डा. राजु अधिकारी
क्रम विकासको सिद्धान्तले भन्छ– मानिस बाँदरहरूको प्रजातिबाट विकसित हुँदै आजसम्म आइपुगेको हो । यो सिद्धान्तमा मेरो कुनै शंका छैन तर मानिसले अझै पूर्णरूपमा बाँदरबाट आफूलाई अलग्याउन सकेको छैन ।
हामीले बाँदरका पुच्छर त्याग्यौँ, बाँदरका शरीरका भुत्ला मिल्कायौँ, चार खुट्टाको साटो दुई खुट्टा टेकेर हिँड्ने भयौँ, हाम्रो दिमागको आकार बढ्यो, चेतना पलायो । तर अझै पनि हाम्रा बाँदर स्वभावहरू पूर्णरूपले गइसकेका छैनन् । मानिसमा अझैसम्म पनि कैयौँ बाँदर स्वभावहरू अन्तर्निहित छन् ।
बाँदर हेर्दा लगभग मान्छे जस्तै देखिन्छ । मानिसका जस्तै हर्कत गर्छ । तर ऊ उद्दण्ड हुन्छ । कुनै नियम मान्दैन ।
प्रसंग हो नेपाली भाषा लेखनको । तल मैले चार वटा उदाहरणहरू प्रस्तुत गरेको छु ।
१. जनयुद्ध सुरू भएपछि…
२. अरुहरुले पनि यसै भन्थे ।
३. घरमा अरू कोही थिएन।
४. उनीहरूले माग गरेका छन्।
पहिलो र दोस्रो वाक्यांश चर्चित प्रकाशन गृहबाट प्रकाशित एक चर्चित लेखकको चर्चित पुस्तकको हो ।
तेस्रो वाक्यांश मैले एउटा नाम चलेको अनलाइन पत्रिकाबाट लिएको हुँ ।
चौथो चाहिँ एउटा प्रख्यात पत्रिकाबाट लिएको वाक्यांश हो ।
यसमा तपाईंहरूले के ठीक के बेठीक देख्नु भयो, त्यो पक्कै पनि आफैँ पत्ता लगाउन सक्षम हुनुहुन्छ । तैपनि भनिहालौँ– यहाँ ‘शुरु/सुरु’ लाई ‘सुरू’ लेखिएको छ । कसैले ‘अरू’ र ‘हरू’लाई ‘अरु’ र ‘हरु’ लेखेका छन् भने कसैले वाक्यको अन्तिममा पूर्णविराम एक स्थान छोडेर राखेका छन् कसैले नछोडेर राखेका छन् । यी त दुई उदाहरण मात्र हुन्, यस्ता अशुद्ध लेखनका उदाहरणहरू एक दुई हैन, सय दुई सय पनि हैन, खोज्दै जाने हो भने हजारौँ भेटिन सक्छन् ।
भाषाको शुद्धता जस्तो गम्भीर विषयमा ठूला भनिएका प्रकाशन गृह र प्रमुख सञ्चार माध्यमहरू कसरी यसरी असंवेदनशील बन्न सकेका होलान् ? मैले बुझ्न सकेको छैन । के जसले जे लेखे पनि हुने हो ? जसरी लेखे पनि हुने हो ? भाषाको शुद्धताप्रति उनीहरूको सम्मान र दायित्व हुनुपर्दैन ? यो लेखको मूल प्रश्न यही हो ।
कुरा सुन्दा यो सामान्य लाग्न सक्ला तर यहाँ उठाइएका विषय निकै गम्भीर विषय हुन् । किनभने उनीहरूले त्यसरी लेख्नुमा गल्तीले काम गरेको छैन, नियतले काम गरेको छ । यति ठूला र चर्चित प्रकाशक र सञ्चार गृहहरूलाई ‘शुद्ध कसरी लेख्ने ?’ भन्ने जानकारी छैन भन्नेमा मलाई विश्वास लाग्दैन । जानी जानी उनीहरूले त्यसरी लेखेका हुन् । प्रस्ट देखिन्छ– उनीहरूले त्यसलाई नै आफ्नो मापदण्ड बनाएका छन्, र त्यसलाई प्रोत्साहन गरिरहेका छन् ।
