देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एआईजीमा बढुवा भएका ६ जनालाई दर्ज्यानी चिह्न

देशान्तर


काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ वैशाख १५ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका ६ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबिच उनीहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरेका हुन् ।

दर्ज्यानी चिह्नद्वारा सुशोभित हुने प्रहरी अतिरिक्त महानिरीक्षकहरूमा चन्द्र कुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा। मनोज कुमार केसी रहेका छन् । साथै नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष रूपा थापाले दर्ज्यानी चिह्नबाट सुशोभित भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूका धर्मपत्नीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरिन् ।

दर्ज्यानी चिह्न सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिह्नद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । राष्ट्र, जनता र संगठन प्रति पुर्‍याएको योगदान, जिम्मेवारी निर्वाहको क्रममा प्रदर्शित पेसागत दक्षता एवम् कार्यकुशलताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै प्राप्त पद र जिम्मेवारीलाई संस्थागत विकास, सांगठनिक सुदृढीकरण तथा शुद्धीकरण र संगठनको बृहत्तर हितका लागि अझ बढी निष्पक्ष र पारदर्शी भई सामूहिक भावना तथा उच्च मनोबलका साथ कार्यसम्पादन हुने विश्वास उनले व्यक्त गरे ।
दर्ज्यानी चिह्न सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।


यसैबीच एआईजी खापुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, आचार्यलाई नेपाल प्रहरी प्रधान कार्यालयको कार्य विभाग, पोखरेललाई प्रशासन विभाग, कार्कीलाई मानवश्रोत विकास विभाग, अधिकारीलाई अपराध अनुसन्धान विभाग र डा।केसीलाई प्रदेश समन्वय विभागको जिम्मेवारी तोकिएको छ ।