काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकार र नेपाल शिक्षक महासंघबीच भएको नौबुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
आज प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक–२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमाथि छलफलमा सहभागी हुँदै उनले सहमतिमा कार्यान्वयन गराउन सरकार र राजनीतिक दलको प्रतिबद्धतासमेत रहेको बताए ।
मन्त्री पन्तले विधेयकलाई निष्कर्षमा पुर्याउनका लागि शिक्षक महासंघसँग छलफल चलिरहेकाले समितिसमक्ष एक हप्ताका लागि समय माग गरे । उनले शिक्षक महासंघसँग विधेयकका बारेमा छलफलमा नै रहेकाले चाँडै टुंग्याउने बताए ।
समिति सभापति अमरबहादुर थापाले विधेयकका सम्बन्धमा सम्बन्धित मन्त्रालयले दायित्व रहेकाले भताभुंग भएको शिक्षालाई सही दिशा निर्देश गर्न विधेयक जति सक्दो चाँडो ल्याउनुपर्नेमा जोड दिए ।
समितिका सदस्य महिन्द्र राय यादवले शिक्षकसँग भएको विगतको सम्झौताअनुसार नै विधेयक ल्याउनुपर्ने बताए ।
उनले निजी विद्यालयका विषयमा समितिको एउटै धारणा हुनुपर्नेमा जोड दिँदै शिक्षकको समस्या समाधान नगरे मुलुक गम्भीर समस्यामा पर्ने बताए ।
प्रतिक्रिया