लामो समयदेखि लोडसेडिङको समस्याबाट मुक्त भएको नेपालमा केही दिनयता बत्ती झ्याप्प–झ्याप्प जाँदा सर्वसाधारणमा चिन्ता र आक्रोश बढाएको छ ।
बिहीबार साँझ काठमाडौंलगायत देशका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुँदा सामाजिक सञ्जालमा लोडसेडिङ फर्कियो भन्ने हल्ला नै चल्यो भने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बिहीबार साँझको विद्युत् अवरुद्धताको कारणबारे प्रस्टीकरण नै दिए ।
उनले भने, ‘बिहीबार साँझ ढल्केवर–मुजफ्फरपुर ४०० केभी डबल सर्किट लाइनमा हावाहुरीका कारण एकैचोटि दुवै सर्किटमा समस्या आयो । यो लाइनबाट नेपालमा आउने विद्युत् अवरुद्ध भयो,’ उनले थपे, ‘हामीले तत्काल नेपालभित्रकै स्रोतबाट विद्युत् आपूर्ति गर्ने प्रयास गर्यौँ, तर साँझको समयमा माग उच्च हुने भएकाले पूर्ण आपूर्ति सम्भव भएन ।’
प्राधिकरणले रक्सौल–परवानीपुर, मैनैया–सम्पतिया र कुशहवा–कटैया १३२ केभी लाइनबाट केही विद्युत् आपूर्तिको प्रयास गरेको थियो । तर, मागभन्दा उत्पादन कम हुँदा ट्रिपिङ भई विद्युत् अवरुद्ध भएको शाक्यले बताए । ‘यो लोडसेडिङ होइन, मौसम र प्राविधिक समस्याका कारण भएको हो,’ उनले जोड दिए ।
सामाजिक सञ्जालमा भने लोडसेडिङ फर्किएको भन्दै आलोचना सुरु भएको छ । कतिपयले पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्झिँदै शाक्यको आलोचना गरेका छन् । इन्भर्टर र मैनबत्ती निकाल्नुपर्ने अवस्था आएको भन्दै सर्वसाधारणले गुनासो गरेका छन् । तर, शाक्यले यस्ता हल्लालाई अफवाह भन्दै लोडसेडिङ नफर्किने प्रस्ट पारे ।
उनले दीर्घकालीन समाधानका लागि प्राधिकरण प्रतिबद्ध रहेको बताए । ‘विद्युत् प्रणालीमा देखिएका समस्यालाई समाधान गर्न हामीले दीर्घकालीन योजना बनाएर काम गरिरहेका छौँ । आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन हामी प्रयासरत छौँ,’ शाक्यले भने ।
यद्यपि, बारम्बारको विद्युत् अवरोधले सर्वसाधारणमा भने अन्योल कायमै छ । गर्मी मौसममा बत्ती जाँदा दैनिक जीवन प्रभावित भएको भन्दै नागरिकले स्थायी समाधानको माग गरेका छन् ।
प्रतिक्रिया