काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा नेपालमै पहिलोपटक सफलतापूर्वक लिंग परिवर्तनसम्बन्धी शल्यक्रिया भएको छ ।
जनकपुरका निवासी २५ वर्षीया एक पारलैङ्गिक (ट्रान्सजेन्डर) व्यक्तिमा पुरुषको लिंगको तन्तुहरुलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जननेन्द्रीय अंगको पुनःनिर्माण गरिएको हो ।
अस्पतालको प्लास्टिक सर्जरी विभागद्वारा यही जेठ १२ देखि १५ गतेसम्म पारलैंगिक समुदायका लागि आयोजित विभिन्न प्रकारका शल्यक्रियामा उक्त शल्यक्रिया पनि गरिएको हो । त्यस अवसरमा अनुहार तथा स्तनको पनि शल्यक्रिया गरिएको थियो ।
अस्पतालका प्रवक्ता तथा सहप्रा.डा. गोपाल सेढाईंले अब यो सेवा नेपालमै नियमित रूपमा उपलब्ध हुने भएकाले विदेश जानुपर्ने बाध्यता नहरेको बताए । उनले भने, ‘लिङ्ग परिवर्तनजस्तो संवेदनशील र जटिल शल्यक्रिया धेरै खर्चिलो हुने कारणले हाल नेपालमै यो सुविधा उपलब्ध भएपछि पारलैंगिक समुदायलाई धेरै राहत मिल्नेछ । यसले पारलैंगिक समुदायलाई आफ्नो लैंगिक पहिचानको पूर्ति गर्न एक महत्त्वपूर्ण उपाय हुनेछ ।’
शल्यक्रियामा विदेशी प्लास्टिक सर्जन डा. एलिजा हामिडियन जाह्रोमीको नेतृत्व तथा विभागीय प्रमुख प्रा.डा. जयनमान श्रेष्ठको संयोजनमा सम्पूर्ण प्लास्टिक सर्जरी तथा एनेस्थेसिया टिमको सहभागिता रहेको थियो ।
डा. जयनमान श्रेष्ठका अनुसार अबदेखि त्रिवि शिक्षण अस्पतालमा ‘जेन्डर अफर्मिङ क्लिनिक’स्थापनासहित यस्ता सेवा नियमित रूपमा प्रदान गरिनेछ ।
प्रतिक्रिया