देशान्तर विशेष संवाददाता
काठमाडौं । संसद्को सबैभन्दा ठूलो दलले टेको लगाइदिएपछि दुईतिहाइको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सहयात्री दलका कुरा त मान्न छोडेकै छन् भने नेकपा एमालेको अध्यक्ष पदमा रहेका उनले एकलौटी गर्ने निर्णयले कार्यकर्ता नै आजित भएका छन् । विगतमा ‘केपी बा’ भन्दै देवत्वकरण गर्ने उनका कार्यकर्ताहरू नै अहिले उनका निर्णयमाथि पनि औँला उठाउन सुरु गरेका छन् । तर, अहिले पनि शक्तिशाली भूमिकामा रहेका उनले निर्णय गर्दा अरू नेताहरूसँग सल्लाह नगर्ने भएकाले पार्टीमा क्रमशः उनको विपक्षमा माहोल बन्न थालेको राजनीतिक विलेषकहरू बताउने गर्छन् ।
अहिले पार्टीभित्र गुटगत प्रतिशोधको लहर गहिरिँदै गएको छ भने पछिल्लो समय पार्टी संगठन, भ्रातृसंगठन र जिल्ला तहमा देखिएको झडप, विवाद र एकअर्काविरुद्धको कारबाही क्रमले एमालेभित्र गुटगत राजनीति झनै मौलाउँदै गएको पुष्टि गरिरहेको छ । केन्द्रीय तहमा नेताहरूले गुट नभएको दाबी गरे पनि जिल्लादेखि प्रदेशसम्म नेताको नाममा छुट्टाछुट्टै गुटहरू सक्रिय रहेका छन् । त्यसको असरस्वरूप संगठनमा अस्थिरता बढेको छ ।
धनुषामा एमालेको आठौँ जिल्ला अधिवेशन मतदान सुरु हुनुअघि नै झडपमा परिणत भएको थियो । भोला यादव पक्षबाट सत्यनारायण महासेठ र महेश दास, साथै निवर्तमान अध्यक्ष राजकिशोर यादवसहित पाँचजना घाइते भए । निर्वाचन समितिले अन्तिम नामावली परिवर्तन गरेपछि लक्ष्मीनारायण यादव पक्ष आक्रोशित बनेर विरोधमा उत्रियो । झडपपछि निर्वाचन नै अनिश्चित बनेको छ ।
प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने र पार्टीलाई सामूहिक नेतृत्व प्रणालीमा लैजाने भन्दै आए पनि उनको एकलौटी कार्यशैली र हस्तक्षेपले आजित बनेका एमालेका केही नेताहरूले पार्टीभित्र तीव्र असन्तुष्टि देखाइरहेकै बेलामा प्रदेश, जिल्ला र जनसंगठनमा आफ्नो पक्षलाई जिताएर केन्द्रमा शक्तिशाली बन्ने केन्द्रीय नेताहरूको स्वार्थका कारण केही जिल्लामा एमालेका स्थानीय नेता तथा कार्यकर्ता कुटाकुटमै उत्रिएका छन् ।
अध्यक्ष ओलीले पार्टीलाई निजी कम्पनी बनाउन खोजेको आरोप लगाउँदै केही पदाधिकारीहरूले पार्टीमा कतिपय विषयहरू निर्णय भइसकेपछि मात्र आफूहरूले थाहा पाउने गरेकोमा आक्रोश व्यक्त गरिरहेका छन् । हालै एमालेको सचिवालय बैठकमा पनि केही पदाधिकारीहरूले अध्यक्ष ओलीको एकलौटी कार्यशैली र अनावश्यक हस्तक्षेप बढ्दै गएकोमा असन्तुष्टि मात्र जनाएनन्, आक्रोश समेत व्यक्त गरे । बैठकमा शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाको प्रसंगको विषयमा पनि केही पदाधिकारीहरूले प्रश्न उठाएका थिए । काठमाडौंमा देशभरका शिक्षकहरू उत्रिएर आन्दोलन गरिरहेको अवस्थामा गत वैशाख ८ गते शिक्षामन्त्री भट्टराईले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएकी थिइन् ।
भट्टराईले स्वास्थ्यको कारण राजीनामा दिएको भनिए पनि प्रधानमन्त्री ओलीको उपेक्षा र अनावश्यक दबाबका कारण राजीनामा दिएको एमालेकै नेताहरूले स्विकार्ने गरेका छन् । भट्टराईले अचानक मन्त्री पदबाट राजीनामा दिएपछि पार्टी उपाध्यक्ष रहेकी अष्टलक्ष्मी शाक्यले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भट्टराई सक्षम, इमानदार, नैतिकता उच्च भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनुपरेको हो ? उहाँलाई सहयोग किन भएन ? भनी प्रश्न उठाएकी थिइन् ।
शाक्यले मात्र होइन, अन्य थुप्रै नेताहरूले पनि भट्टराईलाई अनावश्यक दबाब दिएर राजीनामा गर्न बाध्य बनाएको भन्दै असन्तुष्टि जनाएका थिए । त्यसपछि ओलीले पार्टीका विभिन्न बैठकहरूमा केही पदाधिकारीहरूले भट्टराईको राजीनामाबारे आफूलाई जोडेर सार्वजनिक टिप्पणी गर्न थालेको भन्दै आक्रोश व्यक्त गर्दै आएका छन् । संसदीय दल, पार्टी सचिवालय बैठकमा पनि उनले शाक्यले फेसबुकमा लेखेको विषयबारे चासो राखेका थिए । ओलीले भट्टराईलाई आफूले नै मन्त्री बनाएको भन्दै असहयोग गर्ने भए मन्त्री किन बनाउँथे ? भनी स्पष्टीकरण दिए । उनले भट्टराईसँग क्षमता नभएर राजीनामा दिएको पनि बताएका थिए ।
