प्रवीण ढुंगेल
जोगीले खरानी घसेजस्तै
गहुँको आटा घसेर
सेतो देखिएपछि मात्र
नागरिकताको सिफारिसमा तोक लाग्छ भने
म खेतमा धान लगाउँदिनँ मालिक
पूरा साल म गहुँमात्र उब्जाउँछु !’
माथिको उद्धरण पढेपछि र सामाजिक सञ्जालमा पुस्तकको आवरणसँगै अडियो वाचन सुनेपछि प्रतीक्षा र जिज्ञासा थियो, बहुरूपीबारे । झन् ओभरहेड ब्रिजमा अरू बेला देखिने मोबाइल फोन, महँगा गाडी, बाइक, रक्सी, आदिका बडेमानका विज्ञापन पोस्टरका स्थानमा किताबको आवरण देख्दा पाठकका रूपमा हल्का दम्भ, ज्यादा उत्साह अनि खुसी उत्पन्न हुने रहेछ । यो किताबको ओभरहेड विज्ञापनले एकपल्ट किताबबारे जिज्ञासा जगायो नै ।
स्थापित पुस्तक लोकार्पण विमोचन कार्यक्रमभन्दा पृथक् तरिकाले राजधानी काठमाडौंका विभिन्न सात स्थानबाट पाठकमाझ ‘बहुरूपी’को पुस्तक हस्ताक्षर, अन्तरक्रिया र बिक्रीवितरण गरिएको थियो । मलाई किताबमा रुचि जागेको चाहिँ पुस्तकको आवरण सार्वजनिक भएदेखि नै हो । किताब विमोचन बखतको ‘किन्नका लागि नकिन्नुस्, पढ्नका लागि किन्नुस्” स्लोगन बडा मजेदार लागेको थियो ।
विविध विषयवस्तु र सन्दर्भमा लेखिएका १५ बहु–आयामिक कथाहरूको गज्जबको सँगालो हो, श्रेयज सुवेदीको बहुरूपी । यस पुस्तकअगाडि सुवेदीका केही लेख रचनाहरू अनलाइनतिर पढेर म फिदा भएको थिएँ ।
स्थापित पुस्तक प्रकाशन गृहबाट हुने आउने नव–लेखकहरूको अभ्युदयले नव–ऊर्जा, प्रतिभा प्रस्फुटन, नयाँ परिवेश र लेखन शैलीसँग परिचय गराउँछ । नाम चलेका सर्जकका कृतित्व अलि फिक्का फिक्का र शैली दोहोरिएको जस्तो लागेको बेला नयाँ लेखकको शिल्पले उत्साहित बनाउँछ । यस कथासंग्रहमा सामेल १५ कथाहरूले पनि विभिन्न आयाम, समय–परिवेश, जातीय विभेद, सामाजिक यथार्थ, जीवनका सुखदुःख, राजनीतिक यथास्थिति, मनोविज्ञान, नाता–सम्बन्धका उतारचढाव, रहनसहन, अपेक्षा–उपेक्षा, आशा–निराशा आदिका सार बोकेका छन् । लेखकको कल्पना र देखे–भोगे–सुनेका सामाजिक यथार्थलाई बडो मिहीन तवरले लिप्यान्तरण गर्ने शैली, कथामा सामेल गर्ने भोजपुरी पंक्ति र दृश्य–परिवेशको न्यारेसनमा फिल्म वा डकुमेन्ट्री हेरेसरह अनुभूति गराउने शिल्प तारिफयोग्य लाग्यो ।
मुख्य गुनासो चाहिँ मधेसतिर बोलिने भोजपुरी संवादका नेपाली अर्थ ब्राकेटमा राखेको भए पुस्तक अध्ययन गर्दाको फ्लो कायम रहने थियो ।
संग्र्रहका एकाध कथाहरूको लेखनशिल्प यति दमदार लाग्यो कि, ती कथाहरू आफैँमा एक सिंगो उपन्यास हुन् । यी कथाहरूले असाध्यै प्रभावित पारे । पाठकहरूका हृदयमा गुम्सिएर रहेबसेका तीता–मीठा सम्झना, लुकेका चाहना, कसैसँग साझा नगर्ने गुम्फन अनि यावत् अनुभवहरू पुनः सम्झनामा आउँछन्, सिनेमाका दृश्यहरूजस्तै गरी ।
एकाध कथा पढ्दै गर्दा डकुमेन्ट्री हेरेझैँ भान भयो, जसरी अहिले हेर्ने कथाले देशका कुनाकुनामा लुकेका (अगाडि नल्याइएका) कथा–व्यथा–प्रथाहरूलाई उजागर गर्दछ । ज्यादातर कथाहरू मधेसी माटो–पाटोका मौलिक कथा–व्यथा बोकेका छन् । मधेसमा जन्मेर काठमाडौं उपत्यकाका हुर्केकाले उताका कतिपय भाषा, रहनसहन, बोलीचाली नौला लाग्दछन् । तर महजोडीको टेलिभिजन कार्यक्रम, एकाध नाटक अनि डकुमेन्ट्री तथा स्नातक अध्ययनरत हुँदा स्वयं मधेस जाँदा देखे/भोगेका र सुनेका कथाहरू निकै शानदार तवरले लेखिइएका छन् ।
