नयाँ वर्ष वरदान देऊ
खेतलाई धान देऊ
खेतीलाई किसान देऊ
मजदुरलाई शान देऊ
पीडितलाई मान देऊ
बन्धनलाई त्राण देऊ
धनुषलाई वाण देऊ
तरबारलाई म्यान देऊ
भोकलाई खान देऊ
तिर्खालाई जलपान देऊ
चित्कार नसुन्नेलाई कान देऊ
घुम्ने मेचलाई दृष्टि दान देऊ
याचकलाई दान देऊ
योगीलाई ध्यान देऊ
भक्तलाई भगवान् देऊ
सन्यासीलाई बान देऊ
भाषालाई उखान देऊ
रोगीलाई निदान देऊ
खोलालाई मुहान देऊ
चियालाई बगान देऊ
नेपालीलाई अभिमान देऊ
देशलाई निष्ठा सन्तान देऊ
लेखनलाई आख्यान देऊ
निश्चललाई प्राण देऊ
शीरलाई सिरान देऊ
गर्मीलाई अपराह्न देऊ
मुटुलाई आशाको मान देऊ
दुष्टलाई चिहान देऊ
इष्टलाई सम्मान देऊ
झर्नुलाई उत्थान देऊ
ममतालाई महान् देऊ
दुर्बललाई ज्यान देऊ
खोजलाई विज्ञान देऊ
अवगुणलाई अवसान देऊ
आकाशलाई यान देऊ
चरालाई उडान देऊ
ओठलाई मुस्कान देऊ
हावालाई उद्यान देऊ
छहरालाई गतिमान देऊ
कण्ठलाई गान देऊ
गायकलाई तान देऊ
नायकलाई अभियान देऊ
दोषीलाई रछान देऊ
स्वप्नलाई प्रमाण देऊ
अवगुणलाई अवसान देऊ
दूषणलाई म्लान देऊ
देशलाई उफान देऊ
अरू कुरा जान देऊ
नयाँ वर्ष वरदान देऊ
प्रिय पाठक,
यो कविता जुन तपाईंहरूले भर्खरै पढ्नुभयो, तपाईंलाई के लाग्यो, कस्तो लाग्यो भनेर सोध्नुअघि म स्वयंलाई के लाग्यो, त्यो लेख्न चाहन्छु । मलाई आश्चर्य भयो । कारण ? कारण… मैले जीवनमा कविता नलेखेको पनि होइन । एक समय मेरो जीवनमा यस्तो थियो, अब म कवि नै बन्न चाहन्थेँ । नयाँ कविका रूपमा मेरो परिचय बन्दै थियो । मलाई राष्ट्रिय सेमिनारहरूमा निम्त्याउन थालेका थिए, कविका रूपमा ।
जस्तो २०२३ सालमा झापामा, कवि केदारमान व्यथितले स्थापना गरेको संस्थाले एक सातदिने सेमिनार झापामा गरेको थियो । त्यहाँ म निम्त्याइएको थिएँ । विराटनगरको, २०२७ सालको सेमिनारमा पनि म आमन्त्रित थिएँ । यी र अन्य कतिपय भेलामा म आमन्त्रित हुन्थेँ । सब कविका रूपमा । मेरा कविताहरू रूप–रेखा र अन्य पत्रपत्रिकामा पनि छापिन्थे ।
विस्तारो समय बदलियो । जुन रूप–रेखाले मेरो नेपालीमा प्रथम प्रकाशित कविता, २०२०को वैशाख १ गते छाप्यो त्यही रूप–रेखाले मेरो पहिलो प्रकाशित कथा ‘एक यात्रानुभूमि’ पनि २०२०मै भदौतिर छापेको थियो । कथाले राम्रो प्रतिक्रिया पायो । तै पनि मेरो प्राथमिकता कवितामै थियो ।
तर त्यसो हुँदाहुँदै पनि, विस्तारो म कसरी हो। कथा लेखनतिर तानिँदै गएँ । कथा बढी लेख्न थालेँ, कविता कम हुँदै गयो । पछि त मेरो कविको परिचय यस्तरी हरायो, म आफैँले आफूलाई आख्यानकार नै मान्न थालेँ । कविता अब लेख्छु भन्ने छँदै थिएन ।
तर म यसलाई चमत्कारै भन्छु, आफ्नै जीवनको यो वर्ष केही थिएन । म अहिले संस्मरण लेख्नमा व्यस्त छु । व्यस्त के भनूँ, अहिले तत्काल त्यही लेख्छु । म एकदम व्यस्त भएर लेख्दिनँ । लेख्दा व्यस्त रहन्छु । तर झ्यालढोका थुनेर व्यस्त हुन्न लेख्नका लागि । एक्लै छु र मनमा आयो भने लेख्न व्यस्त हुन्छु ।
‘गाँती’ शीर्षकको संस्मरण पुस्तक रत्न पुस्तक भण्डारले छापिसकेको छ । अर्काे संस्मरण रत्न पुस्तक भण्डारले नै प्रकाशित गर्दै छ ।
आख्यानात्मकतामा बितेका कति वर्षमा यस्तो व्यस्त भएँ कि मलाई लगभग सम्झना आउन समेत छाडेको थियो । म कुनै बखत कविका रूपमै परिचित थिएँ ।
२०८२ वैशाख १ को अघिल्लो रात वा दुई दिनअघिको रात होे । म ओछ्यानमा त्यत्तिकै निष्क्रिय पल्टेको थिएँ, आँखा चिम्लेर ।
अचानक बिजुली चम्क्यो । एउटा कविताको थिम देखाप¥यो । मनले त्यसलाई टिपिहाल्यो । म जुरुक्क उठेँ र लेख्न थालेँ । सरासर लेख्दै गएँ । मलाई पनि अचम्म लाग्यो, यसपटक आख्यान थिएन, कविता थियो । त्यही कविता मैले देशान्तर साप्ताहिकका पाठकलाई पनि आस्वाद गराउन चाहेँ ।
राम्रो–नराम्रो पछि गरौँला । अहिले जुन कविता पढ्नुभयो, त्यो कविता मैले गीत छाड्ने हो भने वर्षाैंपछि अझ दशकौँपछि अचानक लेखेको कविता हो । प्रयोग देखिन सक्छ, चमक, अनुप्रास, नासिका ध्वनि आदिलाई प्रवाहात्मक शैली दिइएको छ । यो कविता अचानक रूपमा जसरी आयो, त्यसरी लेखेँ । वर्षाैंपछि लेखेकाले आश्चर्य मिश्रित प्रसन्नता छ मलाई । नयाँ वर्ष वरदान देऊ ।
साँच्चिकै नयाँ वर्षबाट धेरै वरदान चाहिएको पनि छ, हामीलाई । हेरौँ के हुन्छ, कामना त शुभकै छ । त्यही आकांक्षा सबैका लागि वरदानको रूपमा फलोस् कविताले यही मागेको छ, पाठकका लागि २०८२ मा । त्यही मेरो विज्ञ पाठकसँग बाँड्न चाहेको छु ।
प्रतिक्रिया