काठमाडौं । काठमाडौँको गौशालास्थित पिङ्लास्थानमा एउटा बस अनियन्त्रित भई दुर्घटना हुँदा आठवटा सवारीसाधनमा क्षति पुगेको छ ।
आज बिहान गौशालाबाट तिलगंगातर्फ जाँदै गरेको बा५ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको सार्वजनिक बस काठमाडौं महानगरपालिका–८ पिङ्लास्थान नजिक सडकमा आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उक्त बससहित आठवटा सवारीसाधनमा क्षति भएको काठमाडौं प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार उक्त दुर्घटनामा बाबा गोकर्णेश्वर यातायातको बससहित एउटा हायस, तीन वटा कार, दुईवटा मोटरसाइकल र एउटा स्कुटरमा क्षति पुगेको छ ।
उक्त दुर्घटनामा धादिङ ज्वालामुखी गाउँपालिका–१ घर भई काठमाडौंको टोखा बस्ने ३२ वर्षीय राजकुमार श्रेष्ठ, नुवाकोट टाडी गाउँपालिका–२ भई हाल टोखा बस्ने २२ वर्षीय विकास कट्टेल र खोटाङ हलेसी टुवाचुङ नगरपालिका–५ घर भई हाल कोटेश्वर बस्ने ३७ वर्षीय शैलेन्द्र राई घाइते भएका उनले उल्लेख गरे ।
ब्रेक फेल भई अनियन्त्रित भएर पल्टिएको बा५ख ६७३५ नम्बरको सार्वजनिक बसका चालक भने फरार भएकाले निजको खोजी जारी रहेको बताउँदै प्रहरी उपरीक्षक बोहराले घटनाको विस्तृत रूपमा अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रतिक्रिया