उनीहरूले लेखे जसरी लेख्नु ठीक हो या बेठीक भनेर निक्र्यौल गर्न म कुनै आधिकारिक निकाय हैन । मलाई पनि शतप्रतिशत शुद्ध लेखनको ज्ञान छैन । मैले नेपाली शुद्ध लेखनको मानक पनि अध्ययन गरेको छैन । शतप्रतिशत शुद्ध लेख्नु असम्भव नभए पनि निकै कठीन कुरा हो । नेपाली जस्तै अन्य भाषामा पनि त्यस्तै हो । तर लगातारको मिहिनेतले लेखनमा शुद्धता आउँछ । मेरा पहिलेका लेखहरू निकै अशुद्ध हुन्थे, विस्तारै कम हुँदै गएका छन् । यही लेखमा पनि केही गल्ती हुन सक्लान् । आफूले विगतमा पढेका पुस्तकको अनुभव, अधिकांश लेखकहरूको लेखन र अन्य जानकारीका आधारमा मैले बुझे अनुसार वाक्यको अन्त्यमा एक स्थान छोडेर पूर्णविराम (प्रश्न वाचक चिह्न, या विस्मयादिबोधक चिह्न) राख्नुपर्छ भने ‘अरू’ र ‘हरू’ सधैँ दीर्घ नै लेखिन्छन् ।

नेपाली भाषा कसरी लेख्ने भन्ने केही न केही नियम, मापदण्ड, मानक पक्कै होला । अद्यावधिक होला नहोला त्यो अर्को कुरा भयो तर कतै न कतै पक्कै होला । तर माथि उल्लिखित उदाहरणका प्रकाशन र सञ्चार गृहहरूले मात्र हैन नेपालमा धेरैले त्यो ‘नियम’को पालना गरेको भान हुँदैन ।
कुनै समय नेपाली भाषालाई सरल र सहज बनाउने भन्ने लहडले गर्दा मोटो ‘श’लाई नामेट जस्तै पार्ने अभियान नै चल्यो । ‘शहीद’ ‘सहिद’ भयो, दशैँलाई दशा लाग्यो । ‘शुरु’ र ‘सुरु’को कुरा पनि त्यहीँबाट उत्पन्न भएको हो । त्यसले गर्दा भाषामा अभूतपूर्व विकृति ल्यायो । धेरै लामो प्रयासपछि अदालतले नै फैसला गरेर त्यसलाई गलत साबित गरेपछि पुनः पहिलेकै भाषिक शुद्धतामा नेपाली भाषा फर्कन पाउने भएको छ । तर त्यसले नेपाली भाषामा अपूरणीय क्षति पुर्यायो । पहिले विकृत भइसकेका र त्यही अनुसार शिक्षा प्राप्त गरेका विद्यार्थीले लेख्ने भाषामा पूर्ण शुद्धता ल्याउन अत्यन्तै कठिन काम हो । त्यसको लागि एउटा पुस्ता नै खेर जानेछ तर विस्तारै हुँदै जाला ।
त्यो त भाषाविद्हरूले गरेको गल्तीको सजाय भयो, तर अहिलेको प्रसंग अलि फरक हो – जसले जे लेख्दा पनि किन कसैले त्यसमा प्रश्न उठाउँदैन ? या, प्रश्न उठाए पनि किन कसैको ध्यान जाँदैन ? भाषा नियमन गर्ने जिम्मा पाएका निकाय र व्यक्तिहरू किन चुप छन् ?
यदि अहिले नै यसलाई नियन्त्रण गरिएन भने अशुद्ध हुँदै गइरहेको नेपाली भाषाको शुद्धतामा झन् पछि झन् ठूलो संकट आउने निश्चित छ ।
हुन त भाषा भनेको निरन्तर परिवर्तन हुँदै जानेको कुरा हो; सय वर्ष पहिलेको नेपाली भाषाको कथ्य र लेख्य दुवैमा अहिलेको भन्दा निकै भिन्नता पाइन्छ । तर अहिलेको समय सय वर्ष पहिलेको जस्तो हैन । त्यो बेला यातायात र सूचनाको प्रवाहमा समस्या थियो, अहिले सर्वत्र सूचनाको पहुँच छ यातायात सहज बनेको छ । त्यसैले भाषामा एकरूपता ल्याउन पनि पहिलेभन्दा