ई. कुमार भट्टराई
वि.सं. १९०८ मा जंगबहादुर राणाले बेलायतबाट फर्कंदा ल्याएको फलामे हाते प्रेस नै नेपालका लागि पहिलो प्रेस हो । उता आधुनिक विश्वमा गुटेनबर्गले सन १९५५मा नै स्थानानन्तरण गर्न सकिने काठको मेसिन बनाइसकेका थिए । दुईवटा प्लेटलाई एक आपसमा बल उपयोग गरेर थिचेर अक्षरहरूलाई छाप्ने काम गरिने उक्त मेसिन आधुनिक जगत्को पहिलो मेसिन बनिसकेको थियो । एक घण्टामा २५६ पाना छाप्न सक्ने मेसिन छिटो र प्रभावकारी मानिएको अवस्थाले बाइबललगायत पुस्तक धमाधम छापिरहेका थिए । त्यसपछि शिक्षामा सबै नागरिकको पहुँच विस्तार हुँदै आधुनिक युगले स्वतन्त्र विचार राख्ने साहित्यकार, वैज्ञानिकलगायतका धारणा प्रकाशित गर्दै समाजलाई अगाडि बढाउन सुरु गरिरहेको थियो । त्यसबाट धर्मगुरु वा लब्धप्रतिष्ठित व्यक्तिमा मात्र सीमित ज्ञान विस्तारै फैलिँदै थियो । त्यस्तै छापा माध्यमका मेसिनहरूको विकास हुँदै पनि थियो र सयौँ वर्षका यस्तै अनुसन्धानले अफ सेट प्रिन्टिङ प्रेसलगायत धेरै प्रकारका मेसिनहरू पनि विकास गर्यो ।
तर के यी प्रविधि विकास हुनुपूर्व पुस्तकहरू छापिएका वा लेखिएका थिएनन् त ? नेपालीहरूको हिन्दु संस्कृति र सभ्यताको संस्कृत भाषामा लेखिएका ग्रन्थ डाइमन्ड सूत्र चिनियाँहरूले चिनियाँ भाषामा उल्था नै गरेका थिए । यसरी संस्कृत भाषाबाट उल्था गरेर लेखिएको पुस्तक डाइमन्ड सूत्रलाई नै अहिले हामी नेपालीले समेत पृथ्वीमा मेटिएको पुरानो किताब भनेर पढिरहेका छौँ । किन यस्तो बाध्यता नेपालीहरूले भोगिरहेका छन् भन्ने प्रश्नमा हाम्रा राजनीतिज्ञहरूले आधुनिक विकासक्रमलाई हाम्रो पौराणिक सम्पत्तिको खोजी गरेर जोड्न नसक्नु नै प्रमुख कारण हो भन्ने आलेखकारको बुझाइ छ । आधुनिक विज्ञानसँग नेपालको गरिमामय इतिहास जोड्न प्राविधिक शिक्षालाई मौलिक शिक्षा बनाउनुपर्ने हुन्छ । जुन हाम्रा राजनीतिज्ञको ज्ञानबाट खासै सम्भव देखिँदैन ।
यसमा छिमेकी राष्ट्रले ब्रिटिस गुलामीमा आफ्नो मौलिकतालगायत धेरै गुमाएको मनोदशाले झन् ठूलो नकारात्मक भूमिका निभाएको देखिन्छ । यति मात्र होइन, हाम्रा पुराना सभ्यता र इतिहास मेट्न चाहने केही व्यक्ति नै नेपालको संसद्मा पुगेर नेपालको पुरानो सभ्यताको लगभग अन्त्यतिर लेखिएको श्री स्वस्थानी व्रत कथाको किताब च्यातेको नै वर्तमान अवस्था समेत छ । नादान अबोध र अशिक्षित यस्ता पात्रहरू जो झन्डै पाँच हजार वर्षभन्दा पुरानो महाभारत पर्व नेपालको इतिहास मान्न पर्दा त आत्मग्लानीले देहत्याग नै नगर्लान् भन्न सकिन्न ।
मौलिक शिक्षा पद्धति विकास गर्न नमान्ने र अहिलेको शिक्षा पद्धतिले विकास गरेका यी माननीयका क्षमताले गर्ने यस्ता गतिविधिले नेपाली सभ्यताको चिरहरण कसरी गरिरहेको छ भन्ने चित्रण पनि यस् र यस्ता गतिविधिले देखाउने गर्दछ । सत्य युगको कथासँगै गासिएको हिमवत् क्षेत्रको शिर तत्कालीन नेपाल अहिले पाकिस्तान, अफगानिस्थान, भारत, सिक्किम, भुटान, बर्मा र तिब्बतजस्ता विभिन्न टुक्रामा चोइटिइसकेको यथार्थतामा यस्ता पुस्तक च्यातेर नुनको सोझो गरी आफ्नो जीवनमा भोगिरहेको भौतिक सुख सुविधामा कमी आउन नदिनु उनीहरूको बाध्यता पनि हुन सक्छ । यस्तो प्रवृत्तिलाई आफनौ जीवनी नै बनाएका यी कथित पात्रको प्रसंगभन्दा पनि सत्यको बहस र सत्यको खोजीका लागि नेपाली प्रेसको भूमिकाको महत्वका लागि नै यहाँ गुटेनबर्ग र जंगबहादुरको स्मरण गरेको हुँ ।
