देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पर्यटकीय गन्तव्य बन्दै ‘बीपी भ्यू पोइन्ट’

देशान्तर

बागलुङ । गर्मी बढेसँगै बागलुङ नगरपालिका–१ राखरेखास्थित बीपी भ्यू पोइन्टमा आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ ।

भिरालो जग्गामा ५१ लाख लगानीपश्चात् सुन्दर पार्क र भ्यू पोइन्ट निर्माण गरेपछि आन्तरिक पर्यटक गर्मी छल्न यहाँ आउने गरेका हुन् । मध्यपहाडी लोकमार्ग नजिकै रहेकाले पनि यो गन्तव्य पर्यटकको रोजाइमा परेको हो ।

बागलुङ बजारको छेउमा रहेकाले साँझको समयमा बाटिकामा रमाउने र भ्यू पोइन्ट अवलोकन गर्न आउनेको भीड लाग्ने गरेको बीपी पार्क निर्माण समितिका अध्यक्ष महेन्द्र आचार्यले जानकारी दिए । बजारको कोलाहल बिर्साउन पर्यटक आउने गरेको अधिकांशको भनाइ छ ।

पार्कमा फुलेका फूलले पर्यटकलाई मोहित बनाउने गरेको छ । पार्कमा दूबो रोपिएको छ भने सजावटका लागि फूल रोप्नुका साथै बस्नका लागि बिसौनी, चौतारा, मन्दिर तथा शौचालय निर्माण गरिएको छ ।

भ्यू पोइन्टबाट कालीगण्डकी नदी, निरयघाट र पर्वत जिल्लाको विभिन्न स्थान अवलोकन गर्न सकिन्छ । झाडीले भरिएको अव्यवस्थित खोँच अहिले पर्यटकीय गन्तव्य बनेको छ । गर्मीयाममा साँझपख पार्कमा मानिसको भीड नै लाग्छ ।

पार्कको पूर्वाधार निर्माणमा हालसम्म रु ५१ लाख ७६ हजार खर्च भइसकेको बीपी उद्यान समितिका अध्यक्ष आचार्यले जानकारी दिए । चालु आर्थिक वर्षमा बागलुङ नगरपालिकाद्वारा रु पाँच लाख बजेटमा भ्यू पोइन्ट थप व्यवस्थित गरिएको छ ।

रामरेखामा मध्यपहाडी लोकमार्गसँगै सहिदपार्क, मदन आश्रितपार्क, बीपी पार्क, मनिलाल भ्यू पोइन्ट र डिबी पार्क गरी पाँचवटा पार्क रहेका छन् ।