धेरै सजिलो छ । त्यति हुँदाहुँदै पनि कथ्य भाषा (अर्थात् बोलिने भाषा) लाई नियन्त्रण गर्न अलि कठीन नै हुन्छ । यसको परिवर्तन छिटो हुन्छ, र यसलाई हाम्रो प्रत्यक्ष नियन्त्रणभन्दा बाहिरका अन्य तत्त्व र परिस्थितिहरूले असर गरेका हुन्छन् । कथ्य भाषामा अनावश्यक नियन्त्रण गर्नु त्यति ठीक पनि हुँदैन । तर लेखनको कुरा फरक हो । लेखनमा शुद्धता हुनु अत्यन्तै जरुरी छ । लेखनमा एकरूपता र शुद्धता कायम गर्न सजिलो पनि हुन्छ र आवश्यक पनि छ । कथ्य भाषामा आएको परिवर्तन अनुसार लेख्यमा बिस्तारै परिवर्तन गर्न सकिन्छ, त्यो प्रक्रिया आफैँ हुँदै जाने प्रक्रिया हो तर जसले जसरी चाह्यो त्यसरी नै लेख्ने कार्यलाई भने नियमन गर्नै पर्छ । भाषा भनेको विचार र भावना साट्ने माध्यम मात्र हैन । यो हाम्रो संस्कृति हो, हाम्रो इतिहास हो र भावी पुस्ताका लागि इतिहास बुझ्न सघाउने माध्यम पनि हो । त्यसैले यसलाई नियमन गर्नु अत्यन्तै अनिवार्य हुन जान्छ ।
आख्यान लेखनमा स्थानीय लवजका संवाद राख्दा त्यति ठूलो समस्या नहोला । यसले स्थानीय लवजको प्रवर्धन गर्दै लेखनलाई सुन्दर बनाउँछ तर औपचारिक लेखनमा र विशेष गरी समाचार, निबन्ध, विज्ञान, इतिहास जस्ता महत्त्वपूर्ण दस्तावेजमा तथा अन्य गैरआख्यानमा भाषालाई शुद्ध नलेख्नु भनेको भाषाको इज्जत नगर्नु र भावी पुस्ताप्रति अनुत्तरदायी हुनु हो ।
अहिले सबै क्षेत्रमा प्रविधिको असर छ । भाषा र लेखनमा पनि त्यसको असर नहुने कुरा भएन । एकातिर प्रविधिले भाषाको विकास र प्रवर्धनमा निकै प्रभावकारी भूमिका खेलेको छ भने त्यसलाई सदुपयोग गर्न नजान्दा या दुरुपयोग गर्दा यसले भाषा शुद्धतामा निकै ठूलो चुनौती पनि थपिदिएको छ । अहिले वर्षाका च्याउभन्दा पनि छिटो गतिमा खुलेका अनगिन्ती अनलाइन पत्रिकाहरूले नेपाली भाषाको शुद्धताको हुर्मत लिइरहेका छन् । अज्ञानतवाश या अन्जानमा गरिएका गल्तीलाई क्षम्य मान्न सकिएका तर जानी जानी गरेको गल्ती अपराध हो, अक्षम्य हो । ठूला र नाम चलेका प्रकाशन गृह र सञ्चार गृहहरूबाट नै जानी जानी भाषाको हुर्मत लिनु निन्दनीय कुरो हो । नेपाली शुद्ध लेख्दा उनीहरूको के बिग्रने हो या उनीहरूले आफ्नो नयाँ मानक बनाएर के हासिल गर्न खोजेका हुन्, मैले बुझ्न सकेको छैन ।
पहिले जस्तो भए छापाखानामा सबै तयारी भइसक्यो, अब परिवर्तन गर्न मिल्दैन भन्न सकिन्थ्यो तर त्यो बहाना बनाउने अवस्था छैन । सूचना प्रविधिको जमाना छ, कुनै अतिरिक्त प्रयास नगरी नै जस्तो लेख्न चाह्यो उस्तै लेख्न सकिन्छ । शुद्ध लेख्न पनि प्रविधिले धेरै सहयोग गरेको छ । तर पनि उनीहरूले शुद्ध लेख्न नचाहनुमा के कारण हुन सक्छ ?
