देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रविबारे प्रश्न उठेपछि को बन्ला रास्वपाको काबा सभापति ?

देशान्तर

काठमाडौं । पार्टी सभापति रवि लामिछानेको नैतिकताका बारेमा प्रश्न उठेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आन्तरिक छलफल थालेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग राख्दै संसद् अवरोध गरिरहेका बेला रास्वपामाथि प्रश्न उठेको हो ।

आइतबारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले रवि लामिछाने कुन नैतिकताले पार्टी सभापतिमा रहिरहेका छन् ? र उनको पार्टीका सांसदहरूले अन्य पार्टीलाई कुन आधारमा नैतिकताको कुरा गरिरहेका छन् ? भन्दै प्रश्न गरेका थिए ।

रास्वपाका कार्यबाहक प्रवक्ता मनीष झाले भने, ‘सार्वजनिक रूपमा प्रश्न उठेपछि उठेका प्रश्नबारे कसरी जवाफ दिने भनेर हामी आन्तरिक छलफलमा छौँ, आइतबार पनि एक चरण छलफल भएको छ । आज सोमबार थप छलफल गर्छौं ।’

विभिन्न सहकारीबाट गैरकानुनीरूपमा रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने रुपन्देही जिल्ला कारागार कार्यालयमा थुनामा छन् । उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत छानबिन भइरहेको छ ।

सोही जानकारी प्रहरीले संघीय संसद् सचिवालयलाई गराएपछि गत पुस ८ गते सभामुख देवराज घिमिरेले लामिछानेको सांसद पद निलम्बनमा रहेको जानकारी गराएका थिए ।

सम्भवतः रास्वपाले केही दिनमै कार्यबाहक सभापति तोक्नेछ । कार्यबाहक सभापतिमा उपाध्यक्षद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेको दाबी रहेको बुझिएको छ । रवि लामिछानेले स्वर्णिमलाई विश्वास गरिनसकेका कारण अर्याल नै पुनः कार्यबाहक सभापति बन्ने सम्भावना छ ।