काठमाडौं । नेपाली कला, संस्कृति र आतिथ्यता झल्किने गरी ठमेलमा हेरिटेज होटल ‘आर्या होटल एन्ड स्पा’ सञ्चालनमा आएको छ । जापानमा करिब साढे दुई दशक बिताएका धादिङका गैरआवासीय नेपाली कृष्ण सिंखडाको एकल स्वामित्वमा होटल सञ्चालनमा ल्याइएको हो ।
बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सञ्चालक सिंखडाले नेपाली पर्यटनमा भविष्य देखेर नै आफ्नै देशमा लगानी गरेको बताए । ‘म जापानमा बस्दा महत्त्वपूर्ण कुरा सिक्ने मौका पाएँ, उनीहरूलाई आफ्नो कला र संस्कृतिलाई लामो समयदेखि जोगाइराखेका छन् । मलाई पनि आफ्नै देशमा आएर केही गर्नुपर्छ भन्ने सोचले होटल निर्माण सुरु गरेँ ।’
सिंखडाको बुझाइअनुसार ठमेल विदेशमा नेपाल चिनाउने माध्यम हो । नेपाल आउने सबैजसो पर्यटक ठमेल नपुगी फर्कंदैनन् । नेपालबाट स्वदेश फर्कंदै गर्दा उनीहरूले नेपाली कला र संस्कृतिको अनुपम अनुभव लिएर फर्किन पाऊन् भन्ने उद्देश्यले आफ्नै सोचमा होटेल निर्माण गरेको उनको भनाइ छ । होटेल फरक र मौलिक बनाउने प्रयास गरिएको छ ।
मूल ढोकाबाट भित्र पस्दै गर्दा नेपाली शिल्पकलाले स्वागत गर्छ । परम्परागत पोसाकमा सजिएका कर्मचारीले आतिथ्य प्रदर्शन गर्छन् । पहिलो तलादेखि नै नेवारी शिल्पकलाको बेजोड प्रस्तुति यहाँ देख्न सकिन्छ । होटेलका थाम, कुर्सी, कुसनमा नेपालीपन झल्काउने प्रयास गरिएको छ ।
ठमेलको नरसिंह चोकमा रहेको यो होटलको लबीमा मयूर झ्याल र देशमरु झ्यालको मिश्रणसहितको उत्कृष्ट काष्ठकला देख्न सकिन्छ । होटलका रूपमा देखिने टुँडाल, फाल्चा, आँखीझ्याललगायत नेपाली कलाकृतिले जोकोहीलाई मोहित बनाउँछ ।
पाहुनालाई स्वागत गर्नका लागि पनि नेपाली परम्परालाई अँगालिएको सिंखडाले बताए । उनका अनुसार करिब २० आना जग्गामा निर्माण भएको होटेलमा जग्गासहित दुई अर्ब ५० करोड लगानी भइसकेको छ ।
“विदेशका चिल्ला होटेल हेर्न त सबै आउँछन्, तर नेपाली कला र संस्कृति झल्कने होटेल निर्माण गर्न सकियो भने यसले हाम्रो संस्कृति संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्छ भन्ने विश्वास छ,’ सिंखडाले भने । ७२ वटा रुम भएको होटलमा ४१ वटा डिलक्स रुम छन्, जसलाई आधुनिक र परम्परागत गरी दुई शैलीमा डिजाइन गरिएको छ । परम्परागत शैलीमा डिजाइन गरिएका रुममा नेपाली कला बढी देख्न सकिन्छ ।
होटेलका हेरिटेज रुमहरुमा भक्तपुरमा निर्माण गरिएको तेलिया इँटा बिछ्याइएको छ । परम्परागत शैलीको कोठामा ऐनाको फ्रेमदेखि दराजको ढोकामा काष्ठकला देख्न पाइन्छ । होटलका रुमहरु स्वयम्भू, धरहरा र सिटी भ्यू हुनेगरी तयार गरिएको छ ।
दुई सभाहल रहेको होटेलको १२औँ तलामा ‘सोरा’ नामक अल डे डाइनिङ रेस्टुरेन्ट छ । त्यसैको छेउमा ‘स्काई लाइन सोरा’ पनि छ । सोरा स्काई लाइनको सिसामा स्काई वाकको मजा लिँदै डिनर गर्न सकिन्छ । यहाँ एक सय साठी डलरदेखि एक हजार ६०० डलरसम्मका विभिन्न वर्गका रुम रहेको सञ्चालक सिंखडाले जानकारी दिए ।
प्रतिक्रिया