देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वरिष्ठ पत्रकार दाहाल सम्मानित

देशान्तर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ पत्रकार एवं सूचनाको हकका अभियन्ता तारानाथ दाहाललाई सम्मान गरेका छन् । सूचनाको हकको कार्यान्वयन, प्रवर्द्धन र पैरवी गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै वरिष्ठ पत्रकार दाहाललाई ‘विनय कसजु उत्कृष्ट सूचना अभियन्ता पुरस्कार’बाट सम्मान गरिएको हो ।

राष्ट्रपति पौडेलले राष्ट्रिय सूचना आयोगको १८औँ वार्षिकोत्सवका अवसरमा सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबीच पत्रकार दाहाललाई रु ५५ हजार राशिको सर्वोत्कृष्ट सूचना अभियन्ता पुरस्कारसहित कदरपत्रबाट सम्मानित गरे । आयोगले सूचनाको हकका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएबापत ११ वर्षअघि उनलाई ‘वरिष्ठ अभियन्ता’बाट सम्मान गरेको थियो ।

सो अवसरमा अभियन्ता दाहालले मुलुकमा सूचनाको हकको कार्यान्वयनको अवस्था अझै पनि सन्तोषजनक नरहेको बताए । विकास र सुशासनका पक्षमा सूचनाको हकको महत्त्वपूर्ण भूमिका रहने भएकाले यसको प्रभावकारी कार्यान्वयनसहित सदुपयोग हुनुपर्ने उनले धारणा व्यक्त गरे । अभियन्ता दाहालले लोकतन्त्रको प्रमुख आधार सूचनाको हकको सुनिश्चितता हो भन्दै यसको प्रवर्द्धनमा सरोकार भएका सबै गम्भीर हुनुपर्नेमा जोड दिए ।

समारोहमा नेपाल समाचारपत्रका कार्यकारी सम्पादक दीपक रिजाल, टक्सार म्यागेजिनका प्रधानसम्पादक गजेन्द्र बुढाथोकी, गोरखापत्र दैनिकका फोटो पत्रकार कविता थापा र हरिराम कोन्डा ‘उत्कृष्ट सूचना अभियन्ता’ पुरस्कारबाट सम्मानित भए । सो पुरस्कारको राशि जनही रु ३० हजारसहित सम्मानपत्र रहेको छ ।

यसैगरी जनही रु ३० हजार राशिको ‘उत्कृष्ट सूचना अधिकारी’ पुरस्कारबाट देवीप्रसाद थपलिया, केशव सिलवाल, पदमकुमार श्रेष्ठ, हेमन्तकुमार बुढाथोकी र बुद्धिराम न्यौपाने पुरस्कृत भए ।

सो अवसरमा आयोगमा कार्यरत सन्तोष दाहाल, सुदर्शन ढकाल, दिनेश लुइँटेल, रञ्जना दाहाल, सीताराम बस्नेत र माइली तामाङलाई उत्कृष्ट कर्मचारीका रूपमा पुरस्कृत गरिएको थियो ।