुपैयाँको सम्झौताले चीनको प्रभाव बढाएको छ ।

सांघाइ एकेडेमी अफ सोसल साइन्सेसका अनुसन्धानकर्ता हु झियोङले ग्लोबल टाइम्समा लेखेका छन्, ‘नेपालको विकास र विदेश नीति लामो समयदेखि भारतको प्रभावमा थियो, तर अब ऊर्जा स्रोतको विविधीकरणमार्फत नेपालले स्वतन्त्रता खोजिरहेको छ ।’ यदि चीनले उत्खनन र प्रशोधनमा एकाधिकार कायम गर्‍यो भने, नेपालको राजनीतिक र आर्थिक निर्णयमा उसको प्रभाव बढ्न सक्छ, जुन भारतका लागि चिन्ताको विषय बन्न सक्छ ।

दैलेखको ११२ अर्ब घनमिटर मिथेन ग्यासको भण्डार नेपालको ऊर्जा र आर्थिक समृद्धिका लागि सुनौलो अवसर हो । व्यावसायिक उत्पादनका लागि थप अन्वेषण, लगानी, र सरकारी समन्वय आवश्यक छ । यदि यो परियोजना सफल भयो भने, नेपाल ऊर्जामा आत्मनिर्भर बन्ने मात्र नभई क्षेत्रीय ऊर्जा केन्द्रको रूपमा स्थापित हुन सक्छ ।