काठमाडौँ । भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ् टेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत छात्रा प्रिसा साहको शङ्कास्पद मृत्यु प्रकरणबारे छानबिनका लागि पहल गर्न र विदेशमा रहेका अरू नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिको व्यवस्था गर्न संसद्ले सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले यस प्रकरणमा के–कसो भएको हो भनेर खोजिनीति गर्न निर्देशन दिए। “उज्यालो भविष्य देखेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरुको एकपछि अर्को मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न पनि हो । सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन, सम्बन्धित पक्षसँग संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश गर्दछु”, सभामुख घिमिरेले भने । साथै विदेशमा रहेका अरू नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न गराउन पनि निर्देशन दिए ।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्ने क्रममा सांसदहरुले प्रिसा साह मृत्यु प्रकरणबारे संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका थिए । केही समयअघि सोही विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको पनि रहस्यमय ढङ्गले मृत्यु भएको थियो । पुनः सोही प्रकृतिको घटना अहिले दोहोरिएपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरुले थप असुरक्षित महसुस गरेको सांसदहरुको भनाइ छ ।
सांसदहरु देवेन्द्र पौडेल, डा अमरेशकुमार सिंह, रामकृष्ण यादव, निर्मला कोइरालालेलगायतले प्रिसा साह मृत्यु प्रकरणबारे संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।
त्यसैगरी, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ प्रकरणबारे पनि छानबिनको माग संसद्मा उठेको छ । सांसद लालवीर चौधरीले रेशम चौधरीलाई सर्वोच्च अदालतको नक्कली पत्रका आधारमा पक्राउ गरेको विषयमा सरकारले सदनमा जवाफ नदिए आफ्नो दलले सरकार छाड्ने बताए । । सांसद डा अमरेशकुमार सिंहले सरकारको षड्यन्त्रमा रेशम चौधरी पक्राउ परेको आरोप लगाए । सांसद महन्थ ठाकुरले तराई मधेशका नागरिकमाथि राज्यबाटै विभेद भइरहेको आरोप लगाए ।
प्रतिक्रिया