देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चार सांसद चढेको कार डीएसपीले चलाएको कारसँग ठोक्किएर दुर्घटना

देशान्तर

विराटनगर । मोरङमा कोशी प्रदेशसभाका चारजना सदस्य (कोशी प्रदेशका सांसद)चढेको कार दुर्घटनामा परेको छ। उक्त कार नेपाल प्रहरीका डीएसपी (प्रहरी नायव उपरीक्षक)ले चलाएको कारसँग ठोक्किएर सोमबार दिउँसो दुर्घटना भएको हो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कानेपोखरी गाउँपालिका–७ मा दुईवटा कार एकआपसमा ठोक्किएर दुर्घटना भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार विराटनगरबाट झापातर्फ जाँदै गरेको तर्फ आउँदै गरेको बा ५ च ३५३० नम्बरको कार र झापाबाट विराटनगरतर्फ आउँदै गरेको बी एई १४०६ नम्बरको कार एकआपसमा ठोक्किएर दिउँसो २ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा कुनै मानवीय क्षति नभएको र सबै जना सकुशल रहेको जोशीले बताए । बी एई १४०६ नम्बरको कारमा कोशीका सांसदहरु मैयाँ श्रेष्ठ लावती, राधाकृष्ण खनाल, नम्बरलाल धिमाल र विद्या चाम्लिङ सवार थिए । प्रहरीका अनुसार प्रदेशसभाको नीति तथा कार्यक्रम सार्वजनिक हुने बैठकमा सहभागी हुन विराटनगर आउँदै गरेका बेला उनीहरु दुर्घटनामा परेका हुन् ।

पाँचथरकी लावती नेपाली कांग्रेस, झापाका धिमाल नेकपा (एमाले) र मोरङकी चाम्लिङ नेकपा (एकीकृत समाजवादी)का समानुपातिक सांसद हुन् । खनाल झापाको निर्वाचन क्षेत्र नम्बर ४ (क)बाट निर्वाचित एमाले सांसद हुन् । दुर्घटना भएका बेला उक्त कार झापाको दमक नगरपालिका–१ का ४० वर्षीय भेषराज श्रेष्ठले चलाएका थिए । सांसदहरु चढेको गाडी पाँचथरकी सांसद मैया श्रेष्ठ लावतीको रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बा ५ च ३५३० नम्बरको कार झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले चलाएका थिए । उनी विराटनगरस्थित घरबाट कार्यक्षेत्र झापा फर्किदै गरेका बेला दुर्घटना भएको हो ।

घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय पथरीबाट इन्स्पेक्टर खगेन्द्र एक्तेन नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । दुर्घटनामा परेर दुवै कारमा सामान्य क्षति पुगेको र घटनाको थप अनुसन्धान थालिएको डीएसपी जोशीले बताए ।

दुर्घटना परेकी सांसद चाम्लिङले नीति तथा कार्यक्रम सार्वजनिक हुने प्रदेशसभा बैठकमा सहभागी हुन आउने क्रममा दुर्घटनामा परेको बताइन् । दुर्घटनामा परेर शरीर केही दुखेजस्तो महसुस भएकाले अस्पताल जाने तयारीमा रहेको र प्रदेशसभा बैठकमा सहभागी हुन नसकेको उनको भनाइ छ । चाम्लिङले पश्चिमबाट आउँदै गरेको कारसँग ठोक्किएर सांसदहरु चढेको कार सडकमा पल्टिएको जानकारी दिए ।