काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले जनतामा देखिएको निराशालाई चिरेर आशा र भरोसा दिलाउन दलहरूबीच राष्ट्रिय सहमतिको आवश्यकता औँल्याएका छन् । बैठकको विशेष समयमा उनले मुलुकका समस्या समाधानका लागि दलहरूका बीचमा राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्न ढिला भइसकेको बताए ।
“जनतामा आशा र भरोसा तथा नयाँ सोच र सम्भावना सिर्जना गर्न सकिएको छैन, अब यथाशीघ्र सहमति गरेर अघि बढ्नुपर्छ । एक पटक शीर्षस्थ नेताहरूले छलफल गर्नुस्, मुलुकले एउटा राष्ट्रिय सहमति गर्नुपर्ने आवश्यकता मैले देखेको छु”, सांसद गौतमले भने, “राष्ट्रिय सहमति निर्माण गरेर संविधान संशोधनमार्फत जनतामा आशा र भरोसा दिलाउँदै मुलुकलाई निश्चित दूरीसम्म सँगै हिँडाउन सक्यौँ भने गन्तव्यमा पुगौँला, होइन भने हामीले ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्था खतरामा पर्न सक्छ ।” उनले यसतर्फ सम्पूर्ण राजनीतिक नेतृत्व र सांसदलाई गम्भीर हुन आग्रह गर्नुभयो ।
कांग्रेस र एमाले मिलेर गठन भएको वर्तमान सरकारले जनतामा पूर्णरूपमा आशा जगाउन नसकेको टिप्पणी गर्दै सांसद गौतमले भने, “दुई ठूला दलको सरकार बनेको छ । यो सरकारको नेतृत्वमा सबै दललाई एकै ठाउमा उभ्याएर सहमति जुटाउने पहल गर्नु जरुरी छ ।”
प्रतिक्रिया