अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्नोलोजी कम्पनी एप्पललाई फेरि धम्की दिएका छन्। शुक्रबार उनले ट्रुथ सोशलमा एक पोस्टमार्फत खुल्ला चेतावनी दिँदै भने, “एप्पलले अमेरिकामा बिक्री हुने आईफोनहरू अमेरिकामै बनाउनुपर्छ, भारत वा अन्य कुनै देशमा होइन। यदि त्यसो नगरेमा एप्पलका उत्पादनहरूमाथि २५% कर (ट्यारिफ) लगाइनेछ।” उनले एपलका सीईओ टिम कुकलाई पहिल्यै यो कुरा बताइसकेको र भारतमा उत्पादन विस्तार नगर्न आग्रह गरेको उल्लेख गरे।
ट्रम्पको यो धम्कीपछि विश्लेषकहरूले आईफोनको मूल्यमा उल्लेखनीय वृद्धि हुने अनुमान गरेका छन्, जसले एप्पलको बिक्री र नाफालाई असर गर्न सक्छ। एपलसहित अमेजन, वालमार्टजस्ता ठूला कम्पनीहरू ट्रम्पको ट्यारिफ नीतिबाट उत्पन्न अनिश्चितता र मुद्रास्फीतिका कारण दबाबमा छन्। गत साता दोहामा भएको एक कार्यक्रममा ट्रम्पले टिम कुकसँग भारतमा उत्पादन नगर्न आग्रह गर्दै भनेका थिए, “मलाई भारतमा तपाईंको उत्पादनमा कुनै रुचि छैन। भारत विश्वमै सबैभन्दा धेरै ट्यारिफ लगाउने देशहरू मध्ये एक हो, त्यसैले त्यहाँ बिक्री गर्न गाह्रो छ।”
एप्पलले ट्रम्पको चीनमाथिको ट्यारिफ नीतिका कारण आफ्नो आपूर्ति शृङ्खला समायोजन गर्दै भारतमा आईफोन उत्पादन विस्तार गर्ने योजना बनाएको छ। कम्पनीले फक्सकन र विस्ट्रनजस्ता अनुबंधित निर्माताहरूमार्फत भारतमा आईफोन बनाउँदै आएको छ। यो प्रयासले भारतको इलेक्ट्रोनिक्स क्षेत्रमा विदेशी लगानी आकर्षित गर्न र आयातमा निर्भरता कम गर्ने लक्ष्यलाई समर्थन गर्छ। तर, ट्रम्पको पछिल्लो बयानले यी योजनाहरूमाथि संकट ल्याउन सक्छ।
यसअघिको एक प्रतिवेदनअनुसार, एप्पलले सन् २०२६ को अन्त्यसम्म अमेरिकामा बिक्री हुने ६ करोडभन्दा बढी आईफोन भारतमा उत्पादन गर्ने योजना बनाएको थियो। यसले भारतको ‘मेक इन इन्डिया’ पहललाई बलियो बनाउनुका साथै वैश्विक उत्पादन केन्द्रको रूपमा भारतको स्थिति मजबुत बनाउने अपेक्षा गरिएको थियो।
एप्पलले भारतमा उत्पादन दोब्बर बनाउने योजनासँगै बेंगलुरु, पुणे, दिल्ली-एनसीआर र मुम्बईमा चार नयाँ स्टोर खोलेर खुद्रा बिक्री विस्तार गर्ने लक्ष्य राखेको छ। कम्पनीले उत्पादन र खुद्रा क्षेत्रमा सयौं रोजगारी सिर्जना गर्ने योजना पनि बनाएको छ। हाल एप्पलले भारतमा ३,००० भन्दा बढी व्यक्तिलाई रोजगारी दिएको छ।
प्रतिक्रिया