देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भूकम्पको जोखिममा सार्क र नेपालको भूमिका

देशान्तर

अफगानिस्थानदेखि बर्मासम्मको यो हिमवतखण्ड पृथ्वीको स्वर्ग नै हो । विशेषतः यो क्षेत्रको केन्द्रविन्दु रहेको नेपाल खोलानाला वातावरण र भूगोलका हिसाबले अद्वितीय नै छ । यहाँ लगभग २५०० नदीहरूमा पिउनलायक पानी अनवरत बगिरहेको हुन्छ ।

लेखक : ई. कुमार भट्टराई

विश्वमा उपलब्ध पाँचथरी वातावरण यही देशमा पाइन्छ । थोरै दूूरीको फरकमा नै हिमाल, पहाड र तराईका विभिन्न मौसम अनुभूत गर्न पाइन्छ । यो देशको गर्वमा रहेको पेट्रोलियम पदार्थ, युरेनियम, तामालगायत विविध खनिजपदार्थको उत्खनन र उपयोग नै नगरिएकाले आजसम्म पनि भर्जिन ल्यान्ड छ । यी र यस्तै कारणले नेपालमाथि विश्वका व्यापारीहरूको क्रूर व्यवसायिक आँखा पर्नु स्वाभाविक छ ।

अनुपम विशेषता भएको हुनाले थोरै मिहिनेतमा स्वर्ग बनाउन सकिने यो देश प्रायः हरेक दशकमा एकपटक राजनीतिक परिवर्तनको सिकार भइरहेको र विकासतर्फ केन्द्रित हुन सकेको छैन । अस्थिरता उत्पन्न गराउँदै प्रकृतिका अद्वितीय बरदानलाई विकासमा परिवर्तन गराउन नभई नियन्त्रित अस्थिरताको सिकार बनाई आफ्नो हितमा खनिज उपयोग गराउन विश्वका व्यापारीको आकर्षण क्षेत्र बनिरहेको छ नेपाल । हालसालै युक्रेनले पनि यस्तै समस्या भोगेको देखिन्छ ।

यति आकर्षक क्षेत्र नेपालको निर्माण पनि धेरै दुःखद् प्राकृतिक अवस्थाबाट भएको हो । यो हिमवतखण्ड भारतीय प्लेट र तिब्बेतियन प्लेटको ठक्करबाट उत्पति भएको थियो, भने अहिलेसम्म पनि टेक्टोनिक प्लेटहरूको उच्चतम घर्षणबाट यो क्षेत्र प्रभावित भइरहेको नै छ ।

भविष्यसम्म पनि यी दुई प्लेटको घर्षण जारी रहिरहनेछ । धेरै पहिले नै इन्डियन सबकन्टिनेन्टल प्लेट अफ्रिकाबाट छुट्टिएर एसियाको दक्षिणी भू–भागमा ठोकिएको थियो । यसबाट नै नेपालको यति उत्कृष्ट पर्वतहरू र विश्वकै उच्च हिमालय क्षेत्रको निर्माण हुन पुगेको थियो । विश्वकै स्वर्गजस्तो अत्यन्तै सुन्दर देश नेपालको लागि टेक्टोनिक प्लेटहरूको त्यो टकराबको भूमिका जति उलेख्य छ त्यति नै दुःखदायी पनि छ । नेपालमा मात्र नभई यसका छिमेकि देशहरूलाई पनि यी प्लेटको घर्षणबाट भूकम्पको जोखिम बढाइरहेको छ ।

टेक्टोनिक प्लेटको यो चालवाट पृथ्वीको गर्भमा जुन ऊर्जा सञ्चित भएर रहेको हुन्छ, त्यो ऊर्जा रिलिज हुँदा ठूला–ठूला भूकम्प जाने गर्दछ । नेपालको इतिहास हेर्ने हो भने सन ११५५ को जुनमा राजा अभय मल्लको समयमा आएको ७.८ रेक्टर स्केलको भूकम्पले राजा समेत काठमाडौंका एकतिहाई जनताको ज्यान लिएको थियो । त्यो हामीले अहिलेसम्म प्राप्त गरेको दस्ताबेजको आधारमा अध्ययनको पहिलो सामग्री बन्न सक्दछ ।

