नेपाली कांग्रेसको नर्सरीको रूपमा भ्रातृ संस्थाहरू लामो समयदेखि तदर्थवादमा चल्दा अराजकता पनि बढ्दै गएको छ । नेताको आशिर्वादमा नेतृत्वमा पुगेकाहरू संगठन निर्माण गर्नुको साटो एक अर्काविरुद्ध जाइलाग्ने गरेका उदाहरण धेरै नै छन् । समयमा अधिवेशन गराउन नसकेपछि भ्रातृसंस्थाहरूको अधिवेशन गराउनका लािग निर्देशन समिति नै पार्टीका नेताहरूको संयोजकत्वमा गठन गरिएको छ । चैत मसान्तसम्मको समय सीमा दिए पनि त्यो पूरा गर्न कांग्रेसका मुख्य भ्रातृ संस्थाहरू नेविसंघ, तरुण दल र महिला संघ सहित सातवटा संगठन असफल भएका छन् । १३ मध्ये ६ वटाको भने अधिवेशन सम्पन्न भएको छ । अधिवेशन गराउन नसक्ने भ्रातृ संस्थाहरूलाई असोज मसान्तसम्मको समय दिइएको छ ।
तर, अहिलेको तरुण दलको नेतृत्वबाट अधिवेशन नहुने भन्दै अध्यक्ष विद्वान गुरुङविरुद्ध पार्टी कार्यालयमै प्रदर्शन भएको छ । तरुण दलका कार्यकर्ताहरूले नियमित महाधिवेशनको माग राख्दै सानेपास्थित पार्टी कार्यालयअगाडि विरोध प्रदर्शन गरेका हुन् । शुक्रबार आयोजित मोटरसाइकल ¥यालीसहितको प्रदर्शनमा उनीहरूले विगत नौ वर्षदेखि नियमित महाधिवेशन नहुँदा संगठनको आन्तरिक लोकतन्त्र कमजोर भएको भन्दै नेपाल तरुण दलको केन्द्रीय तदर्थ समिति विघटन गर्नुपर्ने माग गरेका छन् ।
प्रदर्शनका क्रममा तरुण दलका केन्द्रीय सदस्य रोजन राईले नौ वर्षसम्म महाधिवेशन नहुनुले संगठनभित्र लोकतान्त्रिक अभ्यास कमजोर भएको बताए । उनले भने, ‘नियमित महाधिवेशन भएको भए हजारौँ युवाहरू नेतृत्वमा स्थापित भइसक्ने थिए । तदर्थवादको नाममा यति लामो समयसम्म संगठन चलाउनुले आन्तरिक लोकतन्त्र मात्र होइन, समग्र संगठन नै कमजोर बनेको छ ।’ राईले तदर्थ समितिले तरुण दलको संरचना भत्काएर नयाँ बनाउने नाममा गलत अभ्यास गरेको आरोपसमेत लगाए । उनले प्रश्न गरे, ‘तरुण दलको सम्पत्ति प्रयोग गर्दा वा अधिवेशनको योजना बनाउँदा केन्द्रीय समितिलाई जानकारी दिनु आवश्यक छैन ? अधिवेशन कहाँ हुँदै छ, कुन प्रतिनिधि तोकिएको छ, केन्द्रीय समितिलाई थाहा हुनुपर्दैन ?’
राईले तदर्थ समितिको अवधि सामान्यतया छ महिनादेखि एक वर्षसम्म हुने प्रचलन रहेको उल्लेख गर्दै बारम्बार म्याद थप्ने प्रवृत्तिको विरोध गरे । उनले भने, ‘हाम्रो तदर्थ समितिको म्याद तीनदेखि छ पटक थपिएको छ । यति गर्दा पनि महाधिवेशन गर्न नसक्ने नेतृत्वले फेरि म्याद थप माग्नुको कुनै नैतिक आधार छैन । नेपाली कांग्रेसले अन्तिम पटक म्याद थप्दा ०८१ चैत मसान्तमा स्वतः विघटन हुने भनेको थियो । त्यसको मर्म र नैतिकतालाई आत्मसात् गर्दै नयाँ तदर्थ समिति गठनको माग गर्छौं ।’
प्रदर्शनकारीहरूले म्याद थपेर तरुण दललाई ‘मागिखाने भाँडो’ बनाउने प्रवृत्तिको विरोधमा बहुसंख्यक केन्द्रीय सदस्यहरू एकजुट रहेको जनाएका छन् । उनीहरूले पार्टी कार्यालय प्रवेश गरी पत्रकार सम्मेलन गर्ने योजना बनाएका थिए, तर प्रवेशमा रोक लगाइएपछि थप आक्रोशित बनेका थिए ।
तरुण दलका कार्यकर्ताहरूले संगठनको विधानअनुसार नियमित महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने र तदर्थवादको अन्त्य गर्नुपर्ने मागलाई जोड दिएका छन् ।
प्रतिक्रिया