डा. शेरबहादुर पुन
केही दिनअगाडि एक वयस्क महिला छोरालाई कुकुरले टोकेपछि हस्याङफस्याङ गर्दै अस्पताल आइपुग्नुभएको थियो । आफ्नो बच्चालाई कुकुरले टोकेको २४ घण्टा पुग्नै लागिसकेकाले रेबिज खोप तुरुन्त लगाउन उहाँले अनुरोध गर्नुभएको थियो । आत्तिनु स्वाभाविक पनि हो किनभने रेबिज एक प्राणघातक सरुवा रोग हो । नेपालमा यही भाइरसको कारणले मानिसहरूले मृत्युवरण गर्दै आइरहेका छन् । हाम्रो समुदायमा रेबिजबिरुद्धको खोप कुकुरले टोकेको २४ घण्टाभित्र लगाई सक्नुपर्छ वा जसरी पनि लगाउनुपर्छ भन्ने व्यापक मान्यता रहेको पाइन्छ । त्यसो भए के कुकुर वा कुनै शंकास्पद रेबिज लागेको/बहुला जनावरले टोकेमा २४ घण्टाभित्र नै रेबिज खोप लगाई सक्नुपर्ने हो त ?
कुकुर वा कुनै शंकास्पद बहुला जनावरले टोकेमा खासगरी रेबिज संक्रमणसँग सम्बन्धित चासो लिएर घाइते चिकित्सकको सम्पर्कमा आउने गर्दछन् र स्वास्थ्यकर्मी/चिकित्सकले पनि रेबिजसम्बन्धी परामर्श वा आवश्यक परे रेबिजविरुद्धको खोप दिने गर्दछन् । नेपालमा रेबिज लक्षण देखिएका कोही पनि बाँचेका/स्वस्थ भएको तथ्यांक छैन । लेखकको झन्डै साढे दुई दशकभन्दा बढीको अनुभवमा अधिकांश रेबिजबाट मृत्यु हुनेमा रेबिज संक्रमित कुकुरको टोकाइबाट भएको देखिएको छ । जंगली स्याल, बिरालोको टोकाइबाट पनि मृत्यु भएको छ । तर समग्रमा संक्रमित कुकुरको टोकाइबाट रेबिज लागेर बर्सेनि सयौँ नेपालीले हाल पनि मृत्युवरण गर्नु परेको वा गर्दै आइरहेको अवस्था देखिन्छ ।
जनावरको टोकाइमा बाँदरको टोकाइ पनि अग्रपंक्तिमा नै देखिन्छ तर टोकेपछि रेबिज प्रमाणित भएको नेपालमा भने देखिँदैन । यद्यपि विदेशमा भने फाट्टफुट्ट बाँदरबाट पनि रेबिज पुष्टि भएको पढ्न/सुन्न पाइन्छ । नेपालमा बाँदरको टोकाइबाट मानिसमा रेबिज सरेको प्रमाणित नभएको भए तापनि अरू के–कस्तो स्वास्थ्य समस्या (संक्रमण) देखिन/हुन सक्छ भन्नेबारे भने सम्बन्धित निकायले चासो लिनुपर्दछ । सहरमा मन्दिर अनि गाउँघरतिर भए खेतबारी/जंगल जाँदा मानिसलाई बाँदरले टोक्ने गरेको पाइन्छ ।

हाल खोप लगाउने तरिकामा केही परिवर्तन गरिएको छ । तर यो जानकारी सरकारी स्वास्थ संस्था वा अस्पतालमा बाहेक अरू ठाउँमा खासै पुगेको भने देखिँदैन । सन् २०१७ को अक्टोबरमा विश्व स्वास्थ संगठनका विज्ञको बैठकले सन् २०१०को रेबिजसम्बन्धी निर्देशिकालाई प्रतिस्थापन गर्दै नयाँ निर्देशिका सन् २०१८ मा प्रकाशित गरेको थियो । त्यसलगत्तै नेपालले पनि सन् २०१९ मा रेबिजसम्बन्धी नयाँ निर्देशिका प्रकाशित गरेको थियो ।
