काठमाडौं । शिक्षक आन्दोलनको भएको एक महिना नाघ्न लाग्दासमेत समाधान निस्कने छाँटकाँट देखिएको छैन । देशभरिका विद्यालयहरूमा शैक्षिक गतिविधि प्रभावित भइरहेको छ । नेपाल शिक्षक महासंघ आन्दोलन २९ दिन पुगेको छ तर समाधानको स्पष्ट बाटो खुलेको छैन।
सरकार र महासंघबीच पटकपटक भएका वार्तामा दुवै पक्षले ‘सकारात्मक’ भनेका छन्। तर मागहरू तत्कालै पूरा हुने स्थितिमा नभएकाले संवाद लम्बिँदै गएको हो ।
शिक्षकहरूका मुख्य मागहरूमध्ये आवधिक बढुवा, अस्थायी सेवा अवधिको गणना, तहगत बढुवा, अस्थायी, राहत शिक्षक, बाल विकास शिक्षक र विद्यालय कर्मचारीको सेवा स्थायित्व जस्ता विषय प्रमुख छन्।
सरकारले मागहरूमाथि छलफल गर्न तयार देखिए पनि शिक्षक नेताहरूको भनाइमा ‘ग्यारेन्टी’ दिन चासो देखिएको छैन। त्यसैले आन्दोलन र वार्ता सँगसँगै चले पनि समाधान अझै अन्योलमै छ।
आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुली सरकार अझै जिम्मेवार बन्न नसकेकाले आन्दोलन पनि जारी र वार्ता पनि जारी राख्ने बताउँछिन् ।
स्थायी शिक्षक हकहित मञ्चका अध्यक्ष रमेशबाबु भट्टराईले आवधिक बढुवा, तहगत बढुवा र अस्थायी सेवा गणना मुद्दा पेचिलो बनेको बताएका छन्। उनी भन्छन्, ‘आवधिक बढुवा, तहगत बढुवा र अस्थायी सेवा गणना मुद्दा पेचिलो बन्यो।’
शिक्षकहरूले जनशक्ति व्यवस्थापन, तलब समायोजन, सेवा स्थायित्व र पदोन्नतिमा निजामती सरह व्यवहारको माग गरेका छन्। तर सरकारलाई यी सबै माग तत्काल सम्बोधन गर्न कानुनी तथा संरचनागत चुनौतीहरू छन्।
प्रतिक्रिया