काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर देशका विभिन्न स्थानमा बृहत् वृक्षारोपण कार्यक्रम गरेको छ ।
बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा मुलुकभर १८ हजार वृक्षारोपण गर्ने लक्ष्य राखेको थियो । बैंकले बिहीबार विश्व वातावरण दिवसको अवसरमा मुलुकका विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम गरेको हो ।
यसै अवसरमा बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला, लम्कीचुहाँ नगरपालिकाको बालचौरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको समुपस्थितिमा एक हजार कागतीका विरुवा रोपण गरेको हो ।
उक्त कार्यक्रममा जनप्रतिनिधि, स्थानीय नागरिकलगायत बैंकका कर्मचारीको ठूलो उपस्थिति थियो ।
त्यसैगरी, बैंकले काठमाडौंको नारायणहिटी आर्मी ब्यारेकको परिसरमा बैंकका नायब प्रमुख कार्यकारी सुमन पोखरेलको उपस्थितिमा ३०० वटा विरुवा रोपण गरेको हो ।
बैंकले कोसी प्रदेशको दिक्तेल, प्रगति सामुदायिक वन, मेचीनगर, झापालगायतका विभिन्न स्थानमा ३,७०० वटा, मधेस प्रदेशको राजविराज, जीतपुर, लहान, गौह्र, मिथिला नगरपालिका (भाटिघारी सामुदायिक वन)लगायतका विभिन्न स्थानमा ५,०५०, बागमती प्रदेशको नारायणहिटी आर्मी ब्यारेक, टोखा र रसुवा लगायतका विभिन्न स्थानमा २,३००, गण्डकी प्रदेशको बागलुङ र कास्की लगायतका विभिन्न स्थानमा २,१००, लुम्बिनी प्रदेशको बिजुवार, घोराही, गुलेरिया, लिवाङलगायत विभिन्न स्थानमा १,५००, कर्णाली प्रदेशको विरेन्द्रनगर र रास्कोट लगायतका विभिन्न स्थानमा ७०० र सुदुरपश्चिमको बालिया, गोकुलेश्वर, बैतडी, अत्तरिया, धनगढी, टीकापुर र महेन्द्रनगरलगायतका विभिन्न स्थानमा २,०८६ विरुवा रोपण सुरु गरेको छ ।
बैंकले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा स्थानीय महानुभावको उल्लासमय उपस्थिति रहेको थियो ।
बैंकले वृक्षारोपणको लागि विभिन्न संस्थासँग सहकार्य गरी सहरको सौन्दर्यकरण, सामुदायिक वन, विद्यायल, अस्पतालपरिसर तथा सार्वजनिक स्थानहरु छनोट गरेको छ ।
उक्त वृक्षारोपणले वातावरण संरक्षणमा सहयोग गर्नुका साथै जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीयहरुको आयआर्जनमा सहयोग हुने विश्वास बैंकले लिएको छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानीत बैंक होे । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट फरक–फरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
प्रतिक्रिया