काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका घटनामा कुनै संलग्नता नरहेको जनाएको छ ।
विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिरहेका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले यस्ता घटनामा कुनै पनि तहको संलग्नता नरहेको दाबी गरेको छ ।
‘कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट पार्दछौं,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले अध्यागमन कार्य सञ्चालनमा देखिएको समस्याको अनुसन्धान भइरहेको जनाउँदै सत्य विवरण सार्वजनिक हुनेसमेत बताएको छ ।अध्यागमन कार्यालयको कार्यविधि तथा व्यवस्थामा सुधारका लागि गृह प्रशासन सतर्क रूपमा सक्रिय रहेको छ र विभिन्न नीति तथा संस्थागत सुधार कार्यहरु अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
अध्यागमनको सेटिङमा मानव तस्करी, त्यसबाट दैनिक ५० लाखसम्म असुली र गृहमन्त्रीको सचिवालय नै त्यसको सेटिङमा संलग्न भएको बताइएको छ । यस प्रकरणमा गृहमन्त्रीको स्वकीय सचिवालयमा रहेका गणेश ओझादेखि जनक भट्टसम्मको नाम मुछिएको छ ।

प्रतिक्रिया