नयाँ निर्देशिकामा देखिएको फरक वा परिमार्जित गरिएको विषय भनेको खोप लगाउने तरिका तथा अवधि हो । यसमा विशेषतः छालामुनि र मासु/मांशपेशीका (पाखुराको) गरी दुई प्रकारले खोप दिन सकिन्छ भनिएको छ । यी दुई तरिकाको आधारमा खोपको अवधि पनि एक हप्ता (छाला मुनि) र दुई हप्ता (मासुमा दिने) मात्रा पूरा हुने गरी दिने गरिन्छ । छालामुनि दिने तरिका पहिलोपटक नयाँ निर्देशिकामा समावेश भएर आएको हो ।
यो तरिकाबाट लगाउँदा खोपको मात्रा कम लाग्ने अनि छिटो अर्थात् मासुमुनि दिने तरिकाभन्दा छोटो अवधिमा सकिने गर्दछ । मासुमुनि दिने तरिका छालामुनि दिने तरिकाभन्दा अवधि लामो भए पनि प्रतिस्थापित निर्देशिकामा भन्दा कम समयमा सकिनेछ । प्रतिस्थापित निर्देशिकामा मासुमुनि दिने तरिका मात्र थियो र त्यो २८ दिनसम्म दिनुपर्दथ्यो ।
विशेष तालिम प्राप्त स्वास्थकर्मी चाहिने भएकाले निजी क्लिनिक वा अस्पतालमा विशेषतः मासुमुनि दिने तरिकालाई निरन्तरता दिएको देखिन्छ । तर, निजी क्लिनिक वा अस्पतालमा अहिले पनि मासुमुनि दिने तरिका अपनाउँदा पाँचपटक अर्थात् २८ दिनसम्म लगाउन सुझाएको वा लगाइदिने गरेको देखिन्छ ।
खोप त लगाउने तर कति दिनभित्र लगाउनुपर्ने हो भन्ने चासो अधिकांशमा भएको पाहिन्छ । रेबिज प्राणघातक संक्रामक रोग भएकाले पनि यस्तो चासो स्वाभाविक मान्न सकिन्छ । समुदायमा भने कुकुर वा जनावरले टोकी हालेमा २४ घण्टाभित्र खोप लगाइसक्नुपर्छ भन्ने मान्यताले व्यापकता पाएको देखिन्छ ।
खोप जतिसक्दो चाँडो लगाउनु पर्दछ, तर ढिलो भयो भन्ने पनि हुँदैन । उदाहरणका लागि, कसैलाई कुकुर वा कुनै जनावरले टोकेको रहेछ भने जतिसक्दो चाँडो नजिकैको अस्पताल वा स्वास्थ चौकीमा गएर खोप लगाइहाल्नुपर्दछ, तर कुनै कारणले २४ घण्टापछि खोप लगाउन आएमा पनि खोप लगाउनुपर्दछ । यसो गर्नुको मुख्य कारण रेबिज रोगको ‘इन्कुभेसन अवधि’ संक्रमितपिच्छे फरक र लामो हुनु हो । ‘इन्कुभेसन अवधि’ भन्नाले संक्रमित भएर लक्षण देखिने अवधिलाई बुझाउँछ । लक्षण केही हप्तादेखि महिनौँको अन्तरालमा देखिने गर्दछ ।
नेपालमा धेरैमा रेबिजको लक्षण औसतमा चार–पाँच महिनादेखि वर्ष दिनभित्र देखिने गरेको छ । यद्यपि यो शरीरको कुन भागमा टोकेको हो त्यसमा लक्षण देखिने समय अवधि आधारित हुन्छ । खोप लगाउन जतिसक्दो चाँडो अनि ढिलो भन्ने हुँदैन भन्ने हो ।
