काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते राजधानी काठमाडौँलाई एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएकोप्रति नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आपत्ति जनाएका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस्ता उत्तेजक अभिव्यक्ति नदिन सचेत गराएका छन् । प्रधानमन्त्रीले नागरिकलाई उत्तेजक बनाउने अभिव्यक्ति दिन नहुने थापाको भनाई थियो ।
आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले कसैले पनि उत्तेजनामा ल्याउने काम गर्न नपाइने बताए । ‘सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्ने कुरा कल्पना पनि गरिँदैन। त्यसैले जे जस्ता कुराहरू बाहिर सुनियो, त्यस्ता कुराहरू आइन्दा नदोहोरियोस्’, महामन्त्री थापाले भने ।
प्रधानमन्त्री ओलीले गोदावरीमा नेकपा (एमाले) वाग्मती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जेठ १५ गते राजधानी काठमाडौँलाई एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएका थिए ।
प्रतिक्रिया