देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

झ्यापझ्याप बत्ती गइरहेको विषयमा के भन्छन् हितेन्द्र ?

देशान्तर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको प्रणालीमा प्राविधिक समस्या आएकाले झ्यापझ्याप बत्ती गइरहेको बताएका छन् । शुक्रबार स्युचाटारमा पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक शाक्यले प्राविधिक समस्याका कारण झ्यापझ्याप बत्ती गएको भन्दै लोडेसेडिङ हुन्छ भन्ने भ्रममा नगर्न आग्रह गरेका हुन् ।

उनले शुक्रबार पिकआवरमा भारतबाट नेपालमा विद्युत आयात भइरहेको ४०० केभी ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमा आएको प्राविधिक समस्याका कारण काठमाडौंसहित देशका अधिकांश स्थानमा केही समय विद्युत आपूर्ति अवरुद्ध भएको स्वीकार गरे । उनले विद्युत प्रणालीमा अचानक समस्या देखिएपछि बिहीबार साँझ झ्यापझ्याप बत्ती गएको बताए ।

कार्यकारी निर्देशक शाक्यले बिहीबार साँझ विद्युत् आपूर्तिमा भएको समस्या पूर्णरूपमा प्राविधिक भएको भन्दै यसलाई ‘लोडसेडिङ’ सँग जोडेर हल्ला फैलाउनु गलत गएको बताए । उनले जलवायु परिवर्तनको कारण विभिन्न स्थानमा आउने हावाहुरी र पानीको कारण आकस्मिक रुपमा प्राविधिक अवरोध हुँदा समस्या भएको दाबी गरे । उनले प्राधिकरणले विद्युत अभावका कारण लोडसेडिङ गर्ने लाग्यो भनेर भ्रममा नगर्न आग्रह गरे ।

‘हाम्रो आन्तरिक उत्पादन कम छ। १४ सय मेगावाट विद्युत उत्पादन भइरहेको छ । पिकिङ समयमा करिब २ हजार मेगावाट माग छ । विद्युत् प्रसारण लाइनमा पिकिङ समयमा विद्युत ट्रिप भएकाले प्रसारण लाइनको विद्युत भारवहन गर्ने क्षमता सिमामा पुगेको छ,‘ कार्यकारी निर्देशक शाक्यले भने,‘ अहिले हुने विद्युत् लोड क्षमता धान्न नसक्ने अवस्थामा छ । बालजु र स्युचाटारको लोडले गर्दा चाँडै ओभर लोड हुने अवस्था छ । विद्युत प्रणालीमा धेरै ठाउँमा समस्या रहेको पाए । म आफै एलडीसीमा बसेर हेरेको थिए । प्रणाली कमजोर भएकाले उत्पादन भएर आएको विद्युतले काठमाडौँमा चाँज गर्न खोज्दा बेलाबेलामा ट्रिप भएको हो । त्यही भएर हिजो धेरै पटक बिजुली झ्याप झ्याप भएको महशुस गर्नु भएको हो ।’

उनले ढल्केबर–मुजफ्फरपुर लाईन चाँज गर्न दुईवटा नै लाइन ट्रिप भएकाले उक्त लाइनमा डिले हुँदा नेपालको प्रणालीबाट सञ्चालन गर्ने कोशिस गर्दा पिकको समय र आन्तरिक उत्पादन कम भएकाले नधानेर ट्रिप भएको बताए । उनले भारतको प्रणालीबाट विद्युत आएन भने समस्या पर्ने अवस्था रहेको बताए । शाक्यले जलवायु परिवर्तनको कारणले ठूलो हावाहुरी,पानी पर्ने घटनाहरु बढी रहेको उल्लेख गरे । उनले प्राधिकरण प्रसारणलाईन र प्रणाली सुधार गर्नको लागि प्रयासरत रहेको भन्दै प्राविधिक प्रणालीमा सुधार गर्न समय लाग्ने बताए ।

उनले उत्पादन र माग अनुसार प्राधिकरणले आफ्नो प्रशासरणलाइनसँगै दौडन नसक्दा समस्या भएको बताए । उनले विद्युत प्राधिकरणको संरचनामा लगानी गर्नु पर्ने अत्याधिक जरुरी रहेको बताए । उनले भने,‘ यतिबेला प्राधिकरणसँग पैसा नभएर काम रोकिनु हो भने ऊर्जा क्षेत्रमा ठूलो संकट र दुर्घटना ल्याउन सक्छ । यो एउटा उदाहरण मात्रै हो । चारैतिरबाट विद्युतको उत्पादन बढ्दै गर्दा त्यहि दुर्त गतिमा बढाउन सकेनौं भने सानो घटनामा पनि बत्ती ट्रिप भइराख्ने अवस्था हुन्छ ।’