काठमाडौं । बढुवा भए भावी संगठन प्रमुख बन्नसक्ने बलियो आधार र बढुवा नभए डीआईजीबाटै अवकाशमा जानुपर्ने अवस्थाका कारण सशस्त्र प्रहरीमा रिक्त एकजना अतिरिक्त महानिरीक्षक (एआईजी)का लागि डीआईजीहरूको दौडधूप जारी छ ।
३० वर्षे सेवा अवधिका कारण एआईजी चन्द्रप्रकाश गौतम वैशाख २ देखि अनिवार्य अवकाशमा गएसँगै सशस्त्रमा एआईजी पद रिक्त भएको हो । एआईजीमा बढुवाका लागि हालका डीआईजी कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, कलिदास धौवजी, कुमार न्यौपाने, लक्ष्मणबहादुर सिंह, प्रदीपकुमार पाल, अञ्जनीकुमार पोखरेल, सुरेश श्रेष्ठ लगायत सि.सं. १ का डीआईजीहरू लागिपरेका छन् । डीआईजीहरू गिरी र ठाडामगर ३ असार २०५६ मा प्रहरी निरीक्षकमा प्रवेश गरी सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए भने नेम्वाङ भने उनीहरूपछिको वैकल्पिक सूचीमा थिए । सुवेदी वर्तमान आईजीपी राजु अर्याल, एआईजीद्वय नारायणदत्त पौडेल र वंशीराज दाहालका ब्याची हुन् ।
वैशाख १४ मा सशस्त्र प्रहरीको मानव स्रोत विभागले एक सूचना निकाल्दै सात दिनभित्र बढुवाको योग्यता पूरा भएका उम्मेदवारले फारम भर्न भनेको थियो । फारम भर्ने सात दिनको म्याद सकिएकाले अब बढुवा चाँडै निकाल्ने तयारी भईरहेको छ । एआईजी बढुवा सिफारिस समितिमा गृहसचिवको अध्यक्षतामा रहेको समितिले सिफारिस गरेपछि मन्त्रिपरिषद् बैठकले एआईजी बढुवा गर्ने प्रावधान रहेको छ ।
अहिलेको सशस्त्र प्रहरी नियमावलीअनुसार आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर आईजी राजु अर्याल १७ वैशाख २०८३ देखि अनिवार्य अवकाशमा जानेछन् । त्यसपछि हाल एआईजी रहेका नारायणदत्त पौडेल, वंशीराज दाहालमध्येबाट एकजना आईजी बन्नेछन् ।
उनीहरू पनि ३० वर्षे सेवा अवधिका कारण १७ चैत २०८४ मा अनिवार्य अवकाश पाउने र त्यसपछि भने अहिले एआईजीमा बढुवा हुने व्यक्ति सबैभन्दा सिनियर एआईजी हुने भएकाले आईजी बन्ने सम्भावना रहेकाले अहिले एआईजी बढुवा निकै पेचिलो बन्न पुगेको छ ।
नेपाल प्रहरीको हालै भएको एआईजीको बढुवा सिफारिसमा पनि वरिष्ठतालाई आधार मानिएकाले सशस्त्र प्रहरीमा पनि वरिष्ठतालाई नै आधार मानिने सम्भावना धेरै रहेको समाचारस्रोतले जनाएको छ ।
प्रतिक्रिया