देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए

देशान्तर

बागमती । हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग विस्तारको क्रम क्रमशः बढ्दै गएको छ । हालै त्यहाँ चारवटा नयाँ उद्योग थपिएका छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार गत वैशाखदेखि लक्की पोलि इन्डस्ट्रिजले प्लास्टिकका सामान र टोटल प्याकेजिङले प्लास्टिकको बोरा उत्पादन थालेका छन् ।

गत माघदेखि थ्रिस्टार ग्रुपले रंगिन तथा सादा कर्कटपाता र बाबा मेनिफ्याक्चरले टिनका बाकस बनाउन थालेका छन् ।

औद्योगिक क्षेत्रमा हाल १० वटा उद्योगका संरचना निर्माणाधीन छन् । तीमध्ये अधिकांशको निर्माण अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि बन्द रहेका ६ वटा उद्योगमध्ये सुप्रिम मेटल उद्योगले पनि फलामको काटी उत्पादन सुरु गरेको सूचना अधिकारी नेपालले बताए ।

विभिन्न कारणले बन्द रहेका अन्य पाँचवटा उद्योग सञ्चालनका लागि सञ्चालकसँग सम्पर्क समन्वय भइरहेको उनले बताए । उनका अनुसार बन्द रहेकामध्ये डाइनेीटी डिस्टिलरी, ग्रिन गोल्ड इन्टरनेसनल प्रालि, साउथ एसियन पोलिपाइप प्रालि र बानियाँ मल्टिप्रोडक्ट प्रालि पुनः सञ्चालनको तयारी भइरहेको सञ्चालकहरूबाट जानकारी प्राप्त भएको छ ।

अमेरिका सरकारको सहयोगमा २०२० साल मंसिर २० गते स्थापना भएको औद्योगिक क्षेत्रमा हाल एक सय ४६ उद्योग तथा प्रतिष्ठानले जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका छन् ।

कुल तीन हजार २२८ रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्रभित्रमा खाद्य उद्योग, युनाइटेड ब्रुअरी , गोर्खा ब्रुअरी कम्पनी, एसियन पेन्ट्स, पशु आहारा दाना उद्योग, कार्टुन उद्योग प्रमुख उद्योगका रूपमा सञ्चालनमा छन् ।

औद्योगिक क्षेत्रमा सरकारी स्वामित्वका हेटौँडा दुग्ध वितरण आयोजना, प्रदेश खाद्य तथा गुण नियन्त्रण कार्यालय, प्रदेश बीउबिजन कम्पनी, प्रदेश माटो परीक्षण कार्यालय, इलाका प्रहरी कार्यालय र नेपाल बैंक लिमिटेड सञ्चालनमा छन् ।

कुल जग्गा क्षेत्रफलमध्ये हाल भाडामा दिएको दुई हजार १७८ रोपनी, खाली जमिन २६ दशमलव ५२ रोपनी र युटिलिटी सेवाले ओगटेको सडक सञ्जाल, विद्युतीकरण, ढल निकासलगायत संरचना निर्माण क्षेत्रफल पाँच सय ९७ रोपनी रहेको छ । औद्योगिक क्षेत्रभित्र कार्यालयबाट निर्मित औद्योगिक भवन १०, गोदाम ११ र अन्य भवन ३४ वटा छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले औद्योगिक क्षेत्रहाताभित्रका उद्योग– प्रतिष्ठानका भवन, गोदाम, क्वार्टर र जग्गाबाट पनि बहाल संकलन गर्दैै आएको छ ।