यदि गुटेनवर्गले छापा मेसिनको विकास नगरेका भए आज म यी चर्चा पनि गर्न पाउने थिइनँ भने राणा शासनका नराम्रा पक्ष मात्र देख्ने यो नेपाली समाजमा जंगबहादुरलाई पनि सम्झने थिइनँ । हजारौँ वर्षदेखि समाजको आर्थिक अवस्थाको पर्वाह नगरी आँगनमा तुलसी संरक्षण गर्ने र पीपललाई पानी चढाएर पुज्ने समाजले अक्सिजन सिलिन्डर र भेन्टिलेटरको विकासमा दिएको ज्ञानको प्रसंग पनि अहिले उल्लेख गर्ने थिइनँ ।
अझ अधिकार दिलाएको नाममा पौराणिक ज्ञानमाथिको अधिकार मेटाउन आँट गर्दै स्वास्थानीको किताब च्यातेर अनैतिक कार्यको म्याराथुन जित्ने सांसदको प्रसंग उप्काउने थिइनँ । इतिहास, ज्ञान र गाँसिएका प्रविधिको संरक्षण गर्न उक्त ज्ञानको संरक्षण तुलसी र पीपल भै गरिरहेको नेपाली एक समुदायमाथि बलात्कार नै गर्ने माननीयप्रति जानेर/नजानेर कटाक्ष गर्ने आँट पनि गर्ने थिइनँ । जे होस्, उन्नाइसौँ शताब्दिको सुरुवातमा नै जंगबहादुरले छापा माध्यम भित्र्याएर केही न केही ज्ञान प्रचारमा भूमिका निभाए ।
बनारसका प्रेसमा छापिने थप शिक्षा प्रद सामग्रीबाट नेपालीले ज्ञान लिएकै कारण २००७ सालको क्रान्ति पनि भएको हो । छापा माध्यमभन्दा पनि बढी प्रभावकारी प्रजातन्त्र रेडियोले नेपाली समाजलाई २००७ सालको स्वतन्त्रता दिलाएकै हो । छापापछिको रेडियो र रेडियोपछिको टीभी अनि डिजिटल माध्यममा पुग्दै गरेको अवस्थालाई आत्मसात् गर्दै हामीले पनि १५औँ शताब्दिमा युरोपेलीले तत्तत् समयमा भएका प्रविधि विकासबाट समाज विकास गर्दै लगेझैँ पुरातात्विक खोजीलाई अन्तर्राष्ट्रियकरण गराउनु पर्दछ भने त्यसको सुरुवात गर्न मौलिक शिक्षा पद्धतिको विकासमा जोड दिनु पर्दछ ।
अमूर्त सेनको स्वतन्त्रता नै विकास हो भन्ने सिद्धान्तलाई हामीले पाएको २०७२ को संविधानको स्वतन्त्रतासँग जोडेर विकासका मार्ग पहिल्याउनु पर्दछ । खुसीले समृृद्धिको मापन गर्दछ भन्ने सिद्धान्त हिमवत्खण्डकै अहिले पनि धर्मसापेक्ष राष्ट्र, छिमेकी मुलुक भुटानको डीएनए बाट प्रत्युत्पादित सिद्धान्तजस्तै धेरै सिद्धान्त विकास गरी विश्वलाई बाटो देखाउन नेपालले छिट्टै मौलिक शिक्षा पद्धतिको विकास गर्नुपर्दछ ।
केही अराजक नवआगन्तुक छद्मभेषी व्यक्तिहरू पनि नेपाली कांग्रेसजस्तो पार्टीमा मधेसी, दलित, जनजातिजस्ता २०७२ सालको संविधानले सर्वसाधारणलाई सबल बनाउन छुट्याएको सिटमा हुँकार गर्दै पूर्वीय सभ्यताका पुराना प्रविधि र शिक्षा मेटाउन चाहिरहेका हुनाले पुरानो प्रजातान्त्रिक विचार बोक्ने पार्टी कांग्रेस सचेत हुनुपर्दछ । प्रजातन्त्रको हिमायती कांग्रेसले पूर्वीय सभ्यताका पुराना ज्ञानलाई कतै स्थान दिएर नेपाललाई स्वाभिमानमूलक राष्ट्र बनाउन पूर्वीय सनातन सम्यताका तीन हजार वर्षभन्दा पुराना हालका शंखरापुरजस्ता स्मार्ट सिटीहरूलाई विश्वमाझ चिनाउन दस्ताबेजीकरण गर्नुपर्दछ ।
नेपालमा विकास गरिँदै गरेका नयाँ सहरहरूलाई पनि पूर्वीय सभ्यताका प्रविधिसँग जोडेर लैजानु पर्दछ । कम्तीमा राष्ट्रिय विभूति भृकुटीजस्ता केहीअगाडिका प्राविधिक ज्ञानमार्फत सहरहरूको विकास गर्ने नीतिमा कांग्रेसले अगाडि बढ्नुपर्दछ । गणतन्त्रपछि मौलाएका भीमकाय विशाल भवनहरूलाई महानगरको पहिचान बनाउनुहुँदैन । प्राचीन देश नेपाल विश्वको शिर हो भनेर चिनाउन पनि नयाँ बन्ने सहरहरू मौलिक डिजाइनको र पूर्ण रूपमा पूर्वीय सनातन सभ्यताका प्रविधिसँग गाँसेर निर्माण गर्नुपर्दछ ।
प्रतिक्रिया