काठमाडौं । बुधबार सीके राउत नेतृत्वको जनमत पार्टीसँग रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)को एकता हुने कार्यक्रम तय थियो । एकता घोषणाका निम्ति दुवै पार्टीका नेता–कार्यकर्ता प्रज्ञा भवन कमलादीको हलमा खचाखच थिए । तर, दुई पार्टीबीच एकताको माहोल तब बिग्रियो जब एकता हुनै लाग्दा चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाटै बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लियो । रेशम पक्राउ परेपछि जनमत पार्टी र उनको पार्टीबीचको एकता भाँडियो ।
सादा पोशाकमा खटिएका सुरक्षाकर्मीले उनलाई प्रज्ञा भवनमै पुगेर पक्राउ गरेका थिए। पक्राउलगत्तै चौधरीलाई डिल्लीबजार कारागारमा लगेर बुझाइएको थियो । पक्राउपछि काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहोराले भनेका थिए, ‘हामीले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न उहाँलाई पक्राउ गरिएको हो । पक्राउपछि डिल्लीबजार लगेर बुझाएका छौँ ।’
२०७२ भदौमा टीकापुरमा भएको घटनाका कारण चौधरीलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो। तर, २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले दिएको आममाफीका आधारमा उनी डिल्लीबजार कारागारबाट रिहा भएका थिए।
यस्तै मुद्दामा राष्ट्रपति रामचन्द्र पौडेलले रिगल भनिने योगप्रसाद ढकाललाई गरेको कैद मिनाहालाई तत्काल बदर गर्न सर्वोच्च अदालतको पूर्ण इजलासले परमादेश गरेको थियो । साथै इजलासले रिगललाई पुनः पक्राउ गरी कारागार चलान गर्न पनि परमादेश दिएको थियो । प्रहरी स्रोतका अनुसार आममाफीको फैसला सर्वोच्चले उल्ट्याएपछि उनलाई पक्राउ गरिएको हो ।
सर्वोच्च अदालतका अधिकृत महिमान सिंह विष्टले उक्त पत्र लेखेका थिए । महिमान सिंह विष्ट सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका कर्मचारी हुन् । बुधबारकै मितिमा पत्र लेखेर उनी रेशमलाई पक्राउ गर्नुपर्ने भन्दै कारागार कार्यालय डिल्लीबजार पुगेका थिए । डिल्लीबजार कारागारका एक जना कर्मचारीका अनुसार उनले बिहान १० बजे नै पुगेर जेलरलाई भेटेर पत्र देखाए ।
त्यसपछि उनी प्रहरीकहाँ गएका हुन् । पत्रमा कारागार कार्यालय डिल्लीबजारलाई सम्बोधन गरिएको थियो । प्रहरी महानिरीक्षकलाई बोधार्थ दिएको पत्रमा रेशम चौधरी जहाँ भए पनि तत्काल पक्राउ गरेर ‘प्रधान कार्यालयमा झिकाएर डिल्लीबजार पठाउनु’ भनेर लेखिएको थियो ।
काठमाडौंका एसएसपी विश्व अधिकारीको आदेशपछि डीएसपी प्रह्लाद कार्की आफ्नो टिम लिएर कमलादीस्थित गणेशस्थानमा रेशमलाई पक्राउ गर्न पुगेका थिए । जहाँ रेशम पार्टी एकता घोषणा सभामा आउने पूर्व जानकारी प्रहरीलाई थियो ।
रेशम पक्राउ परेपछि सर्वोच्चमा खैलाबैला मच्चियो । सर्वोच्चका अधिकारीहरूले पत्रको आधिकारिकता जाँच गरेर हस्ताक्षरकर्ता महिमान सिंह विष्टलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिए । सर्वोच्चका सह रजिस्ट्रार अच्युत कुइँकेलले पत्र जारी गरेर नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको हो।
‘यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च।.नं. १९२७७, मिति २०८२ । १ । १७ मा कैदमा राख पठाइएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारिक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गाविस वडा नं ८ हाल जानकी गाँउपालिका वडा नं ६ घर भएका लालविर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद थुनामुक्त गरिदिनुहुन अनुरोध छ,’ पत्रमा भनिएको थियो ।
त्यसपछि प्रहरी अधिकृतहरू छक्क परे । आफूलाई सम्बोधन नै नगरिएको ‘अनधिकृत’ पत्र कार्यान्वयन गर्दा काठमाडौँ प्रहरी चुकेको छ । प्रहरीमा काम देखाउने होडबाजीले गर्दा पटक पटक चुक्ने गरेको जानकारहरू बताउँछन् । सर्वोच्च अदालतले रेशमलाई जुन पत्रका आधारमा पक्राउ गरिएको थियो, त्यो पत्र नै आधिकारिक नभएको भनेर अर्को पत्र जारी गरेपछि राज्यको चरम लापरबाही उदांगो भयो ।
पक्राउ परेपछि अधिकृतहरूसँग विष्टले टिकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या भएको घटना आफूलाई चित्त नबुझेको बताएका छन् । थरुहट–थारुवान संघर्ष समितिको आन्दोलन चर्किएपछि भिड नियन्त्रणमा लिन तत्कालीन सेती अञ्चलका प्रमुख एसएसपी न्यौपाने आफैँ फिल्डमा खटिएका थिए ।
पत्र लेख्नुको कारणबारे अनुसन्धान अधिकृतहरूसँग विष्टले भनेका छन्, ‘मृतकहरूको आत्माले शान्ति पाओस् भनेर पत्र लेखेको हुँ ।’ टिकापुर घटनामा संलग्न रेशम चौधरी थुना बाहिर रहेको र रिगल ढकाल थुनामा परेकोबारे आफूलाई चित्त नबुझेको उनले प्रारम्भिक बयान दिएका छन् । करिब साढे २ वर्ष जागिर बाँकी रहेका विष्ट आफैँले पत्र तयार गरेर हस्ताक्षर गरेपछि डिल्लीबजार कारागार पुगेका हुन् । उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
घटनाक्रमले उक्त घटनामा राज्यका एक कर्मचारीको बदमासी देखिए पनि परिणामले राज्यसंयन्त्रको नै बेइज्जत गरेको छ । राष्ट्रपतिबाट आममाफी पाएका, सत्तासाझेदार दलका संरक्षक अर्को दलसँगको एकता घोषणा हुनै लाग्दा पक्राउ हुँदा प्रधानमन्त्री वा गृहमन्त्रीसम्मले चाल नपाउनुमा कमजोरी कसको ? भन्दै प्रश्न उठिरहेका छन् ।
जनमत पार्टीका अध्यक्ष सीके राउत यस घटनालाई बाहिर भनिएजस्तो सामान्य घटना मान्न तयार छैनन् । उनको बुझाइमा राज्यको माथिल्ले निकायकै षड्यन्त्रले रेशम चौधरी पक्राउ परेका हुन् । दुई दलको एक्ता भाँड्न कैलागि राज्यले उनलाई पक्राउ गरेको राउतको बुझाइ छ ।
प्रतिक्रिया