देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मृर्गौला प्रत्यारोपणपछि सगरमाथा विजय: पेम्बा शेर्पाको साहसिक यात्रामा एनसेल फाउन्डेसनको साथ

देशान्तर

मृर्गौला प्रत्यारोपण गरेका पेम्बा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। उनी मृर्गौला प्रत्यारोपणपछि सगरमाथा चढ्ने पहिलो व्यक्ति बनेका छन्।

यो उपलब्धि साहस, दृढ संकल्प र मानवीय सम्भावनाको प्रतीक हो, जसले असम्भव भनिएका सपनाहरू पूरा गर्न सकिन्छ भन्ने सन्देश विश्वभर फैलाएको छ। पेम्बाले वैशाख ३१ गते बिहान सगरमाथाको शिखरमा पाइला राखेका थिए।

पेम्बाको यो साहसिक यात्रामा एनसेल फाउन्डेसनले महत्त्वपूर्ण सहयोग प्रदान गरेको छ। फाउन्डेसनले उनको उपलब्धिलाई सम्मान गर्दै यो यात्राले शारीरिक चुनौती सामना गरिरहेकाहरूलाई प्रेरणा प्रदान गरेको र जलवायु परिवर्तनका कारण संकटमा परेका हिमालहरूको संरक्षणका लागि जनचेतना फैलाएको बताएको छ।

पेम्बा शेर्पाले आफ्नो अनुभव साझा गर्दै भने, “यस यात्रामा मैले विश्वभरका ८५ करोडभन्दा बढी मिर्गौला रोगीहरूको आशा बोकेर सगरमाथाको चुचुरोमा पाइला राखें। यो यात्रा हाम्रा हिमालहरू जोगाउनको लागि पनि सन्देश थियो। मेरो सपनालाई एनसेल फाउन्डेसनले विश्वास गरेर सम्भव बनायो।”

एनसेल फाउन्डेसनकी निर्देशक विशाखा लक्ष्मी खड्काले पेम्बाको साहस र प्रतिबद्धताको प्रशंसा गर्दै यो यात्राले विश्वव्यापी जलवायु मुद्दालाई पनि उजागर गरेको बताइन्। उनले भनेकी छन्, “पेम्बाको यात्रा प्रेरणा, सहनशीलता र प्रतिबद्धताको कथा हो। हामी यसको सहयात्री हुन पाएकोमा गर्व गर्छौं।”

यो आरोहणले हिमालहरूको संरक्षण र पर्यावरणीय दिगोपनको महत्त्वलाई पनि जोड दिएको छ। एनसेल फाउन्डेसनले सामाजिक परिवर्तनका लागि स्वास्थ्य, शिक्षा र समावेशीकरणमा योगदान पुर्‍याउँदै आएको छ। हालसम्म २ अर्ब रुपैयाँभन्दा बढीको सामाजिक योगदानमार्फत १ करोड ३० लाखभन्दा बढी मानिसको जीवनमा सकारात्मक प्रभाव पारेको फाउन्डेसनले जनाएको छ।