देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गणतन्त्र उत्सव कसैको विरोध लक्षित हैन : एमाले

देशान्तर

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले यही जेठ १५ गते मनाउन लागिएको गणतन्त्र उत्सव कसैको विरोध लक्षित नभएको बताएका छन् ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पार्टीका विभागका सदस्यहरुको विस्तारित भेलालाई सम्बोधन गर्दै उनले गणतन्त्र नेपाली जनताको सबैभन्दा ठूलो उत्सव भएकाले जनताको विजयका रूपमा मनाउन लागेको जानकारी दिए ।

‘जनताको बलिदानी संघर्षबाट प्राप्त लोकतन्त्र, गणतन्त्र जोगाउन जनताले यो दिन हाम्रो दिन हो भन्ने अनुभूति दिलाउन पनि एमालेले उत्सवका रुपमा झाँकीसहित मनाउन लागेको हो,’ उनले भने ।

महासचिव पोखरेलले गणतन्त्र–लोकतन्त्रको बारेमा विद्यालय तहको पाठ्यक्रममा राख्न आवश्यक रहेको बताए । उनले गणतन्त्रपछि जन्मिएका युवाले बलिदानीपूर्ण संघर्षबाट लोकतन्त्र–गणतन्त्र स्थापना भएको हो भन्ने जानकारी दिन पनि विद्यालय शिक्षामै लोकतन्त्र र गणतन्त्रबारे पढाउनुपर्ने आवश्यकता औँल्याए ।

राष्ट्रिय स्वाधीनता र रक्षाका लागि सबैभन्दा लड्ने पार्टी एमाले भएका कारण सबैभन्दा बढी प्रहार एमालेमाथि नियोजित ढंगले भइरहेको उनको भनाइ छ ।