देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारको ऋण साढे २६ खर्ब, हरेक नेपालीको टाउकोमा ९० हजार

देशान्तर

काठमाडौं । चालु आर्थिक वर्षको जेठसम्ममा सार्वजनिक ऋणको भारी २ खर्ब २० अर्ब ५८ करोड रुपैयाँले बढेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको सुरुमा अर्थात असार मसान्तसम्ममा २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको सरकारको ऋण चालु आर्थिक वर्षको ११ महिनासम्म आइपुग्दा २६ खर्ब ५४ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । यो ऋण कुल ग्राहस्थ्य उत्पादनको आधारमा ४३.४७ प्रतिशत रहेको छ ।

सरकारको साढे २६ खर्ब रुपैयाँको ऋणभार बोकिरहदा आन्तरिक ऋणको हिस्सा ४७.९४ प्रतिशत छ भने वैदेशिक ऋणको हिस्सा ५२.०६ प्रतिशत छ । यस्तो ऋणमा आन्तरिक १२ खर्ब ७२ अर्ब छ भने बाह्य ऋण १३ खर्ब ८२ अर्ब रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षमा सरकारले जम्मा ५ खर्ब ४७ अर्व सार्वजनिक ऋण परिचालन लिने लक्ष्य राखेकोमा जेठ मसान्त सम्ममा ४ खर्ब १४ अर्ब १९ करोड रुपैयाँ लिएको छ। यस्तो ऋण वार्षिक लक्ष्यको तुलनामा ७५.७२ प्रतिशत भएको देखिएको छ ।

चालु आवमा ऋण तिर्नमा सरकारले ४ खर्ब २ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यसमध्ये जेठ मसान्तसम्म ३ खर्ब २९ अर्ब ६० करोड भुक्तानी भएको छ। यो वार्षिक बजेट विनियोजनको आधारमा ८१.८२ प्रतिशत हो ।

नेपालको हालको जनसंख्या २ करोड ९६ लाख रहेको छ । यसलाई आधार मान्दा प्रत्येक नेपालीको थाप्लामा ८९ हजार ६ सय रुपैयाँ ऋण रहन्छ ।