देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसदमा सत्तापक्ष–प्रतिपक्षबीच घोचपेच

देशान्तर


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबीच घोचपेच चलेको छ ।

विशेष समयमा आफ्नो धारणा राख्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद सूर्यबहादुर थापा क्षेत्री र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले भष्ट्राचार निवारण र सुशासन कायम गर्ने सवालमा अघिल्लो सरकार र अहिलेको सरकार कसरी चुकिरहेको छ भनेर आरोप–प्रत्यारोप चलेको हो ।

सांसद सूर्यबहादुर थापा क्षेत्रीले नेपालमा छोटो–छोटो समयमा सरकार परिवर्तन हुने र राजनीतिक अस्थिरताका कारण मुलुकको आर्थिक तथा सामाजिक विकास कमजोर भएको उल्लेख गर्दै अहिलेको सरकार ढल्दैछ भनेर सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबाट दुष्प्रचार भइरहेको टिप्पणी गरे । 

“अहिले सङ्ख्यात्मक हिसाबले बलियो सरकार छ । आलोपालो गर्ने भनेर सातबुँदे सहमति भएर सरकार सञ्चालन भइरहेको छ । तर सरकार विरूद्धका चलखेल जारी छन् । सरकार आजभोलि नै ढल्छ भन्ने दुष्प्रचार भइरहेको छ”, उनले भने । नेपाली कांग्रेस र एमालेबीच आलोपालो सरकार सञ्चालनका लागि भएको सहमतिअनुसार अघि बढ्न पनि उनले आग्रह गरे। 

प्रतिपक्ष दलले सरकार ढल्ने भनेर गरिरहेको प्रचारमा सत्यता नरहेको उल्लेख गर्दै सांसद थापाले सत्तापक्ष दल नेपाली कांग्रेसका केही सांसदहरूले पनि गठबन्धन विरोधी धारणा सार्वजनिक रूपमा राखिरहेको आरोप लगाए । आफ्नो दलभित्रका असन्तुष्टिलाई देखाएर सरकार कमजोर बनाउनुभन्दा त्यसलाई महाधिवेशनमार्फत सल्टाउनुपर्ने पनि सांसद थापाको भनाइ थियो । 


प्रतिपक्ष दल माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले अहिलेको सरकारले भ्रष्टाचार र अवैध क्रियाकलापलाई प्रश्रय दिइरहेको आरोप लगाए । “यो सरकार जनताको सरकार होइन । यसले जनताको पक्षमा काम गर्दैन । बिचौलिया, तस्करको हितमा काम गर्छ”, उनले भने– “देश सङ्कटको भुमरीतर्फ गइरहेको छ । जताततै अस्तव्यस्तता छ । नागरिकलाई सेवा प्रवाहमा समस्या छ । दुई ठूला राजनीतिक दल मिलेर बनेको सरकारले ती समस्या समाधान गर्ने तत्परता देखाएको छैन ।” अहिले लोकतान्त्रिक व्यवस्थामाथि सङ्कट आउनु विद्यमानको सरकारको कार्यशैलीको उपज रहेको उनको टिप्पणी थियो । 

त्यस्तै, सत्तापक्ष सांसदहरूले आफ्नो कमजोरी र असक्षमता लुकाउन प्रतिपक्षलाई गाली गर्न थालेको धारणा पनि सांसद शाहीको छ । “सरकारको व्यवहारबाट भ्रष्टाचारी र तस्करीहरू खुसी भएका छन् । समाजवादउन्मुख अर्थ व्यवस्था कतातर्फको यात्रा हो र ?”, संसद्मा प्रश्न गर्दै उहाँले भन्नुभयो । शिक्षक आन्दोलन, निजामती कर्मचारी, चिकित्सक, लघुवित्त तथा सहकारी पीडितलगायत आन्दोलनरत पक्षका विषयमा सरकार गम्भीर नरहेको पनि सांसद शाहीको भनाइ छ ।