देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘वाम एकता सम्भव छैन’

देशान्तर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी एकताका लागि सही विचारको आधार अनिवार्य रहेको बताएका छन् । सही विचारविना धेरैतिर फर्किएकाहरूलाई एकतामा ल्याउन नसकिने उनको भनाइ छ । जननेता मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको ३२औँ स्मृति दिवसका अवसरमा हिजो शनिबार काठमाडौंको मदननगर, बल्खुमा आयोजित कार्यक्रममा ओलीले एकताको नाममा मात्र एकता नभई सही विचारमा सहमति कायम गरी अन्यलाई पार्टीमा समाहित गर्नुपर्ने नीति लिनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीको यो भनाइले वामपन्थी एकताको सम्भावना सही विचारको अभावमा कठिन रहेको संकेत गर्ने एक वामविश्लेषकले देशान्तरलाई बताए । जबजको वैचारिक आधारमा एमालेले आफूलाई लोकतान्त्रिक र जनमुखी शक्तिका रूपमा स्थापित गरे पनि, कम्युनिस्ट आन्दोलनभित्रको व्यक्तिगत स्वार्थ र विग्रहवादी प्रवृत्तिले एकताको सम्भावनालाई कमजोर बनाएको ती विश्लेषकको बुझाई छ ।

प्रधानमन्त्री ओलीले कम्युनिस्ट आन्दोलनमा इतिहासदेखि नै वैचारिक भिन्नताभन्दा व्यक्तिगत स्वार्थ र बखेडाले विभाजन निम्त्याएको उल्लेख गरे । ‘सही कुरालाई पनि विरोध गरेर बखेडा निकाल्ने प्रवृत्ति कम्युनिस्ट आन्दोलनमा देखा पर्‍यो । खास वैचारिक भिन्नता नभए पनि व्यक्तिगत स्वार्थका आधारमा दुई लाइनको कुस्ती चलाइयो । पार्टी विभाजन गरेर नामका लागि एकीकृत राख्ने प्रवृत्ति पनि छ,’ उनले भने । यस्ता प्रवृत्तिका बाबजुद एमाले सही धारमा अघि बढिरहेको उनको दाबी छ ।

ओलीले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)ले कम्युनिस्टहरू निरंकुश हुन्छन् भन्ने आरोपलाई खण्डन गरेको बताए । ‘जबजले राजनीतिक लोकतन्त्र मात्र होइन, आर्थिक, सामाजिक र मानव अधिकारका प्रश्नमा पनि राष्ट्रिय नीतिका रूपमा स्थापित भएको छ । यसै जगमा हामीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा अघि सारेका छौँ,’ उनले भने । जबजको वैचारिक नेतृत्वमा एमालेले दुईतिहाइ बहुमतसम्मको लोकप्रियता हासिल गरेको उनले स्मरण गरे ।

प्रधानमन्त्री ओलीले एमालेले सधैँ जनतालाई शक्तिको स्रोत मानेर जनताको शासन कायम गर्न खोजेको बताए । देशभक्ति, राष्ट्रिय स्वाधीनता र अखण्डताको मार्गबाट एमाले कहिल्यै नविचलित नभएको उनको भनाइ छ । उनले एमालेको नेतृत्वमा सरकार रहेकाले राजतन्त्र फर्काउने प्रतिगामी प्रयास असम्भव र अस्वीकार्य भएको स्पष्ट पारे । साथै, एमालेमाथि षड्यन्त्र गर्ने तत्वहरूले बदनाम गरेर पार्टी ढाल्ने प्रयास गरे पनि एमाले हरेक चुनौती सामना गर्न तयार रहेको भन्दै कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे ।

विश्वमा दक्षिणपन्थ, जातीयता र अराजकतावादका कारण कम्युनिस्ट आन्दोलनमा क्षति पुगेको उल्लेख गर्दै ओलीले एमालेले यस्ता कमजोरीबाट जोगिँदै विविधतालाई सांस्कृतिक समृद्धिका रूपमा स्वीकार गरेको बताए । ‘हामीले एकता र शान्तिपूर्ण प्रतिस्पर्धाको बाटो लिएका छौँ । अग्रगतिका लागि निस्क्रिय कामना होइन, सक्रिय हस्तक्षेपको नीति लिएका छौँ,’ उनले भने ।

ओलीले विगतमा आफ्नो नेतृत्वको सरकार सञ्चालनका क्रममा पार्टीभित्रैका विग्रहवादी तत्वहरूले सरकार ढाल्ने र अदालतको आदेशबाट सरकार गठन गराउने गलत अभ्यास गरेको टिप्पणी गरे । यस्ता गतिविधिले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाएको उनको भनाइ छ ।

जननेता मदन भण्डारीलाई कम्युनिस्ट आन्दोलनको रणनीतिकार र नीतिकारका रूपमा स्मरण गर्दै ओलीले विश्वमा कम्युनिस्ट आन्दोलन धराशयी हुँदा पनि जबजको वैचारिक अगुवाइमा एमालेलाई लोकप्रिय बनाएको दाबी गरे । ‘मदन भण्डारीले कम्युनिस्ट आन्दोलनलाई समयानुकूल बनाए । उनको नेतृत्वमा पार्टीले ऐतिहासिक उचाइ हासिल गर्‍यो,’ उनले भने ।