बद्री केसी समूहले बुधबार आयोजना गरेको ‘एनआरएनए कन्क्लेभ’ मा गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष तथा पूर्व अध्यक्षहरु नै सहभागी भएनन्।
सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनए उच्चस्तरीय समितिले गत बैशाख २० र २१ गते काठमाडौँमा सफलतापूर्वक एकता महाधिवेशन आयोजना गरे पछि हतार हतार केसीले उक्त कार्यक्रम आयोजना गरेका थिए। तर सो कार्यक्रममा गृहमन्त्री तथा परराष्ट्रमन्त्री लगायत उपस्थित नै भएनन्।
एकता महाधिवेशनले महेश कुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरे पछि उक्त कमिटिलाई काम गर्नमा रोक लगाउन माग गर्दै केसी सर्वोच्च पुगेका थिए। तर सर्वोच्चले अन्तरिम आदेश दिन अस्विकार गरे पछि उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गरेका हुन्।
“सर्वोच्च अदालतको परमादेश अनुसार आयोजित एकता महाधिवेशनद्वारा महेश श्रेष्ठको नेतृत्वमा वैधानिक कमिटी निर्वाचित भैइ सके पछि अब एनआरएनएमा अर्को कमिटी कायम छैन। यो तथ्य नबुझेको झैँ गरेर प्रधानमंत्री स्वयम् केसी समूहको कार्यक्रममा जानु अदालतको अवहेलना हो,” एक अधिवक्ताले भने।
त्यस्तै एनआरएनए आइसीसीका नवनिर्वाचित महासचिव बीआर लामाले पनि एकता महाधिवेशनद्वारा निर्वाचित आफूहरूको कमिटी नै एक मात्र वैधानिक कमिटी भएकाले कसैलाई पनि भ्रममा नपर्न आग्रह गरे। “हामी कसैसँग पनि द्वन्द्व गर्न चाहन्नौ। तर हाम्रो संयमलाई कमजोरी नठानियोस्,” उनले भने।
प्रतिक्रिया