देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली कांग्रेसका भ्रातृसंस्था विघटनको सँघारमा

देशान्तर

नेपाली कांग्रेसका मुख्य भ्रातृ संस्थाहरू विघटनको सँघारमा पुगेका छन् । तदर्थ समितिका रूपमा वर्षौंदेखि सञ्चालनमा रहेका नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल तरुण दल र नेपाल महिला संघलगायत भ्रातृ संस्था अझै महाधिवेशन गर्न असफल रहेपछि ती संगठनलाई भंग गर्नुपर्ने दबाब पार्टीभित्र तीव्र बनेको छ ।

कांग्रेसका एक प्रभावशाली नेताका अनुसार, ‘वर्षौं तदर्थ समितिको भरमा चलिरहेका संस्थाहरूलाई महाधिवेशनको जिम्मेवारी दिइएको थियो । तर, समयमा अधिवेशन गर्न नसक्दा ती अब वैधानिक छैनन् । पुनः म्याद थप्नेभन्दा भंग गरेर नयाँ संरचना निर्माण गर्नुपर्ने आवाज बलियो भइरहेको छ ।’

वैशाख १७ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा यी विषयमा निर्णय लिने भनिए पनि बैठक स्थगित भएको थियो । तर, अब बस्ने बैठकबाट तीव्र र निर्मम निर्णय आउने नेताहरूले संकेत गरेका छन् । ‘अवसर दिइयो, तर समन्वयहीनताले कार्यसमिति निष्क्रिय बने । यसकारण अब पुनः म्याद थप्ने औचित्य छैन,’ ती नेताले बताए ।

कांग्रेस नेतृत्वले गत चैत मसान्तसम्म महाधिवेशन गर्न समय दिएको थियो । तर, अहिलेसम्म कुनै प्रमुख भ्रातृ संस्थाले अधिवेशन गरेको छैन । बरु आन्तरिक गुटबन्दी र विवादले संस्थाहरू थप कमजोर भएका छन् । उदाहरणका लागि, महिला संघमा २० केन्द्रीय सदस्यले अध्यक्षको कार्यशैलीविरुद्ध राजीनामा दिएका छन् भने, नेविसंघ चैत ५ को स्ववियु निर्वाचनपछि अझै महाधिवेशनको तयारीमा देखिएको छैन ।

नेविसंघ २०७३ मा सम्पन्न ११औँ महाधिवेशनपछि निर्वाचित नेतृत्वविहीन भएको हो । २०७६ मा राजीव ढुंगाना र २०७८ मा दुजाङ शेर्पाको अध्यक्षतामा तदर्थ समिति बनाइए पनि त्यसले महाधिवेशन गराउन सकेको छैन । यस्तै, तरुण दलमा पनि ४०१ सदस्यीय तदर्थ समिति बनाएर नेतृत्व बाँडफाँड गरिएको छ तर महाधिवेशनप्रति कुनै ठोस तयारी देखिएको छैन ।

महाधिवेशन गराउने जिम्मेवारी पाएका निर्देशन समितिहरू पनि असफल देखिएका छन् । नेविसंघका लागि बनेको तीन सदस्यीय निर्देशन समितिका संयोजक किशोर सिंह राठोर आफैँ नेविसंघको प्रगति अवस्थाबारे अनभिज्ञ छन् । दलित संघको निर्देशन समितिका संयोजक जीवन परियारले भने अध्यक्षले समन्वय नगरेको गुनासो गरेका छन् ।

यी संस्थाको आगामी भाग्यबारे कांग्रेसभित्र बहस जारी छ । केही नेताहरूले अझै एकपटक समय थप्ने विचार व्यक्त गरे पनि बहुमत नेताहरूको धारणा यिनलाई भंग गरी नयाँ संरचनाबाट अघि बढ्नुपर्नेमा केन्द्रित छ ।

वर्षौंसम्म तदर्थ समितिको भरमा चलेका कांग्रेसका भ्रातृ संस्था अहिले वैधानिक संकटमा छन् । नेतृत्व, समन्वय र कार्यसम्पादनको कमजोरीले गर्दा अब ती संस्थाहरूलाई भंग गर्ने सम्भावना बढ्दो छ । कांग्रेसको आगामी केन्द्रीय समिति बैठकमा यसबारे निर्णायक निर्णय हुने अपेक्षा गरिएको छ ।