देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महामन्त्री थापाले भने – कांग्रेसका लागि सत्ता महत्त्वपूर्ण रहेनछ, देशकै ठूलो पार्टी बन्दा खै त उत्साह ?

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश बन्दैन भन्ने भाष्यलाई गलत सावित गर्न र युवा पुस्तामा टुटेको विश्वास पुनर्जागृत गराउन काम गर्नुको विकल्प नरहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित बीपी कोइरालाको जीवनकथामा आधारित रहेर लेखक शुभाष घिमिरेले लेखेको उपन्यास ‘सान्दाजु’ लोकार्पण समारोहमा उनले विश्वास जगाउने गरी कांग्रेसले नै काम गर्नुको विकल्प नरहेको बताए ।

महामन्त्री थापाले भने, ‘युवा विदेशिनु नौलो कुरा होइन, आउने जाने क्रम चलिरहन्छ, तर देश बन्दैन भन्ने भाष्य निर्माण भएर बाहिरिनु डरलाग्दो हुनसक्छ । त्यसैले अब सानातिना कुरामा अल्झिनुभन्दा पनि यो अफ्ठ्यारोबाट निकास दिन हामीले आफ्नो ठाउँबाट काम गर्नुपर्छ । हामीलाई भाग्ने सुविधा छैन, निकास दिनुको विकल्प अन्य कुनै बहाना हुनसक्दैन ।’

उनले कांग्रेस तीनै तहको सरकारमा रहेर पनि कार्यकर्तामा खुसीभन्दा बढी छटपटाहट र गुनासो रहेको उल्लेख गरे । ‘नेपाली कांग्रेसका लागि महत्त्वपूर्ण कुरा सत्ता वा शक्ति रहेनछ किनकि देशकै ठूलो पार्टी बन्दा खै त हामी उत्साहित भएको ? त्यसकारण अब राष्ट्रिय शक्ति बन्नुपर्छ । राष्ट्रिय शक्ति भनेको राष्ट्रको समस्या बुझ्ने, थाहा पाउने र त्यसलाई सम्बोधन गर्न सामथ्र्य राख्ने हुनुपर्छ,’ महामन्त्री थापाले भने ।

उनले बीपी कोइरालाको विषयमा धेरै पुस्तक आइसकेकाले नयाँ उपन्यास लेख्नु आफैँमा चुनौती रहेको भन्दै लेखक घिमिरेको प्रयासलाई धन्यवाद दिए ।

‘साहित्य जगत्मा बीपीबारे धेरै लेखिएका छन्, तर उहाँको जीवनकथालाई काल्पनिक पात्रसँग जोडेर उपन्यास तयार गर्नु चुनौतीपूर्ण नै थियो । पुस्तकले लोकतान्त्रिकसँगै अन्य विचार राख्नेलाई पनि विविध कुराहरू बारेमा जानकारी दिन्छ,’ थापाले भने ।

लेखक घिमिरेले साहित्यकार र मानवतावादी चिन्तकका रूपमा उपन्यासले बीपी कोइरालालाई चिन्ने बताए । ‘मैले साहित्यकार, राजनीतिज्ञलगायत विविध रूपमा परिचित बीपी कोइरालाको जीवनीबाट प्रेरित भएर उपन्यास लेखेको छु । आज यहाँ पाएको सुझाव र प्रशंसाले मलाई हौसला मिलेको छ,’ उनले भने ।

उक्त पुस्तक लोकार्पण समारोहको आयोजना ग्लोबल वुमन नेटवर्क र जय नेपाल इन्टरनेसनल फाउन्डेसनले गरेको थियो ।