काठमाडौं । पार्टीको नाममा आएको रकम हिनामिना, घरको नामसारी, निजी स्वार्थमा नियुक्ति, र आफ्नै कोषाध्यक्षलाई थुनाउने काम, यी सबै घटना जनमत पार्टीभित्र एकपछि अर्को गर्दै बाहिर आउन थालेका छन् । अध्यक्ष डा. सीके राउत नेतृत्वको यो पार्टी पछिल्लो समय विवादको घेरामा गहिरिँदै गएको छ ।
जनमत पार्टीले काठमाडौं र जनकपुरमा पार्टीका लागि भनेर घर खरिद गरे पनि ती घरहरू पार्टीको नाममा नामसारी भएका छैनन् । यसै विषयमा सुरु भएको विवादले अहिले पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादव थुनामा पुग्ने अवस्थासम्म पुगेका छन् ।
काठमाडौंस्थित घर कोषाध्यक्ष यादवकी श्रीमती ललिता यादवको नाममा रहेको पाइएको छ । राउतले ललिताबाट त्यो घर भाडामा लिएर पार्टी कार्यालयको रूपमा प्रयोग गर्दै आएका थिए । ललितपुरको महालक्ष्मी नगरपालिका–४ मा रहेको उक्त घर २०८० फागुन १ गतेदेखि २०८५ चैतसम्मका लागि मासिक २५ हजार रूपैयाँ भाडामा लिएको सम्झौतामा उल्लेख छ ।
कोषाध्यक्ष यादवले उक्त घर आफ्नो व्यक्तिगत खर्चमा बैंकबाट ऋण लिएर खरिद गरेको बताएका छन् । तर, अध्यक्ष राउत भने त्यो घर कुनै पनि हालतमा आफ्नो विश्वासपात्र कुन्दन सिंहको नाममा नामसारी गर्न दबाब दिँदै आएको उनी बताउँछन् ।
‘कहिले कुन्दनको त कहिले अर्को कसैको नाममा नामसारी गर्न दबाब दिइयो,’ यादवले भने, ‘तर मैले कुनै हालतमा सहमति जनाइनँ, अनि मलाई ठगी र जालसाजीको मुद्दामा फसाएर थुन्ने काम भयो ।’
राउतले ललितालाई नामसारी गर्न फकाउन मधेश प्रदेशको नीति तथा योजना आयोगको सदस्य पदमा नियुक्त गरे । तर, जब ललिता तयार भइनन्, पार्टीमार्फत जिल्ला प्रहरी कार्यालय, ललितपुरमा उजुरीसमेत दर्ता गरिएको खुलेको छ ।
भाडामा लिएको उक्त घरमा सुरुमा राउत स्वयं बस्दै आएका थिए । तर, श्रीमती सोनी सिन्धुसँग विवाद भएपछि उनी हाल काठमाडौंकै एक अपार्टमेन्टमा सरेका छन् । सोनी सिन्धु भने अझै ललिता यादवकै घरमा बसिरहेकी छन् ।
२०७८ सालमा पार्टी स्थायी भवन बनाउने भन्दै ‘अक्षय कोष’ स्थापना गरियो । प्रवक्ता डा. शरद सिंह यादवले २०८० साउन ४ गते सार्वजनिक अपिल जारी गर्दै सहयोगको लागि राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बरसमेत सार्वजनिक गरेका थिए ।
त्यो पैसा भने कहाँ खर्च भयो, कति जम्मा भयो भन्ने विषयमा पार्टीले अहिलेसम्म सार्वजनिक विवरण दिएको छैन । जसमाथि समेत अहिले प्रश्न उठ्न थालेको छ । ललिताको नाममा घर खरिद भएको दुई महिनापछि मात्रै उक्त सहयोगको अपिल गरिएको पाइएको छ, जसले शंकालाई झन् बलियो बनाएको छ ।
महालक्ष्मी वडा नम्बर ४ का वडाअध्यक्ष अमृत खत्रीले भदौ ७ गते दिएको सिफारिसपत्रमा पनि सो घर भाडामा लिएको भन्ने कुरा पुष्टि भएको छ । यसले राउत पक्षले नामसारीको लागि दबाब दिएको प्रमाणको पुष्टि गर्छ ।
एकातिर जनमत पार्टी स्थायी संरचना बनाउने भनेर सर्वसाधारणबाट चन्दा उठाउने, अर्कातिर भाडामा लिएको घरलाई व्यक्तिगत स्वार्थमा नामसारी गर्ने प्रयास, अनि नामसारी नमान्ने आफ्नै कोषाध्यक्षलाई ठगीको मुद्दामा फसाउने कामले अध्यक्ष सीके राउतको नियतमाथि गम्भीर प्रश्न खडा गरेको छ ।
पार्टी संस्थागत बन्ने त के, अहिलेको अवस्था हेर्दा जनमतभित्र ‘लफडैलफडा’ बढिरहेको देखिन्छ ।
प्रतिक्रिया