देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली छात्राको मृत्यु

देशान्तर

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत फेला परेकी छन्। वीरगञ्जकी २० वर्षीया प्रिशा विहीबार राति आफ्नै होस्टेलको कोठामा झुण्डिएको अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

छात्राको शव हाल पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ। उनका परिवारका सदस्यहरू भारत पुगिसकेका छन् र उनीहरूको उपस्थितिमा पोष्टमार्टम प्रक्रिया अघि बढाइने जनाइएको छ।

यस घटनाले परराष्ट्रमन्त्री आरजु राणा देउवा मर्माहत बनेकी छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले लेखेकी छन्, “प्रिशाको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा उनको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु।”

परराष्ट्रमन्त्री देउवाले घटनापछि भारत सरकार, ओडिसा राज्य सरकार तथा नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्यतथ्य छानबिनका लागि आवश्यक कूटनीतिक पहल थालिएको जानकारी पनि दिएकी छन्।

यो घटनाभन्दा अघिल्लो महिनामात्रै, गत ४ फागुनमा सोही विश्वविद्यालयमा अध्ययनरत अर्की नेपाली छात्रा प्रकृति लम्साल पनि आफ्नै होस्टेलमा मृत फेला परेकी थिइन्। छोटो अवधिमा दुई नेपाली विद्यार्थीको मृत्यु भएको घटनाले गम्भीर चासो उत्पन्न गराएको छ।