काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगले आज पूर्णता पाउने भएको छ।
आयोगका अध्यक्ष र सदस्यको नाम टुंगो लागेको छ। पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठन भएको सिफारिस समितिले अध्यक्ष र सदस्यको नाम टुंगो लगाएको हो।
सर्टलिस्टमा परेका नाममध्येबाट १० जनाको नाम टुंगो लगाएको हो। स्रोतका अनुसार सिफारिस समितिले सम्भावित अध्यक्ष र सदस्यसहितको १० जनाको नाम सरकारलाई बुझाइसकेको छ।
सरकारले आज बस्ने मन्त्रिपरिषद् बैठकमा उनीहरुलाई नियुक्त गर्ने भएको हो। बैठक आज राति ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ।
स्रोतकाअनुसार दुई अध्यक्षमध्ये बेपत्ता छानबिन आयोगको अध्यक्षमा लीलादेवी गड्तौला सिफारिस भएकी छिन्। पूर्वमुख्यसचिव गड्तौलाको नाममा कांग्रेस, एमाले र माओवादी केन्द्रले नै सहमति जनाएका छन्। उनको नाम साझा रूपमा प्रस्ताव भएको स्रोतको दाबी छ।
त्यसैगरी, सत्य निरुपण तथा मेलमिलाप आयोगमा भने उच्च अदालतका पूर्वन्यायाधीश महेश थापा अध्यक्ष हुने सम्भावना छ।
उनको नाममा पनि दलीय सहमति भएको छ। प्रमुख तीन दलले थापाको नाममा अपनत्व लिएका कारण थप विवाद नभएको स्रोतको दाबी छ।
माओवादी केन्द्रले केही दिनअघिसम्म दुईमध्ये एउटा आयोगको अध्यक्षमा दाबी गरेको थियो। त्यसमा प्रधानमन्त्री केपी ओलीले भने असहमति जनाएका थिए।
त्यसो त कतिपयले भने अध्यक्ष नपाए सदस्यसमेत नपठाउने भन्दै माओवादी केन्द्रले अडान लिएको तर्क गरेका थिए। तर, अन्तिम समयमा थापा र गड्तौलाको नाममा माओवादीले पनि सहमति जनाएको हो। कांग्रेसले सत्य निरुपण तथा मेलमिलाप आयोगमा शेरबहादुर केसीलाई अध्यक्ष बनाउने तयारी गरेको थियो।
प्रतिक्रिया