देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महालक्ष्मी विकास बैंकको ३१औँ वार्षिकोत्सव: ३१ महिला उद्यमी सम्मानित

देशान्तर

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो ३१औँ वार्षिकोत्सवको अवसरमा देशभरका विभिन्न शाखा कार्यालयमार्फत महिला उद्यमीहरूलाई सम्मान गरेको छ। मिति २०८२/०२/०४ देखि २०८२/०२/१० सम्म महिनाव्यापी रूपमा आयोजित कार्यक्रममा ३१ जना महिला उद्यमीहरूलाई सम्मान गरिएको हो। वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति र लैङ्गिक समानताको प्रवर्द्धन गर्ने उद्देश्यले यो सम्मान गरिएको बैंकले जनाएको छ।

वार्षिकोत्सवको अवसरमा जेठ ६ गते देशभरका १० शाखा कार्यालय र केन्द्रीय कार्यालयमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमबाट ३२० पिन्ट रगत सङ्कलन गरिएको थियो। स्वास्थ्य क्षेत्रमा रगत व्यवस्थापनको चुनौतीलाई सहज बनाउने लक्ष्यले यो कार्यक्रम आयोजना गरिएको बैंकले बताएको छ।

यस्तै, जेठ ७ गते बैंकको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय र शाखाहरूमा कर्मचारीहरू स्थानीय भेषभूषामा उपस्थित भई सांस्कृतिक प्रहसन गरेका थिए। साथै, केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य र आँखा शिविर सञ्चालन गरिएको थियो। वित्तीय साक्षरता प्रवर्द्धन गर्न प्रभातफेरी कार्यक्रम पनि आयोजना गरिएको थियो, जसमा मोबाइल बैंकिङ, स्मार्ट क्यूआर, निक्षेप, कर्जा र विप्रेषणजस्ता बैंकिङ सेवाहरूसँग सम्बन्धित प्लेकार्डहरू प्रदर्शन गरिए।

बैंकले आफ्नो वार्षिकोत्सवको महत्त्वपूर्ण कार्यक्रमको रूपमा विगत तीन वर्षदेखि सञ्चालन गर्दै आएको महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२५, शृङ्खला ४ को आयोजना जेठ २१, २२, २३ र २४ गते २४ टिमको सहभागितामा गर्ने भएको छ।