अशुद्ध र जथाभावी लेखनमा हाम्रो भाषालाई नियमन गर्ने निकाय अत्यन्त कमजोर र गैरजिम्मेवार हुनु मूल कारक हो भन्नुमा अत्युक्ति हुने छैन । नियमन गर्न चाहेमा यसलाई नियमन गर्न कुनै कठिनाइ छैन । प्रविधिकै सहायतामा यसलाई सजिलै नियमन गर्न सकिन्छ ।
प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा लेखनको मापदण्ड पक्कै पनि बनाएको होला । यदि छैन भने भाषा क्षेत्रका व्यक्ति र संस्थाहरू मिलेर प्रज्ञा प्रतिष्ठानले एउटा मापदण्ड सजिलै बनाउन सक्छ । त्यसपछि औपचारिक सूचना निकालेर नेपालभित्र र बाहिरबाट निस्कने नेपाली भाषाका पत्रिका, पुस्तक तथा अन्य सामग्रीहरूमा त्यही मापदण्ड अनुसार भाषा प्रयोगको लागि आग्रह गर्न सकिन्छ । नेपाल बाहिरबाट निस्कने सामग्रीको हकमा नियमन गर्न अलिकति समस्या हुन सक्ला तर नेपालमा दर्ता भएका र नेपालबाट निस्कने सामग्रीलाई नियमको परिधिमा ल्याउन कत्ति पनि समस्या छैन । नेपालमा दर्ता भएका त्यस्ता हरेक संस्थालाई विद्युतीय माध्यमबाट नेपाली शुद्ध लेखनको अनिवार्य सहमति पत्रमा सही गर्न लगाउने; सहमत नहुनेहरूको दर्ता खारेज गर्ने या नवीकरण नगर्ने गरी उनीहरूलाई नियममा ल्याउन सकिन्छ । सुधारका लागि केही महीनाको समयसीमा तोकेर नियम पालन गरे नगरेको अनुगमन गर्न शुरू गरेमा यसले नतिजा दिन थाल्नेछ । पहिलोपटक गल्ती गर्नेलाई सजग गराउने, दोस्रो पटक सोही गल्ती गर्नेलाई चेतावनी, तेस्रो पटक जरिबाना अनि चौथो पटक दर्ता खारेज गर्ने नियम बनाएर यसलाई बिस्तारै सुधारको बाटोमा डोर्याउन सकिन्छ ।
सुधारको लागि सबैलाई अनुगमन गर्नु पर्दैन । त्यसो गर्न समय र स्रोत पनि हुँदैन । उद्देश्य जरिबाना हैन, सुधार हो । त्यसैले केही समयको अन्तरालमा ‘चिट्ठा’ प्रकृयाबाट छनौटमा परेकाहरूलाई मात्र जाँच गर्न सकिन्छ । सुधारका लागि पाठकहरू र अन्य भाषाप्रेमीहरूसँग पनि राय लिन सकिन्छ । त्यसको लागि एउटा सामान्य अनलाइन सुझाव र उजुरी ‘पोर्टल’ बनाउन सकिन्छ । यसको लागि न कुनै ठूलो लगानी लाग्छ, न कुनै विशेष प्रविधिको आवश्यकता पर्छ । अनलाइनबाट सुझाव दिने या उजुरी गर्नेले प्रमाणसहित कुन संस्थाले कहाँ गल्ती गरेको छ भनेर उजुरी दिन सक्नेछ । त्यसकै आधारमा उजुरी परेका संस्थालाई जाँच गर्न सकिन्छ । अधिकांश सामग्री अनलाइनमै हुने भएकाले स्थलगत अनुगमनको पनि आवश्यकता पर्दैन । त्यसैले यो प्रक्रिया सरल र छरितो र कुनै ठूलो खर्च बिना सजिलै गर्न सकिन्छ ।
यी त मेरा सुझाव मात्र भए । यस्ता सुझाव पहिले पनि आइसकेका हुन सक्छन् । पछि पनि आउलान् । तर कसले सुन्ने ? कसले कार्यान्वयन गर्ने ? सबभन्दा ठूलो समस्या त्यही हो । त्यसो त भाषाप्रेमीहरूले आ–आफ्नो तर्फबाट भाषा शुद्धिका लागि निरन्तर प्रयास गरिरहेका छन् तर व्यक्तिगत तवरमा गर्दा आधिकारिकता नहुने हुनाले त्यसले परिणाम दिन सक्दैन ।
त्यति हुँदाहुँदै पनि आफ्नो कर्तव्यबाट च्युत हुनु गैर जिम्मेवारीपन हो । अरूलाई नियम कानूनको सम्मान गर्न सिकाउनु पर्ने, आफू आदर्श बनेर देखाउनुपर्ने प्रकाशन गृह र सञ्चार माध्यमहरूले नै नियम नमानेपछि कसको पो के लाग्छ र ?
नियमको कुरा गर्दा एउटा चर्चित कथन छुटाउनु हुँदैन– नियमहरू भनेका तोड्नलाई बनेका हुन् । मलाई लाग्छ, यो कथन हामी नेपालीलाई सबभन्दा सुहाउँछ । हामीलाई नियम मान्न हैन हामीलाई त उद्दण्ड बनेर नियम तोड्नुमै आनन्द लाग्छ । भाषाको सन्दर्भमा अहिले भइरहेको पनि त्यही हो ।
र अन्त्यमा, कतै हामी बाँदर जस्तै उद्दण्ड बनेका त छैनौँ ? आफैँलाई सर्वेसर्वा मान्दै नियम नै नमान्ने अराजक त बनेका छैनौँ ? एक पटक सोचौँ अनि मानिस बन्ने प्रयास गरौँ ।
प्रतिक्रिया