काठमाडौं । भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका तीनजनामा कोभिड संक्रमण पुष्टि भएको छ । कोभिड पुष्टि हुनेमा दुई पुरुष र एक महिला रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।
कञ्चनपुरको पुनर्वासका २० वर्षका युवक, अछामको ढकारीका ३२ वर्षीय युवक र कैलालीको धनगढीकी २४ वर्षीया महिलामा कोभिड पुष्टि भएको हो । उनले भने, ‘भारतको विभिन्न सहरबाट गौरीफान्टा नाका भएर स्वदेश फर्किरहेका शंकास्पद ३६ जनाको परीक्षण गर्दा तीनजनामा कोभिड पुष्टि भएको छ । कोभिड पुष्टि भएका सबैलाई होम आइसोलेसन बस्न भनेका छौँ ।’
कोभिड पुष्टि भएका सबैको पीसीआर परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं पठाइएको निर्देशनालयका महामारी सम्पर्क व्यक्ति जोशीले जानकारी दिए । उनले भने, ‘कोभिड पुष्टि भएका तीनैजनाको स्याम्पल काठमाडौं पठाएका छौँ । काठमाडौंमा पीसीआर परीक्षणपछि उनीहरूमा कोभिडको कुन भेरियन्ट रहेछ भन्ने पत्ता लाग्छ ।’
भारत तथा अन्य छिमेकी राष्ट्रहरूमा कोभिड–१९ को संक्रमण देखा परिरहेकाले नेपालमा पनि यसको संक्रमण र महामारी निम्तन सक्ने भएकोले सुदूरपश्चिमका सबै सीमानाकामा सतर्कता अपनाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले संक्रमणको महामारी निम्तन सक्ने साम्भव्यतालाई मध्यनजर गर्दै मातहातका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
सतर्कता अपनाउन तथा तयारी अवस्थामा रहन निर्देशन दिए पनि सुदूरपश्चिममा कोभिड संक्रमण भए नभएको पत्ता लगाउने किटको अभाव रहेको छ ।
प्रतिक्रिया