देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डा. मुकुलको दाबी : अबको चुनावमा रास्वपाले राष्ट्रिय दलको मान्यता गुमाउने

देशान्तर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकालले अबको चुनावमा नेपालको राजनीति बालेन साहको अप्रत्यासित उदयले तरंगित तुल्याएको बताएका छन् । रास्वपाको उदयले फेरिएको राजनीतिक सन्तुलन नाटकीय रुपमा फेरिए पनि त्यसभन्दा शक्तिशाली र निर्णायक कारक राजसंस्थाको पुनस्र्थापना बनेको बताएका छन् ।

सामाजिक संजालमा उनले लेखेका छन्–२०७९ सालको स्थानीय निर्वाचनमा बालेन शाहको अप्रत्याशित उदयले नेपाली राजनीतिक परिदृश्यलाई गहिरो रूपमा तरंगित तुल्याएको थियो । जनताले स्थापित पुराना दलहरूको विकल्प खोजिरहेको स्पष्ट अनुभूति भइरहेको थियो, र त्यतिबेलासम्म कुनै सशक्त राष्ट्रिय वैकल्पिक शक्तिको उपस्थिति नदेखिएको हुँदा अधिकांश राजनीतिक विश्लेषण र प्रक्षेपणहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई यस परिवर्तनको मुख्य लाभ लिने सम्भावित पक्षका रूपमा चित्रण गरेका थिए । तर त्यो समीकरण नाटकीय रूपमा उल्टियो, जब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय भयो—जसले राजनीतिक सन्तुलन नै फेरिदियो । राप्रपा १४ सिटमा सीमित रहँदा हामी (रास्वपा) २० सिट जित्न सफल भयौं ।

राजनीतिको गहिरो चासो भएका व्यक्तिहरूका लागि यस्ता प्रक्षेपणहरू नौला होइनन्—आन्तरिक अध्ययन, तथ्यांकको विश्लेषण, र आम नागरिकसँगको संवादको आधारमा यस्ता विश्लेषणहरू नियमित रूपमा भइरहन्छन् । हालै मेरा एक मित्रले गरेको विस्तृत अनुसन्धानले आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले तीन लाख मत पनि प्राप्त गर्न नसक्ने सम्भावना देखाएको छ ।

रवि लामिछानेको गिरफ्तारीपछि रास्वपाले सहानुभूतिका मतहरू प्राप्त गर्नसक्ने अनुमान गरिएको थियो, तर त्यसभन्दा शक्तिशाली र निर्णायक कारक ‘राजसंस्थाको पुनःस्थापना’ र ‘सुधारिएको गणतन्त्र’ बीचको ध्रुवीकरण देखिएको छ—यही वैचारिक द्वन्द्वले सहानुभूतिको सम्भावनालाई पनि छायामा पारेको देखिन्छ ।

यदि आजकै मितिमा निर्वाचन सम्पन्न भयो र बालेन साह वा अन्य कुनै प्रभावशाली व्यक्तिले नयाँ राजनीतिक दल गठन नगरेको अवस्था रह्यो भने—राप्रपाले ३५ देखि ४० सिटसम्म जित्ने बलियो सम्भावना छ । राष्ट्रिय स्वतन्त्र पार्टी केही प्रत्यक्ष निर्वाचन क्षेत्रहरूमा प्रतिस्पर्धी देखिए पनि ती सिटहरूमा जित हासिल गर्न नसक्ने र समानुपातिक निर्वाचन प्रणालीमा करिब तीन लाख मतमा सीमित रहने प्रक्षेपण गरिएको छ । यस परिदृश्यमा, हाम्रो पार्टीले राष्ट्रिय दलको मान्यता समेत गुमाउने उच्च जोखिम देखिन्छ ।

यदि हामी अझै पनि ‘राजनीतिक प्रतिशोध’ को पुरानै राग अलापिरहने हो र पार्टीको वैचारिक आधार निर्माण, संगठन संरचनाको समयसापेक्ष नवीकरण तथा आम जनताको दीर्घकालीन विश्वास आर्जन गर्ने दिशामा ठोस कदम चालेनौं भने अवस्था झनै भयावह बन्दै जाने निश्चित छ ।

आगामी दिनहरू थप चुनौतीपूर्ण हुने स्पष्ट संकेतहरू देखिएका छन् । ‘श्री ३’ को रूपमा गरिएको प्रचारबाजीले हामीभन्दा बढी गणतन्त्रप्रति दृढ प्रतिबद्धता राख्ने जनमतलाई आकर्षित गर्दै गगन थापा जस्ता पुराना पार्टीभित्रका नेताहरूलाई फाइदा पुगेको देखिन्छ । नेकपा (एमाले) सत्ताको आडमा आफ्नो संगठनलाई थप मजबुत बनाउने रणनीतिमा क्रियाशील देखिन्छ र नेकपा (माओवादी केन्द्र) ले संघीयता, धर्मनिरपेक्षता लगायत वर्तमान संविधानका आधारभूत मान्यताहरूको पक्षमा उभिएर आफ्नो राजनीतिक अस्तित्व जोगाउने प्रयास गरिरहेको छ ।

यस्तो जटिल परिस्थितिमा यदि बालेन साहले नयाँ राजनीतिक दल खोले भने, सम्पूर्ण राजनीतिक समीकरण पूर्ण रूपमा परिवर्तन हुनेछ—हाल गरिएका यी प्रक्षेपणहरू त्यसपछि अप्रासंगिक बन्नेछन् । तर त्यस्तो अवस्थामा पनि एक कुरा भने स्पष्ट देखिन्छ—हाम्रो पार्टीको अहिलेको स्वार्थपूर्ण, अवसरवादी नेतृत्व र स्पष्ट दिशाहीन बहसले गर्दा भविष्य अझ कठिन र चुनौतीपूर्ण हुने निश्चित छ ।

अन्ततः, बुझ्न आवश्यक कुरा के हो भने—राजनीति केवल चर्का नाराबाट होइन, सुस्पष्ट विचार र दीर्घकालीन योजनाबाट निर्देशित हुन्छ ।