देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आजदेखि बजेटमाथि छलफल हुँदै

देशान्तर

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले प्रस्तुत गरेको बजेटमाथि आजबाट छलफल हुँदैछ। त्यसका लागि प्रतिनिधिसभा बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आ.व. २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। अर्थमन्त्री पौडेलले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए।

बजेटमाथि छलफल सुरू हुने कार्यसूची भएपनि गृहमन्त्रीको राजीनामाको विषयलाई लिएर प्रतिपक्षीले भने अवरोध कायम गर्ने बताएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र लगायतले संसद बैठकमा अवरोध गर्दै आएका छन्। राजीनामा नआएसम्म संसद चल्न नदिने उनीहरूको अडान छ।

संसदको अवरोधबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बेलुका तीन दलका शीर्ष नेताको बैठक बोलाएका थिए। नेकपा माओवादी केन्द्रले भने आफ्नो अडान कायमै राखेपछि छलफल निष्कर्षविहीन भएको भएको थियो। जेठ ७ गतेदेखि गृहमन्त्री लेखकको राजीनामा माग गर्दै प्रतिपक्ष दलहरूले संसद अवरोध गरिरहेका छन्। तर, सत्तापक्ष भने मंगलबारबाट जसरी पनि संसद् सुचारु गर्ने पहल गरिरहेको छ।

बैठकको प्रारम्भमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ। यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन,२०८२’ पेस गर्ने कार्यसूचीमा उल्लेख छ।

सभामुख घिमिरेले प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिका सदस्यहरूको नाम हेरफेर गर्नेछन्।