काठमाडौं । जगदम्बा हस्पिटालिटी ग्रुपले काठमाडौंको नक्सालमा रहेको होटल ‘हिल्टन काठमाडौं’ खरिद बिक्री भएको भन्ने विषय झुटो भएको बताएको छ । होटल खरिद बिक्री सम्बन्धमा कुनै छलफल समेत नभएको हस्पिटालिटीले स्पष्ट गरेको छ ।
जगदम्बा हस्पिटालिटी ग्रुपले आइतबार एक विज्ञप्ति जारी गरी हिल्टन होटल बिक्री भएको भन्ने समाचारले आफूहरू आश्चर्य चकित भएको जनाएको हो ।
‘जगदम्बा हस्पिटालिटी ग्रुपले सञ्चालन गरेको चेन होटल हिल्टन काठमाडौं कुनै पनि बिक्री प्रक्रियामा नगएको र यस विषयमा कहिँकतै छलफल समेत नभएको जानकारी गराउन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पुत्र जयवीरले हिल्टन होटल खरिद गरेको भन्ने अफवाह सामाजिक सञ्जालमा फैलिएको थियो । हस्पिटालिटीले अफवाहपूर्ण समाचारको खण्डन गरेको छ ।
‘राजनीतिक व्यक्ति र व्यापारिक घरनाको नाम जोडी हुँदै नभएको विषय सिर्जना गरी सार्वजनिक भएका भ्रामक समाचारले व्यवसायको प्रतिष्ठा र राजनीतिक जीवनमा समेत नकारात्मक असर पुर्याउने भएकोले यसप्रति गम्भीर आपत्ति जनाउँछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
नक्सालमा रहेको ५ तारे होटल हिल्टन काठमाडौंले उच्चस्तरीय आतिथ्यता प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
प्रतिक्रिया