चर्चा परिचर्चामा नआउने नव–लेखकका सिर्जना पढ्न निकै ऊर्जा जाग्दछ । पढ्दै जाँदा पट्यार लाग्दैन । कथानकमा अटाएका दृश्य–परिदृश्य, पात्र, परिवेश र सन्दर्भमा देखिने विविधता, कथाको सुरुदेखि अन्त्यसम्म बाँधेर राख्न सक्ने लेखनी छ । मधेसका सुखदुःखका पाटासँग भावनात्मक सेतु बनाउने शैलीगत माधुर्यका अद्भूत लाग्छ । कथाहरूमा मानवीय सम्बन्ध, मानसिक द्वन्द्व, तनाव, प्रेम, अभिभावकत्व, विभेद, मतभेद, लैंगिकताका आधारमा गरिने उच–नीचवाला व्यवहार, जातीय विग्रह, धार्मिक विभेद र धार्मिक ग्रन्थको आफ्नो स्वार्थ पूरा गर्न गरिने विविध व्याख्या उप–व्याख्या आदि पक्षको सूक्ष्म अध्ययन, अवलोकन अनि सुन्दर लिप्यान्तरण गरिएको छ ।
गरीबी, जातीयता, धर्म, लिंग आदिका आधारमा गरिने शोषण, गिट्टी ढुंगा फोरेर परिश्रम गरी, ठेलागाडामा मालसामान बेचेर हातमुख धुने वर्ग, वर्ग–संघर्षका कारण उत्पन्न हुने विग्रह, मनो–सामाजिक असर र द्वन्द्वका केही आयाम कथामा आएका छन् । विशेषतः तराई मधेसका सीमान्तकृत वर्ग–समुदायका पात्रहरू (केही पात्र काठमाडौं उपत्यकामा पनि देखे/भेटेको छु आफ्नो छोटो समयावधिका निम्ति पत्रकारिता पेसामा आबद्ध हुँदा)का कथाव्यथा र जीवनका आयामहरूलाई मिहीन अवलोकन र मौलिक शब्द–शिल्पमा उतारेका छन् । तहगत विविधता, शाब्दिक संयोजन, विभिन्न अनुच्छेदबीचको सुन्दर तालमेल अनि आवरण स्पर्श गर्दा भान हुने अनुपम उत्साहले यो किताब निकै मन परेको छ । भलै, कथानकमा आएका कथाव्यथा नयाँ होनन् हाम्रो समाजमा, तर ती कथाहरूको प्रस्तुतीकरण, शैलीगत संयोजन अनि पात्रहरूमार्फत अगाडि ल्याइने शिल्प मलाई रुचिकर लागेको हो ।
किताबमा संगृहीत एकाध कथाले दिमाग राम्रै हल्लाइदिन्छ । कथानकमा आउने ट्विस्ट, पात्रका साथ हुने नाइन्साफी, चरम अन्याय र घोर अत्याचार अनि पात्रले चाल्ने केही कदमले । पूरापुरभन्दा कथाहरू यति दमदार र सशक्त लागे कि त्योबारे यसमा भन्नु स्पोइलर हुन जाने उस्तै सम्भावना हुन्छ । लेखकले यसमा नयाँ र मौलिक, कल्पना र यथार्थ, सामाजिक र मनोवैज्ञानिक तह, सुख र दुःख, राजनीति र दासनीति, मान्छेको शक्ति र कमजोरी (कतचभलनतज बलम धभबपलभकक), आमा हुनुको सपना र विपनाबीचको तादात्म्य आदि विविध पक्षहरूलाई गाँसेर सुन्दर शब्द–माला उनेका छन् । मुख्यतः पात्रहरूमा युवा, नारी, पुरुष, बालबालिका आदि सबै उमेर समूह, विभिन्न मनो–सामाजिक यथार्थ, आनीबानी, जीवनका यावत् अनुभव र उतारचढावको साक्षी रहे–बसेका, फरकफरक दृष्टिकोण र धारणा राखेकाहरूको सूक्ष्म अध्ययन र सुन्दर सरस प्रस्तुतीकरण रहेको बोध हुन्छ ।
अर्को कुरोचाहिँ, कुनै कुनै अनुच्छेद सुरुमै पढिटोपल्दा झट्ट बुझिँदैन, तर शान्त भएर हतारो नगरी पढ्दा मोहित नै भइन्छ । एउटा कथामा माओवादी जनयुद्धकालीन दृश्यको साथ–साथै दुवै पक्षका दुःख, सास्ती र चोटपटकको साबिती नि भनेको छ । कथा संग्र्रहमा अटाएका यी १५ कथाहरूले पाठकलाई विभिन्न अनुभूति, घटना–परिवेशका सजीव चित्रण, पात्रका हृदयका उथलपुथल र मनोदशा, सामाजिक, सांस्कृतिक, धार्मिक ऊहापोह तथा अनलाइन माध्यममा पढिने लेखकको कलमको निखार र माझिएको चमक देखाउँछ ।
अनलाइनमा पढेको लेखक श्रेयज र यस संग्रहमा रहेका लेखक श्रेयजको शिल्पको तारिफ गर्न बडो मज्जा आयो । परम्परागत कथानक शैलीलाई अझै निखार्दै लेखकले आफ्नो पृथक् मौलिक शैलीलाई यसमा तिखारेका छन् । अनावश्यक लम्बाइ, बढाइ, चढाइ राख्ने, कथानकको सिलसिला भंग नै गर्न र सहजै पाठकलाई विचलित नपार्ने शैलीको प्रशंसा गरी थाकिँदैन ।
भलै भोजपुरी संवादका नेपाली अनुवाद छुटेकोले चाहिँ कतैकतै अपठ्यारोचाहिँ लाग्यो पढ्ने क्रममा रोक लाग्दा । तर पनि दोहोर्याउँदा त्यसको अर्थ अनुमानका भरमा भेउ पाइन्छ । कृतिले नयाँ शैलीमा लेखिएको सुन्दर परिष्कृत कथानक भएको किताब पढ्न मन लाग्ने पाठकलाई राम्रै तान्ने छ ।
प्रतिक्रिया