त्यस्तै त्यसपछि ६.५ रेक्टर भन्दामाथिका भूकम्पहरूको रेकर्ड हेर्ने हो भने सन १२६०, १३४४, १४०८, १५०५, १६८१, १८६७, १८३३, १८६९, १९१६, १९३४, १९६६, ९५००, १९८८. २००९, २०१५ मा गएका भूकम्पहरू ६.५ रेक्टर स्केलदेखि ८.२ रेक्टर स्केलसम्मको गएको अनुमान गरिन्छ ।

सन २०१३ मा टर्की सिरियामा गएको भूकम्पले त त्यस क्षेत्र आसपासका करिब ६० हजार मानिसको मृत्यु भयो । सन् २०१६, २०२१ र २०२५ मा म्यान्मारमा गएको ६ रेक्टर स्केलभन्दा माथिको भूकम्पले त्यहाँ पनि धेरैले ज्यान गुमाए ।

हाल सालै नेपालका विभिन्न क्षेत्रहरूमा धेरै भूकम्पका धक्काहरू लगातार गइरहेको महसुस भइरहेको नै छ । नेपालमा अन्तिमपटक ठूलो भूकम्प करिब एक दशकअगाडि गोरखा र दोलखा केन्द्रविन्दु बनाएर गएको थियो । त्यसबाट लाखौँ नेपाली नागरिक विस्थापित भएका थिए । यस देशको आसपासका क्षेत्रमा पनि २०७२ सालको यो विनाशकारी भूकम्पपछि धेरै भूकम्पका धक्का गइरहेका छन् ।

यो हिमवत् क्षेत्रमा अब आउने भूकम्प यी भूकम्पहरूभन्दा पनि ठूलो आउने वैज्ञानिकहरूले प्रक्षेपण गरिरहेका छन् । अब आउने ठूलो भूकम्पबाट नेपालभन्दा पनि छिमेकी मुलुक भारतमा धेरै ठूलो प्रभाव पर्ने निश्चित देखिन्छ । यसमा विशेषतः भारतमा भवन निर्माण आचारसंहितामाथि गरिने अनदेखा प्रमुख कारण बन्न सक्छ ।

भारतमा जति निर्माण भइरहेको देखिए पनि भवन निर्माणमा बीआईएस खासै लागू भएको देखिँदैन । सामाजिक परिवेश नेपालजस्तै रहेको भारतमा पनि व्यापक भ्रष्टाचार र ठेकदारहरूसँगको मिलेमतोले बीआईएस कार्यान्वयन प्रभावकारी छैन । अब भारतमा आउने भूकम्पले खुल्ला सिमाना र सांस्कृतिक तथा पारिवारिक सम्बन्धका कारण नेपाल थप प्रभावित हुने अवस्था बन्नेछ ।

यस हिमवत्खण्डको केन्द्रविन्दु नेपाल अहिले पनि भुटानी शरणार्थी, बंगलादेशी शरणार्थी, अफगानिस्थानी शरणार्थी, बर्मेली शरणार्थीलगायत विश्वका धेरै देशका शरणार्थीको बोझमा छ । सार्क राष्ट्रको हेडक्वार्टर रहेको नेपालले बेलैमा सार्कको प्रभावकारितामा जोड दिँदै यस क्षेत्रका देशहरूमा भवन निर्माण आचारसंहिताको कडाभन्दा कडा कार्यान्वयनमा भूमिका खेल्नुपर्ने दायित्व छ ।

हालसम्म राजनीतिक शरणार्थीहरूलाई आश्रय दिँदै आएको नेपालले यस क्षेत्रमा आउने भूकम्पका बारेमा जापानजस्ता अनुभवी र विकसित राष्ट्रसँग सहकार्य गर्दै समग्र सार्क क्षेत्रमा भूमिका निर्वाहमा ढिलाइ गर्न हुँदैन । अन्यथा भविष्यमा भारतमा जाने भूकम्पबाट नेपालको भूगोल पुनः शरणार्थी शिविर बन्ने सम्भावना प्रचुर देखिन्छ ।

त्यसैले पनि हिमवत् क्षेत्रका सबै राष्ट्रहरूलाई सार्कमा समावेश गराउँदै सार्क राष्ट्रको हेडक्वार्टर नेपालले सार्क क्षेत्रमा भूकम्पप्रतिरोधी भवन निर्माणमा जोड दिन तथा आपतकालीन अवस्थामा नागरिकको सुरक्षा विषयमा समग्र क्षेत्रलाई नै योजनाबद्ध बनाउन अन्र्तराष्ट्रिय जगत्सामु समन्वयको भूमिका खेल्नुपर्ने आवश्यकता देखिन्छ ।