कतिपय मानिस खोप लगाउन औषधि पसल जाँदा ढिलो (टोकेको दुई/तीन दिनपछि) आइपुगेकाले खोप लगाएर केही हुँदैन वा लगाउनुको अर्थ छैन भनेर फर्काएको अनि त्यस्ता घाइतेले मृत्युवरण समेत गर्नुपरेको उदाहरण धेरै छन् । यस्ता घटना बढी मोफसलका जिल्लामा भएको पाइन्छ । लेखकको विचारमा औषधि विक्रेतालाई पनि समयसमयमा रेबिजसम्बन्धी अभिमुखीकरण तालिम दिने वा रेबिजसम्बन्धी जानकारी उपलब्ध गराई दिनसके रेबिजबाट हुन सक्ने मृत्युलाई धेरै हदसम्म कम गर्न सकिने देखिन्छ ।
धेरैले घाउ ठूलो भए वा बाहिरको कुकुर वा जनावर टोकेमा मात्र रेबिज खोप लगाउनुपर्छ भन्ने धारणा बनाएको देखिन्छ । चोट/घाउ ठूलो भए यसै पनि धेरैजसो आत्तिएर नै रेबिजविरुद्धको खोप लगाउन अस्पताल आउने गरेको पाइन्छ । तसर्थ, चोट/घाउ ठूलो भएकाको मृत्यु रेबिजबाट हुने संख्या पनि केही हदसम्म कम भएको देखिन्छ । तर चोट/घाउ सानो भए रेबिज हुँदैन भनेर खोप नलगाउनाले तुलनात्मक रूपमा मृत्यु विगतमाभन्दा हाल बढ्दै गइरहेको देखिन्छ ।
कतिपयले त खोप लगाउन भोलि जान्छु, पर्सि जान्छु भन्दै गर्दा घाउ निको हुने अनि अब लगाउनु पर्दैन होला भनेर खोप नलगाउँदा केही समयपछि उनीहरूको पनि मृत्यु भएको छ । पछिल्लो समय ठूलो घाउ चोटको कारणले भन्दा पनि सानो घाउ चोटको बेवास्ताले गर्दा रेबिज भई मृत्यु हुनेको संख्या विस्तारै उकालो लाग्दै गइरहेको छ । हाल घरमा पालिएका भनिएका कुकुरसमेतमा रेबिज भाइरस पुष्टि हुने गरेको पनि देखिएको छ । यस्तो समस्या विशेष गरेर गाउँघरतिर बढी देखिने गरेको छ ।
गाउँघरतिर घरेलु कुकुर भन्नाले घरमा खाने/सुत्ने तर दिनमा बाहिर जाने/डुल्ने गर्दा अथवा नियन्त्रण नगरिने हुँदा बाहिरी कुकुर वा जंगली जनावरको सम्पर्कमा आउने अनि रेबिज संक्रमित भई परिवारका सदस्यलाई टोकेर संक्रमित गराउने गरेको देखिन्छ । यस्ता समस्या कम भए पनि काठमाडौंमा पनि हुने गरेको छ ।
रेबिज रोगबाट बच्ने एक मात्र उपाय भनेको खोप लिनु हो । रेबिजलाई इतिहासमा सीमित गर्ने प्रयास अझै पनि वास्तविकताभन्दा टाढा नै रहेको देखिन्छ । रेबिजबाट मृत्यु हुनेको संख्या विगतका दशकभन्दा उल्लेखनीय संख्यामा घटेको तथ्यांक देखिँदैन । रेबिज रोग किन बढ्दै छ भन्ने कारणको अनुसन्धान नगर्ने हो नेपालमा यो भाइरस ‘साइलेन्ट किलेर’को रूपमा रहिरहनेछ ।
बिरामीमा विशेष गरेर हावा तथा पानीदेखि डराउने लक्षण देखिन थालेको केही दिनभित्र मृत्यु निश्चितप्रायः नै हुन्छ । तसर्थ, कुनै पनि जनावर अझ खास गरेर रेबिज संक्रमित कुकुरले टोकेको शंका लागे नजिकैको स्वास्थ संस्था वा अस्पतालमा गएर रेबिजबिरुद्धको खोप लिनुपर्दछ । खोप सकेसम्म चाँडो लिनुपर्दछ, तर ढिलो भयो भनेर नलगाउने गर्नु हुँदैन ।
(लेखक शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।)
प्रतिक्रिया