रुकुमपश्चिम । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक गणतन्त्र धरापमा पार्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
माओवादी केन्द्रले सञ्चालन गरेको ‘जनतासँग माओवादी, मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’अन्तर्गत रुकुमपश्चिमको चौरजहारीमा भएको जनसभालाई सम्बोधन गर्दै उनले जनताको संघर्ष, त्याग, रगत र पसिनाको उपलब्धिको रुपमा रहेको गणतन्त्र रक्षाका लागि नयाँ क्रान्तिको अपिल गर्न रुकुम आएको उल्लेख गरे ।
माओवादीले सञ्चालन गरेको जनयुद्धताका पनि पार्टीभित्र अप्ठ्यारो पर्दा, विचारमा तीव्र मतभेद हुँदा रुकुम, रोल्पा, जाजरकोट, सल्यानका जनतासँग आउने गरेको स्मरण गर्दै उनले रुकुम क्रान्तिको केन्द्र र किल्ला भएकोले बेला बेला आउने गरेको बताए ।
संविधानको रक्षाको लागि माओवादी केन्द्रकै जिम्मेवारी रहेको र त्यो हिम्मत पनि माओवादी केन्द्रसँगै रहेको उनको भनाइ छ। उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरेर समाजवाद ल्याउन माओवादीले जनजागरण अभियान चलाएको जनाए ।
माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा रहेको उल्लेख गर्नुहुँदै अध्यक्ष प्रचण्डले जनताको पक्षमा गरेका राम्रा काम नै त्यसको उदाहरण भएको बताए ।
आफू प्रधानमन्त्री हुँदा समग्र कर्णालीको पक्षमा नयाँ र आकर्षक कार्यक्रम ल्याएको तर पछिल्लो सरकारले नीति तथा कार्यक्रममार्फत ती योजना हटाएको उनले जनाए । अध्यक्ष प्रचण्डले माओवादी सरकारले गरेका राम्रा काम हटाएर वर्तमान उत्पीडित वर्गमाथि अन्याय गरेको उल्लेख गरे ।
कार्यक्रममा उनले आफ्नो नेतृत्वको सरकारले नै मध्यपहाडका जनताको आर्थिक, सामाजिक विविधताको लागि र पहाडलाई तराईसँग जोड्न मध्यपहाडी राजमार्गको योजना अघि सारेको बताए ।
मध्यपहाडी राजमार्गको भेरी पुल लामो समयसम्म अलपत्र परेको उल्लेख गर्नुहुँदै सदनमा जोडदार आवार उठाउने उनले प्रतिबद्धता व्यक्त गरे ।
यसका साथै उनले नयाँ तथा नमुना सहर निर्माणलाई उच्च प्राथमिकता दिने, कृषिमा आधारित औद्योगिकरण स्थापना गर्ने, जडीबुटी प्रशोधन केन्द्र निर्माण गर्ने, जल, जमिन र वनमा आधारित उत्पादनलाई अगाडि बढाउने खालका कार्यक्रममा प्राथमिकता दिने बताए ।
प्रतिक्रिया