काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रको निम्ति कांग्रेस र माओवादीबीच ऐतिहासिक सम्बन्ध बनेको भन्दै शान्तिलाई दिगो बनाउनका लागि दुई दल मिलेर जानुको विकल्प नभएको बताएका छन् ।
‘राजनीति र अरु कुरामा आफ्ना–आफ्ना फरक मत र विचार भए पनि शान्ति सम्झौतालाई दिगो बनाउन हामी मिलेर जानुको विकल्प छैन,’ अध्यक्ष दाहालको भनाइ थियो ।
गोरखास्थित भीमसेन थापा गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै उनले नेपालमा वंशवादमा आधारित निरंकुश राजतन्त्र अब असम्भव भएको उल्लेख गरे । राजावादीले गर्न लागेको भनिएको आन्दोलनतर्फ लक्षित गर्दै २१औँ शताब्दीको युगमा निरंकुशतन्त्र र वंशवादलाई जनताले स्वीकार गर्न नसक्ने बताए ।
नेपाली जनताले युद्ध र आन्दोलनबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले फर्काउन नसक्ने अध्यक्ष दाहालको भनाइ छ । ‘राजावादी आन्दोलनका नाममा तीनकुने घटनापछि एउटा पात्र पछाडि राखेर फेरि अर्को पात्र सिंगारपटार गरेर अगाडि ल्याउन खोजिएको छ,’ उनले भने, ‘यही १५ गतेदेखि फेरि आन्दोलनको कुरा गरिरहेका छन्, त्यो सफल त हुनेवाला छैन, तर पनि हामी सजग त हुनुपर्छ ।’
अध्यक्ष दाहालले जनतामा नैराश्य बढाउने काम नगर्न आफूहरूले सरकारलाई पनि निरन्तर खबरदारी गर्दै आएको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि नेपालमा गुणात्मक सुधार आएको उल्लेख गर्दै यसलाई थप सुदृढ गर्दै लैजानुपर्नेमा जोड दिए ।
प्रतिक्रिया