देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाथीभरा देवी दर्शन केवलकार कम्पनीद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान

देशान्तर

ताप्लेजुङ जिल्लाको पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकार परियोजनाको विरोधमा रहेका आन्दोलनरत पक्षलाई पाथीभरा देवी दर्शन केवलकार कम्पनीले वार्तामा आउन आह्वान गरेको छ।

कम्पनीका तर्फबाट संचालक रुद्रराज पौडेलले एक विज्ञप्ति जारी गर्दै, निर्माणधीन केबलकारसँग सम्बन्धित स्थानीयवासीका सरोकारका विषय पहिचान गर्न संवाद र छलफल आवश्यक रहेको बताएका छन्। गत साता काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पनि कम्पनीले युवालगायत स्थानीय संघ–संस्थाहरूसँग वार्तामार्फत समाधान खोज्न आग्रह गरेको उल्लेख गर्दै, अहिले आन्दोलनरत पक्षप्रति सकारात्मक धारणा व्यक्त गरिएको छ।

कम्पनीले निर्माण कार्यको क्रममा सदैव स्थानीयको धर्म, संस्कृति, पहिचान र सभ्यताको संरक्षण र प्रवर्द्धनमा प्रतिबद्धता जनाएको छ। विज्ञप्तिमा उल्लेख गरिएअनुसार, परियोजना नेपाल सरकारको मापदण्ड अनुसार आवश्यक वातावरणीय प्रभाव मूल्याङ्कन तथा अन्य कानुनी प्रक्रियाहरू पूरा गरी अगाडि बढाइएको छ।

कम्पनीका अनुसार, परियोजना क्षेत्रको साइट क्लियर गर्ने क्रममा आवश्यक रुख कटान गरिएको र प्रत्येक काटिएको रुखका बदलामा २५ रुख रोप्ने व्यवस्था मिलाइएको छ। परियोजनाले पहुँचमार्ग, खानेपानी व्यवस्था, विद्युत विस्तार, माटो परीक्षण, विस्तृत इन्जिनियरिङ डिजाइनलगायतका पूर्वाधार कार्यहरू पूरा गरिसकेको जानकारी समेत गराएको छ।

केबलकार निर्माणसँगै आदिवासी जनजातिको मौलिक धर्म, संस्कृति र पहिचान मेटिने डरले विभिन्न स्थानीय पक्षहरूले आन्दोलन गर्दै आएका छन्। उनीहरूले तीन प्रमुख मागहरू अघि सारेका छन् ।

१. पहिचान र आत्मसम्मानको सुनिश्चितता,

२. मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षण तथा स्थानीयका लागि रोजगारीको ग्यारेन्टी,

३. यी मागहरू सम्बोधन नभए केबलकार निर्माण अवरुद्ध गरिने चेतावनी।

कम्पनीले आफूहरू व्यवसायिक संस्था भएको र पहिचान स्थापित गर्ने राजनीतिक संस्था नभए पनि विकास निर्माण र पहिचानको सम्बन्धप्रति चनाखो रहेको उल्लेख गरेको छ। विज्ञप्तिमा भनिएको छ, “हामीले आन्दोलनरत पक्षहरूको भावना र मागलाई सम्मान गर्दै, पहिचान र आत्मसम्मानका विषयलाई गम्भीरतापूर्वक लिएको छौं।”

कम्पनीले आन्दोलनरत सबै पक्षसँग खुला वार्ताका लागि आह्वान गरेको छ। विज्ञप्तिमा भनिएको छ, “हामीलाई विश्वास छ, वार्ता र संवादमार्फत जुनसुकै समस्या समाधान गर्न सकिन्छ। निर्माणको क्रममा उठेका सबै विषयमा केबलकार खारेजको माग बाहेक अन्य सबै जायज मागहरूलाई सकारात्मक रूपमा लिएको जानकारी गराउँदछौं।”

पाथीभरा देवी दर्शन केवलकार निर्माण परियोजनाले आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धन गर्दै स्थानीय समुदायको सामाजिक, आर्थिक तथा सांस्कृतिक विकासमा टेवा पुर्‍याउने कम्पनीको अपेक्षा छ। कम्पनीका सञ्चालक पौडेलले विज्ञप्तिमा भनेका छन्, “परियोजनाले धार्मिक पर्यटन प्रवर्द्धन गर्ने, स्थानीय जनजीवनमा प्रत्यक्ष रोजगारी सिर्जना गर्ने र समग्रमा देशको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरेका छौं।”