ओलीले आफूलाई लक्षित गरेपछि शाक्यले पनि भट्टराई मन्त्री बन्न योग्य र सक्षम रहेको स्पष्ट पारेकी थिइन् । ओली र शाक्यबीच बैठकमा सवाल–जवाफ भइरहँदा अन्य नेताहरू भने चुपचाप बसेका थिए ।
महासचिव शंकर पोखरेलले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको कारबाही फुकुवा गर्न अघि सारेको प्रस्ताव अध्यक्षले तत्काललाई अस्वीकार गरेका छन् । महासचिवको प्रस्ताव थुप्रै नेताहरूले सहमति जनाए पनि अध्यक्ष ओलीले अस्वीकार गरेपछि अरू मौन बस्न बाध्य भएको एमाले निकट समाचारस्रोतले जनाएको छ ।
व्यवसायी मीनबहादुर गुरुङले एमालेको पार्टी कार्यालय भवनका बनाउनका लागि जग्गा दिने र त्यो स्विकार्ने पार्टीको निर्णयबारे प्रश्न गरेको भन्दै एमालेले पाण्डे र तिम्सिनासँग स्पष्टीकरण सोध्दै ६ महिनाका लागि जिम्मेवारीबाट हटाएको थियो ।
माधव नेपाल र झलनाथ खनालले पार्टी फुटाएर नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि ओलीले एमालेको निर्विकल्प नेताको रूपमा आफूलाई स्थापित गराउने प्रयास गरिरहेका छन् । आफ्ना आलोचकहरूलाई किनारा लगाउँदै अगाडि बढिरहेका ओलीको कतिपय कार्यशैली चित्त नबुझे पनि नेताहरू भीम रावलको नियति भोग्नुपर्ने भयले मौन बसिरहेका छन् । तर पछिल्लोपटक विगतमा उनी निकट भएका नेताहरू नै बिच्किन थालेपछि ओलीले आफ्नो एकलौटी गर्ने कार्यशैलीलाई सुधार गरेर अगाडि बढ्नुपर्ने सुझाव पनि उनीनिकट मानिएका केही नेताहरूले दिन थालेका छन् ।
यसैबीच अध्यक्ष ओलीले सर्वसम्मतिबाट नेतृत्व चयन गर्न निर्देशन दिए पनि विभिन्न जिल्लामा अधिवेशनको क्रममा एमालेका कार्यकर्ताहरूबीच तीव्र गूटबन्दीका कारण तनाव उत्पन्न हुँदा झड्प नै भएको छ । केही दिनअगाडि धनुषा, ताप्लेजुङ, पर्वतलगायत जिल्लामा विभिन्न गुटमा विभाजित एमाले कार्यकर्ताबीच झडप भएको छ । धनुषा जिल्लामा पार्टी अधिवेशनको क्रममा दुई पक्षमा विभाजित एमालेका स्थानीय नेता तथा कार्यकर्ताबीच कुटाकुट नै भएको थियो । जिल्ला पदाधिकारीका लागि जिल्ला कमिटीमा वा भ्रातृसंगठनको केन्द्रीय कमिटीमा एक कार्यकाल बसेको हुनुपर्ने भए पनि विधानविपरीत परेको उम्मेदवारीमा दाबी विरोधको उजुरी पर्दा पनि उम्मेदवारी खारेज नगरेको भन्दै दुई पक्षबीच कुर्सी हानाहान नै भएको थियो । झडपमा केही घाइते समेत भएका थिए । जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला संस्कृति भवनमा भएको अधिवेशनमा कुटाकुट भएपछि अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ ।
यस्तै पर्वतमा पनि एमालेनिकट युवा संघको अधिवेशनलाई लिएर दुई पक्षबीच कुटाकुट भएको छ । एमाले पर्वत जिल्ला कार्यालयमा गर्ने भनिएको अधिवेशन एक पक्षले गर्ने र अर्को पक्ष नगर्ने भन्ने विषयमा विवाद बढेपछि कुटाकुटको अवस्था सिर्जना भएको थियोे । दुई पक्षबीच भएको कुटाकुटमा केही युवा घाइते भएका छन् ।
राष्ट्रिय युवा संघ नेपाल ताप्लेजुङको जिल्ला अधिवेशनमा पनि वैशाख १९ गते दुई समूहबीच कुटाकुट भएको थियो । बन्दसत्र सुरु भएपछि प्रतिनिधिहरूबाट नयाँ कमिटीको लागि नाम सूची तयार गरेर अध्यक्षमण्डलको तर्फबाट एकलौटी कमिटी घोषणा गर्न खोजिँदा विवाद उत्पन्न भई दुई पक्षबीच कुटाकुट भएको थियो ।
नेकपा एमालेको आन्तरिक अनुशासन, सांगठनिक संरचना र एकता अहिले गम्भीर चुनौतीको अवस्थामा पुगेको देखिन्छ । तल्लो तहमा मौलाउँदै गएको गुटगत राजनीति केवल व्यक्तित्व केन्द्रित प्रतिस्पर्धामा सीमित नभई, समग्र पार्टी संरचनामा दरार पैदा गर्ने खतरामा छ । पार्टीभित्रको आन्तरिक लोकतन्त्र र आस्थालाई जोगाउँदै गुटीय वर्चस्वको राजनीति निरुत्साहित गर्न सके मात्र एमालेले आगामी दिनमा स्थायित्व र विश्वास पुनः कायम गर्न सक्नेछ ।
प्रतिक्रिया