देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिनिधिसभा बैठक आज २ बजे बस्ने

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरुको विरोधका कारण संघीय संसद् प्रतिनिधिसभाको बैठक आइतबार नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठन माग गर्ने प्रतिपक्षी दलहरुको अडान कायमै रहेपछि आइतबार पनि प्रतिनिधिसभाको बैठक तोकिएको समयमा बस्न सकेन ।

आइतबार दिउँसो १ बजेका लागि बस्ने तय भएको बैठक ३ः१५ बजे बस्ने सङ्घीय संसद् सचिवालयले सूचना टाँसेर बैठक सरेको जनाएको थियो । दोस्रोपटक तोकिएको समयमा पनि बैठक बस्न नसकेपछि सचिवालयले पुनः अर्को सूचना प्रकाशित गरी साँझ ५ः३० मा बस्ने उल्लेख गरेको थियो ।

सो सूचना प्रकाशित भएको एक घण्टापछि अर्थात् ६ः३० बजे सुरु भएको बैठकमा पनि विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाए ।

सभामुख देवराज घिमिरेले पटक–पटक सहज रुपमा सभा सञ्चालन गर्न आग्रह गरे पनि विपक्षी दलहरुले अस्वीकार गर्दै विरोध जनाए । त्यसपछि सभामुख घिमिरेले कार्यसूचीमा रहेका सबै कार्यक्रम हटाई बैठक स्थगित भएको सदनलाई जानकारी गराए ।

प्रतिनिधिसभाको अर्को बैठक आज सोमबार दिउँसो २ः०० बजे बस्नेछ ।

प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आव २०८२÷८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्ने कार्यसूची तय भएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रतिपक्षी दलहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी)लगायतले प्रतिनिधिसभा बैठक चल्न दिएका छैनन् ।

यही जेठ १५ गते सदनमा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमाथि छलफलपछि प्रतिपक्षी दलको विरोध कारण चल्न सकेको छैन ।